राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ । साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको भुक्तानी दिन पनि सञ्जालले माग गरेको छ ।

सञ्जालले आज पत्रकार सममेलन गरी उक्त माग पूरा नभए किसानले चक्काजामलगायतका विरोधका कार्यक्रम गर्ने जनाएको छ । सञ्जालका संयोजक एवं नेपाली कांग्रेस निकट नेपाल किसान महासंघका सभापति गणेशचन्द्र तिमिल्सिनाले लम्की स्किनका कारण देशभरका किसान मारमा परेको बताए । 

नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघका अध्यक्ष डा प्रेम दंगालले हालसम्म उक्त रोगका कारण ५० हजार पशु मरिसकेका र करिब  ४० अर्बको क्षति भइसकेको जनाउँदै नियन्त्रण नभएमा एक खर्बसम्म क्षति हुनसक्ने बताए । 

सञ्जालले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका ‘स्टल’लाई प्रक्रियाबमोजिम प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउन पनि माग गरेको छ । 

सञ्जालले हरेक दिन समितिको परिसरमा धर्ना दिँदै आएको छ । सञ्जालले गत असार २४ गते कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाललाई भेटेरे ती विषयमा ध्यानाकर्षण गराएको थियो ।

यस्तै सञ्जालले किसानलाई आवश्यकपर्ने रासायनिक मलको सहज प्रबन्ध गर्न, कृषि बीमाबापतको रकम निकासामा भएको ढिलाइको छानबिन गर्नुपर्नेलगायत माग अघि सारेको छ ।

सञ्जालमा विभिन्न नौ किसान संगठन आबद्ध छन् ।