नेपालमा जत्तिवटा कोरोनाको केस देखिएको छ । एउटा केस बाहेक सबै कि त भारत ट्रान्जिट हुँदै नेपाल आएका या त सोझै भारतका विभिन्न शहरबाट आएका नेपालीहरु हुन् । पछिल्लो पटक दुबईबाट भारतहुँदै नेपालको कैलाली आएका संक्रमित व्यक्तिबाट उनकै ३४ वर्षीया आफन्तमा कोभिड १९ सरेपछि नेपाल कोरोना भाइरसको केसमा दोस्रो चरणमा प्रवेश गरेको र अरु संकट पो थपिने हो कि भन्ने त्रास एकातर्फ उत्पन्न भएको छ भने अर्को तर्फ सरकारले झन कडाइका उपायहरु पनि अवलम्बन गरेको छ ।

लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्कोमा , एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा प्रवेश निषेधको निर्णय शनिबार बसेको मन्त्रीपरिषदको बैठकले गरेको छ ।
कोरोना भाइरसको दोस्रो चरण प्रवेशले चिन्ता थपिएको छ तापनि यो भाइरस विरुद्धको कुनै ओखति अहिलेसम्म नभइसकेकोले लकडाउन, आइसोलेसन र क्वारेण्टाइन भन्दा उत्तम विकल्प केही नै छैन । यो भन्दा अगाडि विदेशबाट आएका बाहेक नेपालका स्थानीय कसैमा पनि संक्रमण देखिएको थिएन ।

जब स्थानीयमा संक्रमण भएसँगै नेपालमा कोरोना भाइरस केस दोस्रो चरणमा प्रवेश गरेको छ । तेस्रो र चौथो चरणमा पनि प्रवेश गर्यो भनेचाहिं यो भन्दा भयावह अवस्था अर्थात नियन्त्रण भन्दा बाहिर जान सक्ने कुरा नेपाली स्वास्थ्य विज्ञ , स्थास्थ्य अधिकारीहरुले बताएका छन् । स्थानीय व्यक्तिबाट समुदायमा सर्नुलाई तेस्रो चरण र समुदायबाट महामारीको रुपमा मुलुकैभरि फैलिनुलाई चौथो चरण भनिएको ती विज्ञहरु बताउँछन् जुन नियन्त्रण भन्दा बाहिर जान्छ । कैलालीमा ३ जना संक्रमित देखिएसँगै सुदुरपश्चिममा कोरोनाको त्रास र जोखिम झनै बढेको छ । कैलालीमा देखिएका ३ जना नयाँ संक्रमित मध्य २ जना भारतबाट आएका र एकजना माथि भनिए झैं दुबईबाट भारत हुँदै नेपाल आएका हुन् ।

गत चैत्र ११ गते सुदुरपश्चिमको गौरीफण्टा नाकामा रोकिएर बसेका एक हजार भन्दा बढी नेपालीहरुलाई २८ घण्टासम्म रोकेर राखिएका मध्यकै एक संक्रमित फेला परेका थिए । २८ घण्टापछि सरकारले बसको व्यवस्था गरी सबैलाई आफनो गन्तब्यमा पु¥याएको थियो । अब गन्तब्यमा पुर्याएका मानिसहरु कसकसमा ती ब्यक्तिबाट सरेको होला भन्ने कुराको खोजीमा सरकार लागेको त छ । तर तथ्य बाहिर आउँदा ढिलो भइसकेको हुनसक्छ ।

भारतलाई टाउको दुखाईको विषयमा भनेको तबलिघी जमात हो, जसले दिल्ली सरकारको आदेशको बर्खिलाप हुने गरी गत मार्च महिनामा निजामुद्दिन मर्कजमा धार्मिक कार्यक्रमको आयोजना गरेको थियो । त्यहाँ भेला भएका विभिन्न १७ प्रान्तका १०२३ मा कोभिड १९ पोजिटिभ देखिएको थियो र यो कूल संक्रमणको ३० प्रतिशत थियो । अब ती १०२३ बाट कहाँ कहाँ फैलियो भन्ने कुराको लेखाजोखा गर्न भारत सरकार लागिरहेको छ ।

भारतलाई टाउको दुखाईको अर्को विषय भनेको महाराष्ट्र जहाँ गत मार्च ९ मा दुबईबाट पुनेमा आएका दम्पति दुबैमा कोरोना पोजिटिभ देखिएको थियो । उनीहरुसँगको सम्पर्कमा आएका अरु तीनजनामा भोलिपल्टै कोरोना पोजिटिभ देखिएको थियो । यसरी एकपछि अर्को हुँदै महाराष्ट्रमा अहिलेसम्म मात्रै ४९० मा संक्रमण देखिएको मध्य २४ को मृत्यु भइसकेको छ । पूरा भारतमा ३५८८ मा संक्रमण देखिएकोमा ९९ जनाको मृत्यु भइसकेको छ ।

भारतलाई टाउको दुखाईको विषय बनी रहँदा नेपाललाई पनि टाउको दुखाईको विषय भनेको गौरीफण्टा नाका नै जहाँ एकहजार भन्दा बढी व्यक्ति २८ घण्टासम्म रोकिएका थिए र रोकिएका मध्य कैलालीका एकको संक्रमित पुष्टि भइसकेको छ र उनीबाट कतिजनालाई सर्यो होला र कहाँ कहाँको ब्यक्तिलाई सर्यो होला भनेर नेपाल सरकारले द्रुत गतिमा खोजी गरिरहेको छ तथापी सरकारको कमजोरी यहाँनेर के हो भने २८ घण्टा पछि नै ती ब्यक्तिहरुलाई पोजिटिभ र नेगेटिभिको परिणाम नआइकन घर घर पुर्याउनु हो । अहिले इटालीमा जसरी कोरोनाका कारण मृत्यु भएकालाई आफन्तले दाहसंस्कार गर्न पाउदैनन् , त्यस्तो अवस्था नेपालमा नआओस् । नेपालको सीमा नाकाहरुमा सरकारले प्रवेश कडाई गरे पनि गौरीफण्टा नाकाबाहेक अन्य नाकाहरुबाट भित्रिएका हजारौं हजार नेपालीहरुको अवस्था के छ भन्ने कुराको नालीबेली खोज्नुपर्छ ।

नेपालसँग सीमा नाका जोडिएका भारतका प्रान्तहरु मात्रैमा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको छ । उत्तरप्रदेशमा १७४ संक्रमित मध्य २ को मृत्यु भइसकेको छ भने पश्चिम बंगालमा ६९ संक्रमित मध्य ३ को मृत्यु भइसकेको छ र विहारमा ३० मध्य १ को मृत्यु भएको छ । सरकार सीमामा कडाई गरेपनि चोरबाटोबाट आउनेलाई निगरानीमा राख्ने र पक्रेर तुरुन्त सिमाना मै वा उपयुक्त ठाउँमा क्वारेण्टाइनको व्यवस्था गरेर जोखिमको न्यूनिकरण गर्नुपर्छ ।

प्रदेश १ को सरकारले जसरी मोरङ्गको टाँडीमा जसरी ३८९९ क्वारेण्टाइनको र ३९९ संख्यामा आइसोलेसनको व्यवस्था गरेको छ त्यसरी नै अरु प्रदेशले आफ्नै वेभसाइटमा डाटाहरु राखेको देखिएन । (हेर्नुहोस कोभिड १९ सम्बन्धित प्रदेश नम्बर १ को हिजोसम्मको तथ्यांक ( https://ocmcm.p1.gov.np/1088) सर्वसाधारणले समेत सजिलैसँग हेर्न सक्ने गरी डाटा राख्ने व्यवस्था अन्य प्रदेशले पनि गर्नु पर्ने देखिन्छ ।

लकडाउनका कारण दिनदिनै सिर्जना हुने अभावको पनि न्यूनीकरणका उपायहरु अहिलेदेखि नै अवलम्बन गर्न सरकार चनाखो हुनुपर्छ । र सर्वसाधारणले पनि लकडाउनमा घरभित्र बसेर खानेकुराहरुको मितव्ययिता र संयमता अपनाउनु पर्ने हुन्छ । विश्वव्यापी महामारी कोरोना भाइरस विरुद्धको लडाईं सबैले हातेमाले गर्नु जरुरी छ, एक भएर लड्न जरुरी छ । यही बेला हो भनेर राजनीतिक या कुनै पनि किसिमको किचलोलाई स्वस्थ्य र स्वच्छपूर्व हलगर्ने वातावरण बनाउनु पर्छ । अमेरिकामा मात्रै ५०० नेपालीहरु संक्रमित भइसकेको खबर आइसकेको छ , अन्य मुलुकहरुमा रहेका नेपालीहरुका विषयमा समेत सरकारले चासो र चिन्ता राखेकै होला ।

अष्ट्रेलियाका विद्यार्थीहरुलाई त त्यहाँका प्रधानमन्त्री स्कट मरिसनले आफ्नो तरिकाले अरु ६ महिनासम्म बस्न सक्दैनौ भने आफनो स्वेदेश फर्के हुन्छ भनी सके । यस्तो अवस्थामा उनीहरुको आशाको केन्द्र विन्दू नेपाल सरकार र एनआरएनहरुको भूमिका हुनसक्छ । ती लगायत अन्य मुलुकमा आइसोलेसनमा रहेका र बेरोजगार भएकाहरुको अवस्थालाई सामान्यीकरण गर्न नेपाल सरकारले त्यहा“का सरकारसग पहल गरेकै होला , पहल गरेकै भएपनि अपुग होला । अपुग भए के गर्न सकिन्छ , गर्न सकिने कुरा नेपाल सरकारले गरोस् । जे होस् सबैले सबैतिरबाट सकारात्मक भूमिकाको अपरिहार्यता कोरोना विरुद्धको लडाईको आवश्यकता हो ।