धरान । धरानको युएन–नवोदय कलेजले विद्यार्थीहरूबीच ट्यालेन्ट शो आयोजना गरेको छ ।
बिहीबार र शुक्रबार दुई दिनसम्म कलेज परिसरमा कलेजका कक्षा ११ का विद्यार्थीहरूले गीत, नृत्यलगायतका प्रतिभा प्रस्तुत गरेका छन् । कलेजका प्राचार्य डम्बरकुमार तुम्बापोका अनुसार विद्यार्थीहरूमा भएको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
यस्तै शुक्रबार कविता तथा वक्तृत्वकलालगायतका ट्यालेन्ट शो प्रस्तुत गरिएको थियो । पहिलो दिन गीत तथा नृत्य प्रस्तुत गरेका विद्यार्थीहरूले दोस्रो दिन कविता तथा वक्तृत्वकला प्रस्तुत गरेको प्राचार्य तुम्बापोले जानकारी दिए ।
यस्ता कार्यक्रमले विद्यार्थीहरूमा रहेको प्रतिभालाई प्रस्फुटन गर्न मद्दत गर्नुका साथै उचित प्लेटफर्म पाउने कलेजका अध्यापक रामबहादुर लिम्बूले जानकारी दिए ।
ट्यालेन्ट शोका निर्णायकहरूमा नृत्यका राष्ट्रिय कोरियोग्राफर प्रीतम साम्बाहाम्फे, सङ्गीत प्रशिक्षक विनायक राई, नृत्य प्रशिक्षक सन्तोष तामाङ, एसईई डान्सिङ स्टार सिजन १ की विजेता नुमा लिम्बू, कलेजका अध्यापकहरू नाम्लिङ्हाङ चेम्जोङ, अनिमेस बास्तोला र सिर्जना लिम्बू रहेका थिए । ट्यालेन्ट शो कार्यक्रम कलेजका अध्यक्ष ज्ञानेश्वर झाको अध्यक्षतामा भएको थियो ।