धरान । धरानमा अहिले ‘केवलराम इमेहाङ’ को चर्चा अलि बढी नै सुनिन्छ । तेह्रथुमको हाक्पाराबाट धरान झरेका इमेहाङ ती व्यक्ति हुन्, जसले ‘सिलाम साक्मा’ लाई ब्याच बनाई धरान हुँदै विश्वभरि फैलाए । इमेहाङको विषयमा लेखक एवम् मुन्धुम अनुसन्धाता हितराम तिल्लिङ भन्छन्, “२०७०÷०७१ कतातिर हो, किरात याक्थुङ चुम्लुङमा हामी सदस्य थियौँ, उहाँले चुम्लुङका सदस्यहरूलाई ब्याचको रूपमा टुक्रुक टुक्रुक दिनुभयो ।” सिलाम साक्माको चर्चा मुन्धुममै भए पनि ब्याच बनाएर विश्वव्यापीकरण गर्नमा इमेहाङको भूमिका महŒवपूर्ण रहेको तिल्लिङ बताउँछन् ।
हाल धरान–१५ मा बस्दै आएका केवलरामलाई खोज्दै पुग्यौँ । एभरेष्ट लाइनभन्दा माथिल्लो लाइनमा बस्दै आएका उनको घरमा जताततै सिलाम साक्माको प्रतीक झुण्ड्याइएको थियो । गेटमा पनि सिलाम साक्मा नै बनाएका थिए भने मूल ढोकामा पनि सिलाम साक्मा देखिन्थ्यो । केवलरामकी बुहारी भारती सुब्बाले भनिन्, “बाउले नै हामीलाई पनि सिकाउनुभयो । अहिले त हामी सबैलाई सिलाम साक्मा बनाउन आउँछ ।” उनको घर २०५९ सालतिर बनेको रहेछ । यसबारे केवलरामलाई सोध्यौँ । उनले भने, “खै, घर बनाएको त मिति नै भुलेँ । तर धरानमा सिलाम साक्मा बनाएर बेच्ने मै पहिलो हो । अरू कसैले बनाएको थिएन ।”
८५ वर्षीय केवलरामले सिलाम साक्मा बनाएर बिक्री गर्दै हिँडेको वर्ष भुलिसकेका रहेछन् । उनी चुम्लुङका सदस्यहरूलाई दिएकोबारेमा चाहिँ थाहा पाउँदा रहेछन् । “धामीदेवारीबाट मैले बनाउन सुरु गरेको हो । उनीहरूबाटै सिकेँ” उनले भने, “२०७०/०७१ तिरबाट सुरुवात गरेको हो । त्यो बेलादेखि नै धरानमा सुरु भएको हो ।” उनका अनुसार केही बेचेको र केही चाहिँ सित्तैमा दिएका थिए । सिलाम साक्माको अर्थ जीवनको संरक्षण गर्ने भन्ने रहेको अनुसन्धाताहरू बताउँछन् । तिल्लिङ भन्छन्, “सिलाम साक्माको अर्थ मृत्युको बाटो छेक्ने अर्थात् जीवनको संरक्षण गर्ने भन्ने हो ।”
मुन्धुमअनुसार पृथ्वीमा जलप्रलय हुन्छ अर्थात् पानीले भरिएको हुन्छ । त्यसपश्चात् सुरुमा माकुरा बन्छ । माकुराले जाल बुन्छ । त्यो जालका कारण ठाउँठाउँमा ढुङ्गामाटो अडिन्छ । त्यसपछि रुखबिरुवा उम्रिन थाल्छन् र अन्य प्राणीको अस्तित्व सुरु हुन्छ । त्यहीँबाट नै सिलाम साक्माको अवधारणा सुरु भएको अनुसन्धाता तिल्लिङ बताउँछन् । खासमा सिलाम साक्मा काँचो धागोबाट निर्माण गरिनुपर्ने हो तर अहिले रङ्गीविरङ्गी सिलाम साक्मा बन्ने गरेको छ । येवासाम्बाहरूले अहिले पनि काँचो धागोबाटै निर्माण गर्ने गरेका छन् । इमेहाङ भन्छन्, “खासमा काँचो धागोको बनाउनुपर्छ । त्यो पनि पातलो माकुराको जालो आकारमा बनाउनुपर्ने हो । तर, मैले डोरीको बनाएँ । रङ्गीविरङ्गी बनाएर बेचेँ ।”
अहिले चाहिँ पाको भएका कारणले सिलाम साक्मा बनाउन छाडेका छन् । उनका चार भाइ छोरा, बुहारी र नातिनतिनासम्म सिलाम साक्मा बनाउन जान्ने भएका छन् । “बाउको कारणले घरपरिवारमा सबैले सिक्यौँ । सबैले जान्यौँ”–बुहारी भारती भन्छिन् । केवलराम थप्छन्, “सानो हुँदा यादै गरेनौँ । अहिले त छोरानातिले पनि बनाउँछ ।” सुरु सुरुमा सेउलीको पातको सिलाम साक्मा धेरै बनाएको अनुभव साट्छन् । आजकाल जहाँ जहाँ नेपालीहरू छन्, त्यहाँ त्यहाँ पुगेको देख्दा गर्वले छाती फुल्ने गरेको उनी बताउँछन् ।
पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र साहले पनि सिलाम साक्मा लगाएको देख्दा लिम्बू समुदाय खुसी छन् । आजकाल ब्याचको रूपमा बिक्री हुन थालेको छ । सिलाम साक्माले ब्याचको रूपमा व्यापकता पाएको २०७५ पछि मात्रै रहेको तिल्लिङ बताउँछन् ।
“सुरुमा त हामीलाई नै लगाउन लाज लाग्यो । उहाँले (केवलराम) सानो ब्याच बनाएर टुक्रुक टुक्रुक लगाइदिनुभयो । त्यो वर्ष त लाज पनि लाग्यो । अर्को साल चाहिँ चासोक तङ्नाममा ३० रुपैयाँ गोटाले बेच्न थाल्नुभयो । चार– पाँच सालपछि त ब्याचको रूपमा व्यापक प्रयोग हुनथाल्यो”–उनले भने । उनका अनुसार २०७५ पछि विश्वव्यापीकरण सुरु भएको हो । सिलाम साक्माको ब्याच पहिलो पटक लगाउने गैरलिम्बूहरूमा हास्य अभिनेता मनोज गजुरेल रहेको बताइन्छ । त्यसपछि मात्रै अन्यले लगाउन थालेका हुन् । अहिले पूर्वको सांस्कृतिक पहिचानको रूपमा आएको छ ।