भद्रपुर / पछिल्लो समय लकडाउन खुलेसँगै सिमावर्ती क्षेत्रमा अवैध धन्दा मौलाएको छ । दुवैतर्फका प्रहरीले नियन्त्रण प्रयास गरेको दाबी गरे पनि रातारात प्रहरीकै मिलेमतोमा सुर्तीजन्य पदार्थ, युरिया मल, भित्रिरहेको छ भने सुपारी, चुरोट, ओखर भारत तर्फ गइरहेको सिमावर्ती स्थानीयले गुनासो गरेका छन् ।
यसरी अवैधरुपमा भित्रिएका रञ्जनीगन्धा, राजनिवास, गुट्खा, तयारी खैनी, सुर्ती झापाका बजारमा छ्यापछ्याप्ती पाइन्न थालेपछि सूचनाको आधारमा झापाको बिर्तामोड–३ बिर्ताबजारस्थित अञ्जु किराना पसलको गोदाममा प्रहरीले छापा मारेको छ । बिना राजश्वको स्टिकर र भारतबाट भन्सार छली गरी अवैधरुपमा सुर्तीजन्य सामान बिक्री वितरण गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीले गोदाममा छापा मारेको थियो ।
राजस्वको स्टिकर नभएको राधाकृष्ण प्रोडक्स विराटनगरको उत्पादन झुमका सुपरपावर एक बोरा र अवैधरुपमा भारतबाट भित्राएर राखिएको बादशाह खैनी ६ बोरा, बाबा खैनी ६ बोरा बरामद गरेको छ ।
एक लाख बढी मूल्य बराबरको बरामद सुर्तीजन्य पदार्थ आवश्यक कानुनी प्रक्रियाका लागि आन्तरिक राजस्व कार्यालय भद्रपुरमा बुझाइएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।