प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर -७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो ।
प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिउका छन् । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
छिटो उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् । गृहसचिव, शान्तिसुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित प्रशासन र सुरक्षा निकायलाई दुर्घटनास्थलमा उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको उनका प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिए ।
अहिले गृहमन्त्री लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भई घटनाबारे जानकारी लिइरहेका छन् । आज बिहान चालक दलसहित ६८ यात्रु बोकेर उडेको यति एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । अहिले उद्धार कार्य जारी छ । क्षतिको विवरण भने आउन बाँकी छ ।