नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन  प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ । अब छलफलबाट आएका विषय प्रस्तुत गर्ने तयारी गरिएको छ ।

'जिल्लालाई समेटेर समूह निर्माण गरिएको छ, त्यस्तै जनसङ्गठनसमेतको समूह निर्माण गरी समूहगत छलफल सकिएको छ', प्रदेश प्रतिनिधि ईन्द्रकला राईले भनिन्, 'प्रस्तुतिको तयारी हुँदैछ ।'

शुक्रबारदेखि सुरु अधिवेशनमा आज राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल हुँदैछ । 
राजनीतिक र सांगठनिक प्रतिवेदन कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले हिजै प्रस्तुत गरेका हुन् । यस्तै आर्थिक प्रतिवेदन एमाले आर्थिक विभागका केन्द्रीय प्रमुख पुष्प कँडेलले प्रस्तुत गरेका थिए ।

प्रतिवेदनहरुमाथि आजै छलफल पछि पारित गरेर  मनोनयन दर्तामा जाने अध्यक्ष न्यौपानेले जानकारी दिए । अधिवेशनमा छानिने नेतृत्वको विषयमा   केन्द्रीय सदस्य घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धा गर्ने बताइएको छ ।

अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ ।

अधिवेशनको बन्दसत्र सन्चालनको जिम्मेवारी एमाले केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठको संयोजकत्वमा ११ सदस्यीय अध्यक्ष मण्डलले पाएको छ । अध्यक्ष मण्डलका  सदस्यहरुमा शेरधन राई, हिक्मतकुमार कार्की, अग्नि खरेल, डा. शिवमाया तुम्बाहाम्फे, राजेन्द्र गौतम, भगवती चौधरी, जगदिश कुसियैत, राम राना मगर, पर्शुराम मेघी गुरुङ र सुनिता बराल रहेका छन् ।