सर्लाहीको चन्द्रनगर गाउँपलिका–४ पोखरियाकी रामबत्ती राय(दनुवार)ले करिब तीन बिघा जमिनमा माछापालन गरेकी छन् ।
साविकको मोहनपुर गाविस–२ हालको चन्द्रनगर गाउँपलिका–४ पोखरियाकी उनले करिब दुई बिघा आफ्नो जमिन र करिब एक बिघा ठेक्कामा लिएको जमिनमा व्यावसायिकरुपमा गरेकाे माछापालन गर्नाका साथै एक जनालाई रोजगारसमेत दिएकी छन् ।
एक मजदुरसहित आफू लागिपरेर व्यवसायलाई मधेस प्रदेशकै नमुना माछा फार्मका रुपमा विकास गर्ने योजना बनाएको रामवतीले बताइन्। चन्द्रनगर गाउँपालिका–४ को एक सामान्य परिवारमा जन्मिनुभएकी उनको ११ वर्षको उमेर हुँदा चन्द्रनगर गाउँपलिका–४ पोखरियाकै सत्यनारायण सिंहसँग विवाह भएको थियो ।
सानै उमेरमा विवाह भएपछि पढ्न नपाएकी रामवतीका श्रीमान्को विगत करिब १७ वर्ष पहिला निधन भयो । श्रीमान् नहुँदाको पीडा र उता बालबच्चाको पढाइलेखाइ गर्न, हुर्काउन र बढाउन धेरै कठिनाइ भोग्नु परेको रामवतीको गुनासो थियो ।
यसरी समस्यै समस्याको बीचमा चमेली बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीसँग भेटघाट भएपछि विसं २०६९ मा समूहमा आबद्ध भई कारोबार सुरुआत गरेकी उनले उक्त सहकारीबाट रु १० हजार ऋण लिएर माछापालन सुरु गरिन् । त्यसपछि पटक पटक गरी रु १२ लाख ७५ हजार ऋण लिएर माछापालन व्यवसायमै लगानी गरेकी रामवतीको अहिले करिब रु ४० लाख बराबरको माछा फार्म भएको छ ।
आफूले तनमन र धन लगाएर माछामा लगानी गरेको र आफ्नो पोखरीमा उत्पादन भएको माछा स्थानीय ठेकेदारका साथै व्यापारीले पोखरीमै आएर लैजाने गरेका उनको भनाइ थियो । पोखरीमा माछा राम्रो उत्पादन भएको र आफूले गरेको मेहनतका साथै लगानीले एकै याममा मजदुरको खर्च, माछाको दाना, औषधिलगायत अन्य सम्पूर्ण खर्च गर्न पुग्ने र बाँकी यामको आफ्नो कमाइ बचन हुने गरेको रामबतीले सुनाइन् ।
उनले अहिले वार्षिक करिब रु १० लाखसम्मको माछा बेचेर आम्दानी गर्ने गरेको र यसबाट सहकारीको ऋणको किस्ता तिर्नाका साथै आफ्नो घरव्यवहार राम्रोसँग चलाउँदै आएकी छन् ।
माछापालनाको कमाइबाटै जेठो छोरोलाई पिएचडी, कान्छो छोरो बिए र छोरीलाई प्लस टुसम्मको अध्ययन गराउनुनाका साथै छोरीको विवाहसमेत गरिसकेकी रामवतीको अनुहारमा अहिले खुसी छाएको छ ।
यसैगरी चन्द्रनगर गाउँपालिका–५ मोहनपुरकी सुनिताकुमारीले पनि सोही सहकारी संस्थाबाट रु २० हजार ऋण लिएर शितल पाउरोटी बिस्कुट उद्योग सञ्चालन गरेकी छन् । आफूले सहकारीबाट ऋण लिएर सुरु गरेको पाउरोटी उद्योगबाट अहिले मासिक रु तीन लाख ५० हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ थियो । सामान्य परिवारकी सुनिताले पाउरोटी उद्योगबाट भएको आम्दानीले अहिले गाउँमै घडेरी किन्नाका साथै पाँच मजदुरलाई रोजगारी पनि दिएकी छन्।
सहकारीबाट लिएको ऋण सही ठाउँमा लगानी गर्दा विपन्न मजदुर परिवारबाट क्रमशः न्यून र मध्यमवर्गीय व्यवसायीका रुपमा अगाडि आउन सकिने रहेछ भन्ने लागेको उनले बताइन् ।
त्यस्तै ईश्वरपुर नगरपालिका–५ नरेशखोरमा करिब एक बिघा जमिन भाडामा लिएर सिल्टीदेवी महतोले तरकारी खेती गरेकी छन् । आफ्नो तरकारी खेतीका पाँच जनालाई रोजगारी दिएको उनले बताइन् । मजदुरसँगै आफू र आफ्ना श्रीमान् विन्देवर महतोले पनि सघाउँदै आएका छन् । सुरुमा सोही सहकारीबाट रु ३० हजार ऋण लिएर तरकारी खेती सुरु गरेकी सिल्ट देवीले अहिले गाउँमा एक कट्ठा घरेडी जोडिसकेकी छन् । आफ्नो खेतबारीमा उत्पादन भएको तरकारी अहिले जिल्लाको ईश्वरपुर, लालबन्दी, नवलपुर र हरिवन बजारसम्म जाने गरेको र यसबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्ने गरेको उनको भनाइ थियो
मधेसमा महिलालाई प्रायः घर बाहिरको काम गर्न नदिने प्रचलन रहे पनि त्यो पुरातनवादी परम्परालाई चिर्दै सहकारीबाट ऋण लिएर उनिहरु सफल महिला व्यवसायी बनेका हुन् ।