विराटनगर । प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता विराटनगर र राजविराज विजयी भएको छ ।
विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगर–१९ मा रहेको वैजनाथपुरको खेल मैदानमा मंगलबार भएको उदघाटन खेलमा विराटनगरले पाहुना टोली झापाको मेची नगरपालिकालाई ३६ रनले पराजित गरी विजयी भएको हो ।
टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रनको सामान्य योगफल खडा गरेको थियो । विराटनगरका लागि सर्वाधिक लव कामत ५७ रनमा अविजित रहे । उनले ५६ बलमा ४ चौका प्रहार गरे । त्यस्तै साकिव हकले १७ रन बनाउँदा मिनस थापाले १५ रन जोडे । झापाका प्रेम सिंह र विशाल आर्चायले २–२ विकेट लिँदा सुमिरन राई र विराज डाँगीले १–१ विकेट लिए ।
१ सय २३ रनको सामान्य लक्ष पाएको झापाले १७ दशमलव ४ बलमा सवै विकेट गुमाई ८६ रनमा सिमित भयो । झापाका लागि अनिल लामिछानेले ३२ रन जोड्दा अंकित सुवेदीले १६ बनाए । विराटनगरका म्यान अफ द म्याच कप्तान सिद्धान्त लोहनीले ४ विकेट लिए । उनले एक मेडन राख्दै १३ रन दिए । लोहनीबाहेक दिपेश कँडेलले ३ विकेट तथा मुकुन्द यादवले २ विकेट लिँदा रेवती यादवले १ विकेट लिए ।
दोस्रो खेलमा राजविराजले सुनसरीको इनरुवालाई ७६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २० रनको बनाएको थियोे । राजविराजका लागि रोहन विकले ३९ रन बनाउँदा निरज यादवले ३० रन र विशाल दासले २० रनको योगदान दिए । रोहनले २५ बलमा १ छक्का र ६ चौका प्रहार गरे । इनरुवाका सोनु मण्डलले ३ विकेट पलँदा भुपाल लुइटेल र गौरव कटुवालले १–१ विकेट लिए ।
१ सय २१ रनको लक्ष्य पाएको इनरुवाले ११ दशमलव ३ बलमा सबै विकेट गुमाई ५३ रनमा सिमित भयो । इनरुवाका लागि सोनु मण्डलले सर्वाधिक ९ रन बनाए । राजविराजका म्यान अफ द म्याच अनिल यादवले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ५विकेट लिँदा मेहबुव आलम र अजय यादवले २–२ विकेट लिए ।
बुधबारको पहिलो खेल विरगञ्ज र मेची र दोस्रो खेल इनरुवा र जनकपुरवीच हुनेछ । प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागि भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफि तथा उपविजेताले नगद ५१ हजार ट्रफि पाउँने छन् ।
६ टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटको अधारमा खेलाईएको छ । प्रतियोगिताको फाइनल चैत २६ गते हुनेछ ।