विजयपुर (ब्लाष्ट) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेशको नाम ‘कोसी’ वा ‘सगरमाथा’ राख्न सुझाव दिएका छन् ।

उनले भने, ‘१ नं. प्रदेशमा सबै जातजाति र समुदाय बस्ने भएकाले जातीय आधारमा उपयुक्त हुँदैन ।’ किरात जात मात्रै होइन, पहिचान हो नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा कुनै जातिको वा सभ्यता झल्कने गरी नामकरण गर्न नहुने प्रतिक्रिया दिए । उनले भने, ‘हिन्दु पनि सभ्यता हो । नेपाललाई नै हिन्दुराज्य घोषणा गर्न भनिरहे पनि स्वीकार गरिएन ।’

त्यसैले सबै जातिले स्वीकार्न सक्ने नामकरण गर्नुपर्छ ।’ सबै जातजातिलाई सम्मान गर्ने भाषा र संस्कृतिको सम्मान गर्ने तर, मुलुकमा जातीय द्वन्द्व हुन नदिने उनले बताए । अध्यक्ष नेपालले आफूलाई प्रदेशको नाममा सगरमाथा जोड्न पनि आग्रह गरेको बताए । उनले भने, ‘कोसी वा सगरमाथामध्ये एक राख्दा उपयुक्त हुन्छ ।’ 

उनले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले केही दिनअघि १ नं. प्रदेशको नामकरणका विषयमा दिएको प्रतिक्रियामा पनि सहमति जनाएका छन् । ओलीले प्रदेशको नाम ‘कोसी’ राख्न सुझाएका थिए ।

उनले भने, ‘प्रदेशका नामका विषयमा केपी ओलीको मति ठीकै भएजस्तो लाग्यो । उहाँले प्रदेशको नाम कोसी राख्नु भएको छ । कोसीवासीहरूको शान बढाउन खोज्नुभएको छ ।’ अध्यक्ष नेपालले एक फरक सन्दर्भमा गठबन्धन गरेर नै स्थानीय निर्वाचनमा जाने बताए । उनले भने, ‘तालमेल गरेर नै निर्वाचनमा जाने हो ।’ 

यस्तो भन्दैमा आफ्नो पार्टी कमजोर नभएको बताए । उनले आफ्नो पार्टी भर्खरै स्थापना भए पनि कुशल सङ्गठक र नेतृत्व भएकाले देशभर साङ्गठनिक संरचना निर्माण भएको बताए । उनले भने, ‘७७ जिल्लामध्ये ७६ मा समिति छ । ७ सय ५३ स्थानीय तहमध्ये प्रायःमा समिति छ ।’ 

उनले आफ्नो पार्टीले नेपालको राजनीतिमा तरङ्ग ल्याउने र दिशा निर्देशसमेत गर्ने बताए । उनले देश, जनता, समाज, कम्युनिष्ट आन्दोलन र संविधान रक्षाका लागि पार्टी निर्माण गर्नुपरेको बताए ।

उनले ओलीलाई इङ्गित गर्दै प्रतिगमनलाई परास्त गर्न सफल भएको बताए । उनले भने, ‘राष्ट्रियसभाको निर्वाचनमा धुलै चटायौँ ।’ उनले आफ्नो पार्टीलाई समाप्त गर्नका लागि ठूलै षड्यन्त्र भएको बताए । उनले भने, ‘वैधानिक सांसद्हरूलाई कारबाहीको कोशिस गरियो ।’ 

तर, राजा महाराजाहरूलाई फालेर समाप्त पारेकाले आफ्नो पार्टीलाई कसैले समाप्त गर्न नसक्ने प्रतिक्रिया दिए । उनले एमसीसीका विषयमा बोल्दै आईपीएसको सदस्य हुनबाट बचाएको प्रतिक्रिया दिए ।

उनले ओलीले आईपीएसको सदस्य राष्ट्र बनाउन खोजेको दाबी गरे । ओलीको एमसीसी जस्तातस्तै पास गर्ने प्रयासलाई विफल बनाएको बताए । उनले व्याख्यात्मक टिप्पणी कानूनी रूपमा लिइएको बताए । उनले कानूनमा पनि सन्धि, सम्झौतामा व्याख्यात्मक टिप्पणीको व्यवस्था भएको दाबी गरे ।