सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवाको सुरुवात गरिएको छ । 

परीक्षणका रूपमा गण्डकी प्रदेशको पोखराबाट सुरु भएको अनलाइन राजस्व भुक्तानी सेवा एक महिनाभित्र देशका सातवटै प्रदेश राजधानीबाट सुरु हुने बताइएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जालीले आज संयुक्तरूपमा सेवा शुभारम्भ गरेका हुन् ।  

सो अवसरमा मन्त्री ज्वालाले प्रविधिको सदुपयोग गर्दै सरकारी सेवा प्रवाहका क्रममा देखिने गरेको भीड तथा लाइन र विचौलियामुक्त बनाई सुशासन प्रवर्धन गर्ने उद्देश्यका साथ अनलाइन सेवा प्रणाली सुरु गरिएको बताए । 

अबदेखि सवारी चालक अनुमतिपत्र लिने, वर्ग थप्ने र नवीकरण गर्नेक्रममा आमजनताले झेल्दै आएको सास्ती व्यहोर्न नपर्ने मन्त्री ज्वालाले बताए । 

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले हाल दैनिक छ–सात हजार सेवाग्राहीले सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने गरेकोमा सोअनुसारको सेवा दिने क्षमता नभएको अवस्थामा विद्युतीय सेवा प्रणाली सञ्चालन गरी सेवाग्राहीलाई राहत दिन लागेको स्पष्ट पारे । 

सेवा सञ्चानल भएपछि चिकित्सकीय सेवासहित बायोमेट्रिक परीक्षण, लिखित र प्रयोगात्मक परीक्षामा सहभागी हुनबाहेक राजस्व भुक्तानीलगायत सबै काम अनलाइनबाट गर्न सकिने विभागले स्पष्ट गरेको छ । नेपालमा ३३ लाख ६० हजार जनाले चालक अनुमतिपत्र लिएको तथ्यांक प्रस्तुत गरिएको छ ।