ललितपुर/परापूर्वकालमा घोडा चढ्न राजामहाराजालाई मात्र अधिकार हुन्थ्यो । सर्वसाधारणले घोडा चढ्न नपाउने नियम बसालिएको थियो । ललितपुरको बालकुमारीमा मनाइने घोडेजात्रा भने ललितपुर वल्खुटोलका स्थानीयले घोडा सवारी गरेर मन्दिर दर्शन गर्ने पुरानो प्रचलन छ ।
घोडा चढ्न पाउने अधिकार ललितपुर महानगरपालिका १२ वडा, वल्खुटोलका स्थानीय गुठीका सदस्यलाई मात्रै छ । मल्ल राजा शिवसिंहको पालामा वल्खुटोलका एक महर्जन थरका व्यक्ति दरबारमा घोडा स्याहार गर्ने काम गर्ने गरेको र राजाले पछि आफ्नो खड्ग र घोडा उपहार दिएर उनलाई विदाई गरेको कथन पाइन्छ ।
उक्त घोडेजात्रा वल्खुटोलका भिमसेन गुठी च्योःखलले चलाउने गरिन्छ । यसपाली उक्त टोलका लक्ष्मण महर्जनले घोडा सवारी गरेको थिए । उनले विगत ३ बर्षदेखि घोडा सवारी गर्दै आएका थिए ।
घोडेजात्रा उपत्यकाको प्रमुख जात्रा मध्ये पर्दछ । काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले घोडजात्रामा विभिन्न कलाकौशल प्रदर्शन गरिन्छ ।ललितपुरमा मनाइने उक्त घोडालाई मंगलबजारभित्र लगी दानापानी खुवाएर वल्खुटोलमा लगेर पुजाविधि गरेर घोडेजात्रा शुरु गरिन्छ ।उक्त घोडालाई ललितपुर मंगलवजार ,वल्खुटोल, च्यासल हुँदै बालकुमारी मन्दिरसम्म पु–याइन्छ । बालकुमारी मन्दिरमा घोडालाई पुजा गरेर पानसुपारीका साथमा उक्त घोडालाई सेनालाई जिम्मा लगाइन्छ ।
नेपाली सेनाको सिंहदरबारभित्र रहेको क्याबलरी शाखाबाट घोडेजात्राको लागि ललितपुरमा एकल घोडा ल्याउने चलन छ । यस जात्रा कहिलेदेखि शुरु भएको भनेर यकिन तथ्य नभएपनि यस जात्राको शुरु भएकोप्रति भने दुईथरी मान्यता रहेको पाइन्छ ।
काठमाडौंमा मल्ल राज्य भएको बेला काठमाडौंको टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा रहेको थियो र काठमाडौं र ललितपुरका मल्लराजाबीच टसल परेर प्रतिस्पर्धीका रुपमा ललितपुरको बालकुमारीमा पनि एकल घोडा दौडाएर घोडेजात्रा परम्परा बसालेको मान्यता छ । यसले गर्दा ललितपुरबासी घोडेजात्रा हेर्नको लागि काठमाडौंसम्म पुग्न नपरोस् ।
ललितपुर च्यासलबासी प्रकाश अवालेले यो जात्रा ३ सय ५० बर्ष अगाडि नेपाल संवत ७७७ मा चलेको हुनसक्ने बताए । ललितपुरको बुंगमतिमा पनि घोडेजात्राको दिन कृत्रिम घोडा बनाई घोडेजात्रा मनाइन्छ ।