आगामी कात्तिक २६ र मंसिर ३ गते तय गरिएको प्रतिनिधिसभाको मध्यावधि निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनिक गरेको कार्यतालिकामा असार ३१ गतेदेखि निर्वाचन अवधि सुरु हुनेछ । असार ३१ मै दल दर्ताको सूचना निकाल्ने योजना आयोगको छ । आयोगले मध्यावधि निर्वाचनका लागि आगामी भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्ययोजना बनाएको छ ।
आयोगले कात्तिक २६ मा हुने पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता मिति असोज २० गते देखि २१ गतेसम्म तोकेको छ । असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर त्यही चुनाव चिह्न दिइने आयोगले जनाएको छ ।
मंसिर ३ मा हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता मिति असोज ३१ देखि कात्तिक १ गतेसम्मलाई तोकिएको छ । आयोगका अनुसार कात्तिक १ गते उम्मेदवारी मनोनयन पत्र दर्ता भएको सूची निकालिनेछ । कात्तिक ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर त्यही दिन उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरिनेछ ।
विपक्षी दलहरूले प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ जारी रहेका बेला आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो ।
सर्वोच्चमा पक्ष विपक्षका वकिलले बहस सकेपछि एमिकस क्युरीले सोमबार सुझाव दिइरहेका छन् । सर्वोच्चले जेठ ८ मा भएको प्रतिनिधिसभा विघटनबारे एमिकस क्युरीको सुझाव सुनिसकेपछि फैसला दिनेछ ।