सत्ताको दुरुपयोग गरी सरकारले ज्यादतीपूर्ण व्यवहार गरिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।
नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले दिनदहाडै खुँडा हानेर मान्छेको हत्या गर्ने कार्यकर्तालाई आममाफी दिने, आफ्ना अपराधी छुटाउने र प्रतिपक्षलाई दमन गरेर जेल हाल्ने काम यो सरकारले गरिरहेको उनको भनाइ थियो ।
‘सरकार अपराधी छोड्न सिफारिस गर्ने, राष्ट्रपति कांग्रेसको, त्यसमा पनि तरुण दलको सभापति नै भएपछि मान्छे काटे पनि माफी दिनुपर्छ भनेर छोड्ने अनि कांग्रेसका नेताहरु अपराधीलाई फूलमाला लगाउने काम गरिरहेका छन्, विपक्षीलाई मुद्दा लगाउने ज्यादतीपूर्ण व्यवहार सरकारले गरिरहेको छ,’ अध्यक्ष ओलीले भने ।
अधिकांश समय सरकार र सत्ता गठबन्धनलाई गाली गर्नमै खर्चिएका अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई ‘पिलो’ को उपमा पनि दिए ।
‘यो गठबन्धन नेपालका लागि पिलो हो, पीडा हो र जनताका लागि आँशु हो आँशु,’ अध्यक्ष ओलीले भने ‘अहिले शिक्षकहरु सडकमा छन्, पेशाकर्मीहरु आन्दोलनमा छन्, उद्योगीहरु सडकमा छन्, उद्योग कसरी चलाउने, ब्याज कसरी तिर्ने भनिरहेका छन् र यो बेलामा दक्षिणपन्थी अतिवादी शक्ति र हिंसा भड्काउन खोज्ने तत्वहरु फाइदा लिन खोज्दैछन् ।’ ओलीले खराब परिस्थितिबाट फाइदा लिन खोज्ने तत्व र शक्तिहरुबाट एमाले सचेत रहनु पर्ने र त्यस्ता शक्तिलाई परास्त गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिनाअर्थको विदेश भ्रमण गरेको टिप्पणी गरे । ‘प्रधानमन्त्री छुट्टी मनाउन विदेश गएजस्तो छ, दुई हप्ता लामो विदेश भ्रमण कुनै देशका प्रधानमन्त्रीले गर्दैनन्, बरु हामीजस्ता रिटायर्ड भएकाले गर्दा मिल्छ,’ उनले भने ‘भ्रमणमा गएर देश र राष्ट्रिय हितको पक्षमा बोल्न नसक्ने, सीमाको समस्या उठाउन नसक्ने भ्रमण किन गर्नुपर्यो । दक्षिण जाँदा गेरु बस्त्र लगाउने, १०८ किलो रुद्राक्ष चढाउने, उत्तर जाँदा मानसरोबरमा डुबुल्की मार्ने बाहेक भ्रमणमा केही भएको छैन ।’
अध्यक्ष ओलीले अधिवेशनबाट सकेसम्म सर्वसम्मतिबाट नेतृत्व छान्न नसके निर्वाचनबाटै चुनिन आग्रह गरेका छन् । जसरी निर्वाचित भएपनि विरोधीले आफूहरुलाई धर नदिने भन्दै उनले भने, ‘सर्वसम्मति गर्नुभयो भने विरोधीहरुले एमालेले चुनाव भन्ने कुरा कहाँ छ र भन्नेछन् अनि निर्वाचन गरेर प्रतिस्पर्धा गर्नुभयो भने एमालेमा असन्तुष्टि बढ्यो भन्ने छन्, जसरी पनि विरोधीले विरोध गर्नेछन् ।’ सर्वसहमति बनेन र निर्वाचन नै भयो भने पनि कुइँना ठोकाठोक नगर्नुहोला ।’
यस्तै नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले
एमालेलाई कमजोर बनाउन अहिले चौतर्फी घेराबन्दी भइरहेको बताउँदै उनले कोशी प्रदेशबाट एकताको सन्देश दिन पार्टीका कार्यकर्तालाई सुझाव दिए ।
उनले भने, ‘सहमतिका साथ नेतृत्व चयन हुनुुपर्छ । पार्टीलाई बचाउन त्याग गर्नुपर्छ ।’
सहमतिका साथ नेतृत्व चयन हुन नसके गुटबन्दी गर्न नपाइने उनले बताए । कोशी जातीय विविधताले भरिपूर्ण भएको प्रदेश भएकाले सोहीअनुरुप समावेशी ढंगले नेतृत्व चयन हुनुपर्ने उनले बताए ।
यस्तै उनले एमाले अब मिसन ८४ मा लागेको बताए । उनले एमाले एक्लै बहुमत ल्याएर मुलुकमा स्थायित्व बनाउन मिसन ८४ अघि सारेको बताए ।
कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशमा पहिचानका नाममा एमालेमाथि प्रहार भएको बताए ।
महासचिव पोखरेलले एमालेले पहिचानलाई अतिवादका रुपमा नभई एकताको रुप लिएर अघि बढ्न चाहेको बताए । उनले भने, 'जातीय र धार्मिकको नाममा अतिवाद लाने कुरा भइरहेको छ । यसको एमालेले विरोध गर्छ ।´ उनले सुखी नेपाली र समुद्ध नेपाल बनाउने अभियानमा कोशी प्रदेशबाट अग्रसरता लिनुपर्ने बताए ।