धरान । झापाको रोलिङ क्लब सुनसरीको इटहरीमा जारी बाह्रौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार इटहरी रङ्गशालामा सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई २–१ गोल अन्तरले पराजित गर्दै रोलिङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलमा रोलिङका लागि विदेशी खेलाडी फोफना फोडे र मार्टिनले एक एक गोल गरे भने एभिनियरको तर्फबाट केन्नीले एक गोल फर्काए ।

खेलमा एभिनियर क्लबले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा पराजित बन्न पुग्यो । एभिनियरको तर्फबाट खेलको २७ औं मिनेटमा केन्नीले एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

त्यसको एक मिनेट लगत्तै रोलिङ क्लबको तर्फबाट फोफनाले २८ औ मिनेटमा एक गोल गरेर खेल बराबरीमा ल्याए । त्यसपछि खेलको निर्धारित ९० मिनेटसम्म कुनै टिमबाट थप गोल हुन नसकेको अवस्थामा थपिएको अतिरिक्त २ मिनेटको समयमा मार्टिनले रोलिङ क्लबका लागि निर्णायक गोल गरे ।

सोमबारको खेलको म्यानअफ दी म्याच रोलिङ क्लबका पिटर सेगुन घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए । आज (मङ्गलबार) को अन्तिम क्वार्टरफाइनल खेल न्युरोड टिम एनआरटी र सगरमाथा फुटबल क्लब मोरङबीच हुने आयोजकले जनाएको छ ।