विराटनगर । सम्झौता गरेको दुई वर्षमा निमार्ण कार्य सकिने गरि विराटनगर भित्रने तथा बाहिरिने वैकल्पिक सडकको रुपमा रहेको विराटचौक–घिनाघाट फोरलेनको सडक बनाउने काम सुरु भएको छ ।
१ नम्बर प्रदेश सरकारको प्रमुख महत्वको रुपमा हेरिएको यो सडकलाई दुई वर्षमा निमार्ण कार्य सकिने गरि फोरलेनको सडक बनाउने काम सुरु भएको हो ।
यो सडककोे शिलान्यास प्रदेशका मुख्यमन्त्री शेरधन राईले सोमबार मोरङको नेताचौकमा एक कार्यक्रमकोबीच गरे । २२.५ किलोमिटर लम्बाइ रहेको विराटनगर प्रवेश गर्ने यो सडकलाई कोशी राजमार्गको विकल्पको रुपमा हेरिएको छ ।
विराटचौक–घिनाघाट सडक प्रदेश सरकारको १ अर्ब ४० करोडको लगानी बन्न लागेको हो । २२ दशमलव ५ किलोमिटर सडकलाई ३ वटा प्याकेजमा विभाजन गरिएको छ । जसमध्ये २ वटा १०–१० किलोमिटरको सडक ठेक्कामा लागेको भएपनि बाँकी रहेको २ दशमलव ५ किलोमिटर सडकको भने ठेक्का लगाउने प्रक्रियामा रहेको मोरङको पूर्वाधार विकास कार्यालयका प्रमुख सुशील श्रेष्ठले जानकारी दिए । दुईवटा प्याकेजको ठेक्का भने गत असार ३१ गते सम्झौता भएको हो । सम्झौता अनुसार आगामि २०७७ साल असार मसान्तसम्ममा सडक निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।
सडक निर्माणको काम भने असोज १ गतेदेखि सुरु हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । वस्तीभएको क्षेत्रमा ६४ मिटर र वस्ती नभएको क्षेत्रमा ५६ मिटर हुने गरी सडकको डिजाइन गरिएको छ भने सेन्टर पोइन्टबाट ३५/३५ फिट कालोपत्रे हुने र दुवै छेउमा १०/१० फिट टाढा छोडेर मात्रै निजी घर निर्माण गर्न पूर्वाधार विकास कार्यालय मोरङले अनुरोध पनि गरेको छ । दुवै प्याकेजको ठेक्का श्रेष्ठ रमण एपेक्स जेभिले लिएको हो ।