बिर्तामोड । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ ।
सोमबार सम्पन्न फाइनलमा घरेलु टोली झापा–११ लाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । जितसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापाले नगद ६ लाख पाँच हजार रुपैयाँमा चित्त बुझायो ।
आर्मीले योसँगै चौथोपटक झापा गोल्डकपको उपाधि हात पारेको हो । झापा–११ भने पाँचपटक नै उपविजेतामा सीमित भएको छ । आर्मीलाई उपाधि दिलाउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका थिए । फाइनल खेलको म्यान अफ दी म्याच टेकबहादुर बुढाथोकी भए । उनले ९ हजार ९ सय ९९ रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ झापाका डिफेन्डर देबेन्द्र तामाङ भए । उनले यामाहा कम्पनीको एक थान मोटरसाइकल पाए । गोल्डकपको सर्वाधिक गोलकर्ता विमल घर्तीमगर हुँदै नगद २५ हजार प्राप्त गरे । उनले प्रतियोगितामा खेलेका तीन खेलमा पाँच गोल गरेका थिए ।
प्रतियोगिताको बेस्ट डिफेन्डर झापाका मनोज राई, बेस्ट मिड फिल्डर झापाकै आन्दे्रस निया, बेस्ट किपर आर्मीका विकेश कुथु र वेष्ट कोच आर्मीका नवीन न्यौपाने घोषित भए । उनीहरूले जनही २१ हजार रुपैयाँ पाए ।
फागुन २१ गतेदेखि सुरु भएको झापा गोल्डकपमा भारतका दुई टिम, घरेलु टोली झापा–११ र सातवटा ‘ए’ डिभिजन क्लबसहित दश क्लबको सहभागिता थियो । झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले झापाको सानका रुपमा रहेको झापा गोल्डकप आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
झापा गोल्डकप समापनको अवसरमा झापाका खेलाडी विशाल राई ‘ए’ लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड स्वरूप एउटा मोटरसाइकल प्रदान गरिएको थियो । झापा गोल्डकप समापन समारोहबाट राईले खेलाडी जीवनबाट सन्याससमेत लिएका थिए । लामो समय झापा–११ को सेट टिमबाट खेलेका राईले आगामी दिनमा झापाको फुटबल विकासमा योगदान दिने बताए ।