विराटनगर/ १ नम्बर प्रदेशको नामाकरण गर्न नसक्दै प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि अन्त्य भएको छ । यो अधिवेशनबाट पनि प्रदेशसभाको मुख्य कामको रूपमा रहेको प्रदेशको नामाकरण गर्न नसकेको हो ।
प्रदेशको नामाकरणको विषयले प्रदेशसभामा प्रवेश नै पाएन । जसका कारण प्रदेशसभाको एउटा महत्वपूर्ण जिम्मेवारी अझै थाती रहेको छ ।
यस्तै प्रदेशको राजधानीसमेत टुङ्गो लागिसकेको अवस्थामा चौथो अधिवेशन अन्त्य हुँदासम्म प्रदेशसभाको भवन र भौतिक संरचना निर्माण अझै शुरुवात भएको छैन ।
१ नम्बर प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन सकिँदासम्म ५ वटा विधेयक संशोधनसहित ४३ वटा पूर्ण विधेयक पारित भएका छन् । २०७६ जेठ १३ गते शुरु भएको चौथो अधिवेशनमा प्रदेशसभाको ५३ वटा बैठकबाट १४ वटा विधेयक पारित भएका छन् । तेस्रो अधिवेशनमा दर्ता भएका ४ वटा विधेयकसहित ८ वटा विधेयक समितिमार्फत् र अन्य सभामार्फत् नै पारित गरिएको अधिवेशन अन्त्यका क्रममा सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।
प्रदेशसभामा बोल्दै सभामुख भण्डारीले प्रदेशसभाले आफ्नो जिम्मेवारी समयमै सम्पन्न गर्न सकेको दाबी गरे । सभामुख भण्डारीले प्रदेशसभाको सुविधासम्पन्न भवन निर्माणका लागि प्रदेशसरकारले जग्गा उपलब्ध गराइदिने विश्वास व्यक्त गरे ।
यता, प्रदेशसभाको अधिवेशन अन्त्य हुनुपूर्व सभालाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलले भने सहमतिको संस्कृतिलाई सत्तापक्षले उल्टाउन खाजेको बताएको छ । सभामा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक जबर्जस्ती सत्तापक्षले पारित गराएर मुठभेडमा लैजान खोजेको बताए । उक्त विधेयक पारित गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले असहमति राख्दै रोष्टम घेराउ र नाराबाजी गरेको थियो । नाराबाजीकै बीचमा विधेयक पारित भएको थियो ।
सरकार तथा सत्तारुढ दलको तर्फबाट सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले एक–दुईवटा कमी कमजोरीकै कारण सहमति नभाँडिने बताए ।
सभामा बोल्दै प्रतिपक्षी दलका नेताहरू जयराम यादव, इन्दिरा राईलगायतले मुख्यमन्त्रीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । उनीहरूले सरकारले बजेट कार्यान्वयनको क्यालेण्डर तय गरेअनुसार नै हुने आशा व्यक्त गरे ।
सभामा बोल्दै सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्चकी संसदीय दलको नेता विष्णुमाया तुम्बाहाम्फेले सरकार एकलौटी ढङ्गले अगाडि बढ्न खाजेको आरोप लगाइन् । प्रदेशसभाको चौथो अधिवेशनको ५१ र ५२ औं बैठकमा काङ्ग्रेसका सांसद्हरूले रोष्टम घेर्ने र त्यहीबीचमा विधेयक पारित गरेको घटनाबाहेक प्रदेशसभा सहमतिका साथ नै चलेको सभामुखको दाबी छ ।