विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले ‘हेल्थ रेकर्ड बुक’ ल्याएको छ ।

स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले ‘हेल्थ रेकर्ड बुक’ विराटले ल्याएको हो । हस्पिटलले मङ्गलबार पत्रकार सम्मेलन गरी समुदाय र संस्थाहरूसँग दिगो सम्बन्ध निर्माण गर्ने उद्देश्यले हेल्थ रेकर्ड बुक लिएर आएको जानकारी गराएको छ । हेल्थ रेकर्ड बुक पाँच हजारमा खरिद गरेपछि विराट नर्सिङ होमबाट स्वास्थ्य उपचार सेवा पाउनेछन् । यो हेल्थ रेकर्ड बुक हस्पिटलले अहिले विद्यालयहरूसँग सम्झौता गरेर सेवा सुरु गरेको छ ।

हेल्थ रेकर्ड बुकमा बालबालिकाहरूको स्वास्थ्यको बारेमा बहुमूल्य जानकारी समावेश गरिएको हस्पिटलका उपाध्यक्ष डा. डेनिस कार्कीले जानकारी दिए । ‘स्वास्थ्य रेकर्ड पुस्तिका सजिलै पहुँचयोग्य हुनेछ । आवश्यक स्वास्थ्य जानकारीमा सजिलो पहुँच प्रदान गर्दछ । यो विशेष गरी आपत्कालीन अवस्थामा लाभदायक हुने हामीले अपेक्षा राखेका छौँ । जहाँ स्वास्थ्य सेवा प्रदायकहरूलाई सही र अद्यावधिक स्वास्थ्य जानकारी गराउँछ’–डा. कार्कीले भने । स्वास्थ्य रेकर्ड बुक प्याकेजको अतिरिक्त, विराट नर्सिङ होमले विद्यालयलाई चिकित्सा सेवाहरू पनि प्रदान गर्ने जनाएको छ ।

हेल्थ रेकर्ड बुक लिएपछि बालरोग, दन्त, नेत्र रोग, इएनटी र छाला रोगको सेवाहरू ओपिडीमा निःशुल्क हुनेछ । यस्तै निःशुल्क एम्बुलेन्स, निदान र आइपीडी सेवाहरूमा २० प्रतिशत छुट, एक वर्षको लागि निदान सेवाहरू, सामान्य वार्ड र पी.आइ.सी.यू भर्नासहित स्वास्थ्य रेकर्ड बुक भएका बालवालिकाहरूलाई अस्पतालको अन्तरङ्ग विभागका सेवाहरूमा २० प्रतिशत छुट हुने हस्पिटलले जनाएको छ । पाँच हजार रुपैयाँ तिरेर हेल्थ रेकर्ड बुक लिएपछि प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँ नवीकरण शुल्क लाग्नेछ । हेल्थ रेकर्ड बुक लिएपछि हस्पिटलबाट पाउने स्वास्थ्य उपचारमा बालबालिकासहित अभिभावकहरूले पनि सहुलियतमा उपचार सेवा पाउनेछन् ।

स्वास्थ्य रेकर्ड पुस्तकमा नवजात शिशुदेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूको लागि बहुमूल्य जानकारी रहेको हस्पिटलका नवजात तथा बालरोग विशेषज्ञ डाक्टर दीपराज अधिकारीले जानकारी दिए । ‘स्वास्थ्यसम्बन्धी जानकारीहरू एकै ठाउँमा रेकर्ड गरिएको छ । जसले आमाबाबुलाई आफ्नो बच्चाको स्वास्थ्य स्थिति थाहा पाउन सजिलो बनाउनेछ’ डाक्टर अधिकारीले भने, ‘स्वास्थ्य रेकर्ड पुस्तकले विभिन्न उमेर समूहका बालबालिकाको आहार योजना, चेतावनी चिह्नहरू, के गर्ने र नगर्ने, सुत्ने समय, जाँच समय आदिसहित बहुमूल्य जानकारी प्रदान गर्नेछ ।’ स्वास्थ्य रेकर्ड पुस्तक अहिले विराटनगरको लिलीपुट प्रिमियर स्कुल, मोडर्न एरा र न्यू यरो किड्समा सम्झौता गरेर लागू गरिएको कार्यक्रम संयोजक कृष्ण कँडेलले जानकारी दिए । विस्तारै अन्य विद्यालयहरूमा पनि सम्झौता गरिने उनले बताए ।