ब्लाष्टखबर । माओवादी युद्धकाे समयमा अपहरण गरी हत्या गरिएका अर्जुन लामाको हत्याकाे प्रमुख दाेषी भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेकाे मुद्धाकाे संवैधानिक इजलासमा सुनुवाइ हुने भएकाे छ ।
१६ वैशाख २०६२ अपहरणमा परेका लामा आफैलाई खाल्डाे खन्न लगाएर जिउँदै पुरेकाे भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिन् । उक्त समय प्रहरीले जाहेरी दिन नमानेपछि अदालत पुगेकी पूर्णिमायाले सर्वोच्चमा रिट हालेपछि जाहेरी दर्ता भएकाे थियाे ।
त्यसपछि बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गरेपछी पुन: पूर्णिमाया सर्वाेच्च अदालत पुगेकी थिइन् ।
सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएपछि मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेकाे छ ।
मुद्दा विचाराधीन रहेकै अवस्थामा सापकोटा सञ्चारमन्त्री बनेपछि २०६८ साल जेठ १३ गते गम्भीर कसुरको आरोपलागेका व्यक्तिहरुलाई सार्वजनिक पदमा नियुक्त गर्न नहुने भन्दै शुशिल प्याकुरेल, कपिल श्रेष्ठ, कणकमणि दीक्षित, चरण प्रसाईं लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।
मुद्दामा पदमा भएकालाई समेत पदबाट निलम्बित गरेर मात्र अनुसन्धानअघि बढाउनु पर्ने माग गरिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, तथा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडा रहेका छन् ।