आज भदौ २४ गते जेन जी आन्दोलनबाट राजनीतिक कायापलट भएको एक वर्ष पुगेको छ । यो आन्दोलन नेपाली राजनीतिक इतिहासमा अमिट छाप बनेर बसेको छ । यही दिन जेन जी आन्दोलनले नेपाली राजनीतिमा नयाँ बहस मात्रै सिर्जना गरेन; यो आन्दोलनले नयाँ प्रवृत्तिहरु पनि प्रवेश गरायो । राजनीतिक सुनामीका कारण पुराना दलहरुको सत्ता मात्रै उडेन; सत्तामा नयाँ दलको जबर्जस्त उपस्थिति रह्यो । पुराना दलहरु खुम्चिँदा नयाँ दललाई टाउको उठाउने ठाउँ बन्यो । भदौ २३ मा भएको आन्दोलन केवल युवाहरुको भीड मात्रै पनि थिएन; यो त लामो समयदेखि जम्मा भएको असन्तुष्टि, भ्रष्टाचारप्रतिको आक्रोश र राजनीतिक दलहरुको अकर्मण्यता, अवसरको असमानता र नयाँ पुस्ताको सम्मानजनक भविष्यको खोजीको ज्वारभाटा पनि थियो । उनीहरुको आन्दोलनले स्पष्ट सन्देश दिएको थियो–“अब पुरानो राजनीतिक शैलीले नयाँ पुस्तालाई सधैँ नियन्त्रणमा राख्न सक्दैन ।”

उक्त उथलपुथलपश्चात् भएको निर्वाचनले पनि त्यो परिमाणलाई देखाइदियो । जेन जीले सत्तालाई मात्रै हल्लाएन, प्रजातान्त्रिक प्रणालीमा हस्तक्षेप पनि गर्यो । पुराना दलहरु बढारिए भने नयाँ दलहरु एकाएक देखा परे । तर विजयप्राप्त नयाँ दलले पनि युवाहरुको मनोकाङ्क्षा, इच्छालाई पूर्ति गर्न सकेको देखिँदैन । बेरोजगारी उस्तै छ, काम गर्ने मनोवृत्ति पनि उस्तै छ । मानवता हराउँदै गएको अवस्था छ । सत्तासिनहरुले मेरिटोक्रेसीको नाममा भर्ती केन्द्र बनाउँदै लगेको अवस्था छ । महँगी झनै चुलिएको छ । ग्यासको अभाव, पेट्रोलियम पदार्थको मूल्यवृद्धि झनै सकस बनेको छ । यस्ता आम समस्याहरुका बावजुद पनि सरकारले सोचेअनुरुपको प्रगति गर्न सकेको छैन । बेरोजगारीको समस्या उस्तै छ । 

राज्य सञ्चालनमा जुन संस्कृति देखापरेको छ, यसले विगतको अभ्यासकै निरन्तरता दिइरहेको छ । सरकार फेरिएर मात्रै देशको मुहार नफेरिने रहेछ भन्ने सङ्केत देखिएको छ । अनुहार फेरिएर मात्र शासन प्रणाली सुध्रिँदैन भन्ने स्पष्ट सङ्केत दिएको छ । नयाँ पुस्ताको नाममा यदि पुरानै राजनीतिक संस्कार र व्यक्तिवादी मोह दोहोरिरहने हो भने जेन जी आन्दोलन सार्थक हुन सक्दैन । यो इतिहासमा एउटा गलत अभ्यासको नजिर बनेर इतिहासमा रहिरहनेछ । नयाँ नेतृत्वको प्रतीकका रुपमा उदाएका बालेन सरकारलगायतका पात्रहरुमाथि पनि अब केवल ‘पुरानो राजनीतिको विकल्प’ प्रमाणित गर्ने होइन, सुशासन, पारदर्शिता, सार्वजनिक सेवाको प्रभावकारिता र आर्थिक उत्पादनमा ठोस परिणाम दिएर नयाँ शासन संस्कृतिको नमुना प्रस्तुत गर्ने चुनौती छ । जनताले अब भाषण होइन, ठोस परिणाम खोजिरहेका छन् ।

यो एक वर्षको समीक्षा गर्दा आन्दोलनको सबैभन्दा ठूलो कमजोरी आन्तरिक विभाजन र गुटबन्दी देखिएको छ । सुरूमा कुनै एक नेता वा दलको नियन्त्रणमा नरहेको हुनाले नै यो आन्दोलन व्यापक बन्न सकेको थियो । तर त्यही विकेन्द्रित संरचना अहिले गुट, उपगुट र व्यक्तिगत महङ्खवाकाङ्क्षाका कारण कमजोर बन्ने खतरा बढेको छ । आन्दोलन एकताबद्ध भएर सफल हुन्छ तर राष्ट्र निर्माण संस्थागत एकता र साझा एजेन्डाबाट मात्र सम्भव हुन्छ । जेन जी आन्दोलनबाट प्राप्त नतिजालाई अहिलेको सरकारले गम्भीर रुपमा लिन आवश्यक छ ।

विशेषगरी सुशासन र पारदर्शिता, रोजगारी र उद्यमशीलता, शिक्षा सुधार, डिजिटल लोकतन्त्र, वातावरण र जलवायु न्याय, समावेशिता र राजनीतिक नैतिकता आवश्यक छ । नयाँ सरकारलाई न अन्ध समर्थन गर्नुपर्छ, न त अन्ध विरोध नै । लोकतन्त्रमा नागरिक आन्दोलनको भूमिका सत्तालाई सही बाटोमा हिँडाउन निरन्तर खबरदारी गर्न आवश्यक छ । इतिहासले आन्दोलनबाट पाठ सिक्दै परिणामतिर अग्रसर हुनुपर्छ । गत वर्ष जेन जीले राजनीतिक सुनामी ल्यायो; अबको वर्षमा उसले निर्माणको बाढी ल्याउनुपर्छ । अब हामीले प्रश्न गर्नै पर्छ–“सरकार त बदल्यौ“, अब के देश बदल्न तयार छौँ ?” अनि मात्रै जेन जी आन्दोलन सार्थक हुन सक्छ ।