
-राजकुमार राई
लाहुरेनी सौन्दर्य भन्नासाथ गोरी, दोहोरो ज्यानकी, चिम्से आँखा, थेप्चे नाक, गहना र सिङ्गापुरे साडीमा सजिएकी महिला भन्ने दृश्य आँखा वरिपरि घुम्छ । त्यति मात्रै हैन, ब्रुनाइको लुङ्गी, हङ्कङको साडी लगाएको दृश्य पनि नाच्छ । देशविदेश घुमेकी, घरघडेरी भएकी, पतिको डलर वा पाउन्डको भरमा बसीबसी खाने सुखी महिला नै हाम्रो परिदृश्यमा घुम्छ । तर, जुनू रानाको कृति ‘लाहुरेनी सौन्दर्य’ मा भने दृश्य एकदमै फरक छ ।
यस कृतिमा राणाहरुले प्रत्येक घरबाट विश्वयुद्धमा बेचिएका लाहुरेहरुको मृत्यु, सुन, डलर, पाउन्ड, पेन्सनविहीन भएर वैँशमै विधवा भएर दुर्गम ग्रामीणक्षेत्रमा बस्ने लाहुरेनीको कथा छ । छोरा, ज्वाइँ गुमाएका आमा तथा सासूहरुको कथालाई ओकल्छ । काश्मिर होस्, फक्ल्याण्ड, पहिलो होस् वा दोस्रो विश्वयुद्धमा लाखौँ लाहुरेनीहरु विधवा भए । जिम्मेवार निकायबाट हिजोदेखि आजसम्म सहानुभूति नपाएका, अन्याय खेपिरहेका लाहुरेनीहरुको कथालाई निबन्धमा यथार्थपरक ढङ्गबाट उठाएकी छन् निबन्धकार रानाले । लाहुरेनी सौन्दर्यभित्र ३४ वटा संस्मरण, नियात्रा, निबन्ध, कथा, समसामयिक विचारहरु फरक सोच चिन्तनमा लेखिएको सौन्दर्य छ । पाठकको रूचिअनुसारका विधाहरु पढ्न पाइने पुस्तकभन्दा पनि उपयुक्त होला !
कृतिमा रहेका प्रतिनिधि शीर्षकहरुमा छोटो टिप्पणी गर्ने प्रयास गर्नेछु । पुस्तकमा संस्मरणहरु शक्तिशाली भएर आएका छन् । कालीगण्डकीमा बगेको चप्पल र जिन्दगीको लयमा गण्डकीको पुलबाट खोलामा झारेको चप्पल बाबुले खोलामा खोज्दा छोरीले बाबुलाई गण्डकीले बगाउने चिन्ता र बाबुलाई छोरीले कुस्माको उकालोमा खाली खुट्टा ६–७ घण्टा हिँड्नु पर्ने चिन्ता छ । एउटा चप्पल हातमा लिएर खाली खुट्टा हिँड्दा पीडा हुँदा पनि बाबुको मन दुख्छ भनेर छोरीले लुकाएर हिँडेका छिन् । आ–आफ्नो ठाउँबाट गहिरो समवेदना प्रकट भएको छ। स्वर्गीय पितासँग अनेक सुख–दुःखका दिनहरुको संस्मरणले कठोर मनहरु पनि रूवाउनेछ । अर्को संस्मरण ‘रकु’ पतिबाट अपहेलित एक सन्तानका आमाको घाँस काट्दै गर्दा भीरबाट लडेर निधन भएकी रकुबारे हृदयस्पर्शी संस्मरण हो ।
धेरै दिनसम्म रकु खसेको भीरमा उनले भारी बनाएको घाँसका टुक्रा छरिएको देखिन थियो । झरी पर्दा उनले ओड्ने गरेको पानीकागज पनि त्यही भीरमा अल्झिरहेको थियो । विशेष हङ्कङे नेपालीहरुले बिर्सनै नसक्ने नाम हो पत्रकार स्वर्गीय किसान राई । नेपाल सरकारबाट प्राप्त जनश्री पदक ग्रहण गर्न जाँदा भ्रमणको क्रममा खेटाङबाट भोजपुर जाँदै गर्दा सडकमुनि शौच गर्दैगर्दा भीरबाट लडेर निधन भएको दुर्घटना कि घटना हो प्रश्न उठाउँदै नाताले भेनासँगका अन्तर संवादहरु पढ्दै गर्दा स्वर्गीय किसान राईसँगका उठबसहरु स्मृतिहरु सबै हङ्कङेको मनमा उठ्नेछ ।
बाँच्दा नबोले पनि मर्दा मलामी हङ्कङको मानव क्षति भएको नेपाली जिरे खुर्सानी रेष्टुरेन्ट मालिकलगायत आगलागी दुर्घटनामा निधन भएको फेसबुक साथी भए पनि बोलचालसम्म नभएका आगलागीमा निधन मलामी जाँदाको शोकदृश्य मानवीय समवेदना गहिरोसँग लेखिएको छ । इक्सामा (सोल्टिनी राई भाषा) को मलामीमा उठेका समवेदनासँगै जीवन दर्शनका दृष्टिकोणहरु आएको छ । उडान नम्बर आर ए ४०९ मा हङ्कङबाट नेपाल हवाई उडानमा अप्रत्याशित बाबुको निधनले शोकमा डुबेर नियात्रा पीडादायी मार्मिक छ । देशबाहिर हुने आममान्छेहरुको नियात्राभन्दा फरक नपर्ला । बाटोको पोलमा उभिएको मान्छे एक अपरिचित व्यक्ति जो सधैँ गाडी स्टप नजिकको बिजुलीको पोलमा कफी लिएर उभिएको हुन्छ । ऊ सधैँ किन उभिएको होला ? बिहान बेलुकी आफूले पिउने ब्राण्डको कफी लिएर उभिरहेको हुन्छ ।
फरक खानेकुराहरु लिएर पनि उभिरहेको हुन्छ । मुखमा केही न केही खाइरहेको हुन्छ । उसको उमेर ३५ नजिक हुनुपर्छ कहिलेकाहीँ क्याप लगाए पनि पटक्कै नसुहाउँदो देखिने त्यस अपरिचित मान्छेप्रति कुनै आकर्षण पनि छैन तर उनलाई आँखाले खोजिरहन्छ । नियमित देखिने मान्छे देखिन छोड्छ । सोधखोज गर्दा गाडीले हानेर दुर्घटनामा निधन भएको सुन्दा पीडा अनुभूत गर्छ । मान्छेको मनोभाव मनोविनोद फरक कथाबाट प्रकट गरिएको छ ।
लाहुरेनी सौन्दर्यमा धर्म, प्रेम, विभेद सामाजिक विसङ्गति यौनहिंसा राजनीतिबारे लेखहरुमा विचारहरु राखिएको छ । यसैगरी हङ्कङका करिब ४ सय हाराहारीमा अनेक सङ्घ–संस्थाहरुप्रति गम्भीर प्रश्न उठाउँदै सुझावहरु दिएको छ । जुनू रानामा राजनीतिक, सामाजिक, धार्मिक, साहित्यिक र बौद्धिक चेत प्रचूर भएको लाहुरेनी सौन्दर्यभित्र पढ्न सकिन्छ । पुस्तक पठकीय चेतनामूलक छ । भुलचुक लिनेदिने बाँकी बचत पाठकलाई जिम्मा दिएँ ।
(सङ्खुवासभा, हालः हङ्कङ)