सशस्त्र युद्धमा नाबालकलाई प्रयोग गरी युद्ध अपराध गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता डा. बाबुराम भट्टराई विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
माओवादीले तत्कालीन समयमा अबोध नाबालकलाई बाल सेनाको रूपमा प्रयोग गरी पछि अयोग्य लडाकु भन्दै जबरजस्ती शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै सशस्त्र युद्धका बाल सेना लेनिन विष्टले अदालतमा रिट दिएका हुन् ।
यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले सङ्क्रमणकालीन न्याय अनुरूप निरूपण हुने भन्दै रिट दरपिठ गरिदिएकोमा दरपिठविरुद्धको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले गत शुक्रवार रिट दर्ता गर्न आदेश दिएको हो ।
जेठ ३० सुनुवाइको मिति तोकिएको रिटमा दाहाल र भट्टराईलाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ । यस क्रममा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत उनको माग छ ।