सभामुखको समर्थनसहित मुख्यमन्त्री भएका कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नियुक्ति बदर गर्दै पुनः बहुमतको सरकार आह्वान गर्न सर्वोच्च अदालतले कोशी प्रदेश प्रमुखलाई परमादेश जारी गरेको छ। परमादेशमा साउन १७ सम्म सरकार गठनको म्याद दिइएको छ ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अर्को सरकार गठन गर्ने विकल्प रहेसम्म सो विकल्प अपनाउनु वाञ्छनीय देखिएको, उक्त धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्न मिल्ने नै अवस्था रहेको, र जुन बिन्दूबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तबरले प्रकृया अगाडि बढाउनु मनासिव हुने देखिएको हुँदा आजका मितिले सात दिनभित्र (२०८०–४–१७ गतेभित्र) नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भनी प्रत्यर्थी कोशी प्रदेशका प्रदेश प्रमुख समेतको नाममा परमादेश जारी हुने ठहर्छ ।’ - मुद्दाको संक्षिप्त आदेशको प्रकरण १२ क मा भनिएको छ ।

सर्वोच्चले पुनः नेपालको संविधानको धारा १६८ (२) अनुसार नै एक साताभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई परमादेश जारी गरेको हो । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अर्को सरकार गठन गर्ने विकल्प रहेसम्म त्यस्तो विकल्प अपनाउनु वाञ्छनीय हुने सर्वोच्चको आदेशमा उल्लेख छ । न्यायाधीशत्रय ईश्वरीप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले यस्तो आदेश दिएको हो ।