काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा सरकारले पुँजीगत खर्चतर्फ एक खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ मात्र खर्च गरेको छ । यो कुल लक्ष्यको ३२.५३ प्रतिशत मात्र हो ।
महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार चालु आर्थिक वर्षको ११ महिनासम्म कुल लक्ष्यको ३२.५३ प्रतिशत पुँजीगत खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षमा पुँजीगत खर्चतर्फ चार खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष सकिन अब एक महिना मात्र बाँकी रहँदा पुँजीगत खर्च अपेक्षाकृत रूपमा हुन सकेको छैन । चालु आर्थिक वर्षमा चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएकोमा ११ महिनामा ७६.९१ प्रतिशत खर्च भएको छ ।
त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ वर्षभरिमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएकोमा हालसम्म तीन खर्ब ५ अर्ब ७१ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ । रासस