देउराली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनतामा लोकप्रियता बटुल्दै गएपछि आफ्नो पार्टीविरुद्ध अन्य दलले घेराबन्दी गरिरहेको आरोप लगाएका छन् ।
उनले रास्वपा प्रति जनलहर बढ्दै गएपछि आम मानिसमा २०८४ को चुनावमा अहिलेको भन्दा सहज र अझ बढी सिट जित्न सक्ने भन्ने विश्वास रहे पनि परिस्थिति सहज भने नहुने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले आगामी चुनावमा विजयी हासिल गर्ने पक्का पक्की भएपछि अन्य दलले घेराबन्दी गरिरहेको भन्दै उनले भने,‘तपाईँहरूलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ। हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दै छन् । सातो जाने खालको छ तर हामी डराउँदैनौ। २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आम जनताले घरघरमा महसुस गरिसकेका छन्।’
उनले आम जनताको चाहना अनुरूपको परिवर्तनको लय लिएको भन्दै जनताको विकास र परिवर्तनको चाहको भाका टिपेर पार्टी निर्माण गरेको बताए।
उनले भने,‘यो एक वर्षको यात्रालाई हेर्छु नेपाली जनताले घरघरबाट जुन परिवर्तनको आशा गरिरहेका थिए त्यो आशालाई प्रतिनिधित्व गर्ने दलका रूपमा जनताले सोचेको रूपमा जनताको भाका टिपेर हामीले सुरुवात गरेको जस्तो लाग्छ ।’