दोस्रो लहरको कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएपछि यसको रोकथाम र नियन्त्रणमा सीमा नका बन्द गरिएको समयमा पनि भारतदेखि अवैध रकम लिएर नेपाल प्रवेश गर्ने दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) रानी र बिओपी दरैयाको टोलीले भारतदेखि अवैध रूपमा साढे ११ लाख रूपैयाँ लिएर नेपाल प्रवेश गर्ने दुई जनालाई सीमा नाकादेखि पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर– १५ हडताली हाटका १८ वर्षीय अभिषेक चौधरी र विराटनगर–१६ का अमद यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।
सशस्त्र प्रहरीले चौधरीको साथदेखि विराटनगर १६ दरैया बस्तीको सानो सीमा स्तम्भ १८०–१ बाट ६ लाख ५० हजार रुपैयाँ र यादवको साथदेखि ५ लाख रुपैयाँ अवैध रकम बरामद गरेको हो ।

पक्राउ परेका दुवै जना भरिया हुन् । उनीहरूले भारतदेखि नेपाल ल्याएर गन्तव्यसम्म पु¥याउँदा १ हजार पाँच सय रूपैयाँ प्रतिव्यक्ति पाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
सशस्त्र प्रहरीले बरामद गरेको रकम हुण्डी कारोबारी हुनसक्ने आशंका गरेको छ । ‘सीमा बन्द गरिएको समयमा पेसेवर भरिया प्रयोग गरी भारतदेखि नेपाल अवैध रूपमा स्रोत नखुलेको पैसा भित्र्याइएको छ । यो दोहोरो नागरिकता धारी हुण्डी कारोबारीले पठाएको हुनसक्ने भएकाले त्यहीअनुसार अनुसन्धान गरिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।
प्रहरीले एउटै समयमा फरक–फरक ठाउँमा रकम र भरिया पक्राउ गरे पनि एकै व्यक्तिले पठाएको हुण्डीको रकम हुनसक्ने आशङ्का गरिएको छ । चौधरीलाई पक्राउ गरेको ३ सय मिटर दक्षिणमा सीमानाकामा रहेको सहायक १८०–२ नं. सहायक सीमा स्तम्भ नजिकदेखि सशस्त्र प्रहरीको बिओपी दरैयाको टोलीले अवैध रकम भित्र्याउने पेसेवर भरियालाई प्रयोग गरेको देखिएको छ ।
रकम बोकेर आउने दुवै जनाले खुट्टामा बाँधेर ल्याएको पाइएकाले उनीहरु एउटै समूहका पेसेवर भरिया रहेको प्रहरीले जनाएको छ । जारी आईपीएलमा सट्टेबाजबाट हुण्डिमार्फत् पठाएको रकम उनीहरुले भारतबाट भित्र्याएको आशंका गरिएको छ ।
‘स्रोत नखुलाई पाँच लाख लिएर त्यसै पनि हिंड्न मिल्दैन, एसपी पौडेलले भने, ‘सीमा नाका बन्द भएको बेला खुट्टामा बाँधेर यसरी अवैध रूपमा ल्याएको बेलामा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले टोलीले बरामद गरेको छ ।’
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय विराटनगरमा बुझाइएको छ ।