नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा मतदानको तयारी भइरहेको छ । प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यका अनुसार मतदानका लागि ५ बजेको फेरिएको कार्यतालिका सार्वजनिक भएको छ । यसअघि दिउँसो १२ बजे तोकिएको थियो । समय अभावका कारण अहिले साँझ ५ बजे तोकिएको छ ।
मतदानका लागि ३५ स्थानबाट मत हाल्ने व्यवस्था गरिएको छ । मुख्य निर्वाचन अधिकृत आचार्यले १ जनाले १५ मिनेटमा मत हालिसक्ने गरी तयारी भएको जानकारी दिए ।
एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् ।
२१५ सदस्यीय प्रदेश नेतृत्व छनोटका लागि ९९७ जना प्रतिनिधिले मतदान गर्नेछन् ।
अध्यक्षका उमेदवार ढकालको प्यानलमा सचिव शैलेश लामा र उपसचिव खेम नेपाली छन् । उपसचिवमा भविश्वर गुरुङले उमेदवारी फिर्ता लिएका छन् ।
खतिवडाको प्यानलमा राजकुमार भण्डारी सचिवको उमेदवार छन् । उपसचिवमा जलवर्षा राजवंशी र देवान राईले उमेदवारी दिएका छन् । दुवै प्यानलको समर्थन रहेका उपाध्यक्ष चेम्जोङ निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रदेशका पाँचथर, इलाम सोलुखुम्बु र धनकुटामा भुगोलतर्फका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।