विराटनगर । सोमबार दिनभरि काम गरेर थकित भएका मोरङ बूढीगङ्गा–४ निमुवाका उमेशजङ चौधरी छिटै खाना खाएर ओछ्यान लागेका थिए । मध्यरातमा अचानक मेघगर्जनसहित हावाहुरी र वर्षा सुरु भयो । मनमा चिसो पस्यो–कतै यसले बितण्डा त मच्चाउने होइन ?

नभन्दै घरछेउकै विशाल सिमलको रुख हुरीले ढाल्यो । रुख सिधै उनको जस्ताको छाना भएको घरमा बजारियो । “माथिबाट रुख खसेर घरै थिच्यो, धन्न ज्यान जोगियो” पूर्णरूपमा क्षतिग्रस्त घर देखाउँदै चौधरीले भने, “अहिले त आफन्तको शरणमा छौँ । ज्यान त बाँच्यो, अब घर कसरी बनाउने ?” उनको १५ लाख बराबरको सम्पत्ति एकै रातमा क्षति भयो ।

चौधरीको यो नियति त प्रतिनिधि पात्र मात्र हो । अहिले कोशी प्रदेशका तराईदेखि पहाडसम्मका बासिन्दा यस्तै ‘बेमौसमी’ प्राकृतिक विपद्को त्रासमा बाँचिरहेका छन् ।

विगतमा असार, साउन र भदौलाई बाढी–पहिरोको मुख्य समय मानिन्थ्यो । तर, पछिल्ला वर्षहरूमा पानी पर्ने समय र प्रकृति फेरिएको छ । वैशाख ११ गते पाँचथरको याङ्वरक गाउँपालिकामा जुन खालको बाढी र पहिरो आयो, त्यसले स्थानीयलाई त्रसित बनायो । दिनभरि टन्टलापुर घाम लागे पनि राति एकाएक काबेली र तमोर नदीमा आएको बहावले जनजीवन अस्तव्यस्त बनाइदियो ।

याङ्वरक–१, २ र ३ वडाका दुई घर बाढीले बगायो भने मध्यपहाडी लोकमार्ग अवरुद्ध भयो । विद्युत्, खानेपानी र सिँचाइका संरचना मात्र होइन, किसानको मुख्य आम्दानीको स्रोत ‘अलैँची बगान’ नै बगरमा परिणत भयो ।

बाढीको असर ऊर्जा क्षेत्रमा झनै भयावह देखियो । काबेली र इन्द्रावती खोलामा आएको बाढीले ५५ मेगावाट विद्युत् उत्पादन ठप्प बनाएको छ । अरुण काबेली (२५ मेगावाट), काबेली ‘बी–१’ (१० मेगावाट), इवाखोला (९.९ मेगावाट) र इन्द्रावती (९.७ मेगावाट) आयोजनाका बाँध र पाइपलाइन बगाउँदा अर्बौंको क्षति भएको छ ।

तीन वर्ष १० महिनामा २०३ को मृत्यु

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्क हेर्ने हो भने प्राकृतिक विपद् यहाँको ‘नियमित आकस्मिकता’ जस्तै बनेको छ । २०७९ देखि २०८२ वैशाखसम्मको झण्डै ४ वर्षको अवधिमा बाढी, पहिरो, हुरी र चट्याङबाट २ सय ३ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रहरीको अभिलेखअनुसार बाढी–पहिरोबाट मात्रै १ सय ५१ जनाको मृत्यु भएको छ भने १ सय १९ जना घाइते भएका छन् । त्यसैगरी चट्याङबाट ४७ र हावाहुरीबाट ५ जनाको ज्यान गएको छ ।

इलाममा २०८० असोज १९ गतेको बाढी–पहिरोले ३९ जनाको ज्यान लियो र करिब १२ अर्बको क्षति पु¥यायो । २०७९ मा पाँचथरको मिक्लाजुङमा ३० जनाको ज्यान गएको घाउ अझै निको भएको छैन । 

विकास कि विनाश ?

पूर्वी पहाडमा बर्सेनि भइरहेको यो क्षतिको पछाडि जलवायु परिवर्तन र अव्यवस्थित भौतिक पूर्वाधारलाई मुख्य कारण मानिएको छ । तर, सरकारसँग यसको ठोस अध्ययन र पूर्वतयारीको कुनै योजना छैन ।

पाँचथरबाट निर्वाचित सांसद् कमलप्रसाद जबेगु भन्छन्, “सिग्देलटारको ५० रोपनी धानखेत बगर भयो, निर्माणाधीन पुलहरू बगे । सरकारले तत्काल राहत र सडक मर्मतमा ध्यान दिनुपर्छ ।”

प्रदेश सभामा सांसद् मैया श्रेष्ठले सरकारको तयारीमाथि प्रश्न उठाएकी छन् । “सरकार विपद् व्यवस्थापनमा पूर्वतयारी विना सुतेको छ”–उनले भनिन् । 

विपद्को जोखिम बढ्दै गएपछि सुरक्षा निकायले भने सतर्कता बढाएको दाबी गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेले प्रदेशभरका सबै युनिटलाई ‘स्ट्यान्डबाइ’ राखिएको बताए । “हावाहुरी र खराब मौसमको जोखिमलाई ध्यान दिँदै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छौँ” उनले भने, “सर्वसाधारणलाई पनि सुरक्षित स्थानमा बस्न र सचेत रहन सन्देश प्रवाह गरिरहेका छौँ ।”