सङ्घ र प्रदेशको निर्वाचन सम्पन्न भइसकेकोछ । तर प्रदेशको राजधानी अझै टुङ्गो लागेको छैन । यसले प्रादेशिक सभाको वैठक, मन्त्रीपरिषद गठन लगायतका कामहरुलाई प्रभाव पार्दैछ । तरपनि चाँडै प्रदेश सदरमुकाम तय गर्नैपर्नेछ । त्यसैले यतिखेर आम चासो प्रदेश राजधानी तर्फ केन्द्रीत भएकोछ । यसमा चुनाव अघि कसैले पनि स्पष्ट धारणा सार्वजनिक गरेनन् । उम्मेदवारहरुले आफु उठेको ठाउँमै राजधानी हुनुपर्छ भनेर भाषण गरे । त्यस्तै एक नम्वर प्रदेशको राजधानी सन्दर्भमा विगतदेखिनै विवाद रहदै आएकोछ । चर्चामा आएको ठाउँहरुमा धनकुटा, धरान, इटहरी र विराटनगर रहेकोछ । स्थानीयताकै आधारमा सवैले आआफ्नै ठाउँमा राजधानी हुनुपर्ने दावी गरेकाछन् । सर्वप्रथमतः हामी इतिहासमै पहिलो प्रदेश सरकार वनाउँदैछौं । सङ्घीयता कार्यान्वयनको ऐतिहासिक प्रक्रियामा जुटिरहेकाछौं । प्रादेशिक सत्ताको चरित्र, विधि र पद्यति कस्तो हुन्छ भन्ने सवाल महत्वपूर्ण हुन्छ । उत्पीडितहरुको अधिकार वा पहिचान सुनिश्चीत हुन्छ या हुँदैन भन्ने मुद्धा गम्भीरछ । अझै आशङ्काहरु छन् । अर्थात, हाम्रो मुख्य चासो भनेको प्रादेशिक सरकारले अङ्गीकार गर्ने नीतिहरु उत्पीडित मैत्री हुन्छ हुँदैन भन्ने हो । अर्थात नीतिगत सवालहरु प्रधान रहेकोछ । त्यसैले राजधानी र नामकरण जस्ता पक्षहरु नितान्त प्राविधिक हुन् । सङ्घीयताको चरित्रमा स्पष्ट हुँदै राजधानी र नामाकरणको वहस गर्नु सहीनै हुन्छ । तर यस्तो प्राविधिक पक्षमा धेरै रुम्मलिनु राम्रो होइन । यसले समस्या सुल्झाउँदैन । राजधानीको लागि पहिलो पक्ष भनेको पायक भूगोलनै हो । अर्थात भौगोलिकरुपमा प्रदेशको केन्द्रविन्दुमा राजधानी वनाउँनु उपयुक्त हुन्छ । तर यो नापे–तौले जस्तो पनि हुँदैन । किनभने यसमा अन्य आयामहरु पनि निर्णायक हुन्छ । यसो गर्दा कहिलेकाँही थोरै तलमाथि र नजिक टाढा पनि हुनसक्छ । एक नम्वर प्रदेशको सन्दर्भमा पायक वा केन्द्रविन्दुलाई आधार मान्दा एकहदसम्म धनकुटा सहिनै छ । तर अन्य पक्षहरु सवल नहुनसक्छ । भौतिक संरचनाको उपलव्धता वा यसलाई वनाउँने पर्याप्त ठाउँलाई दोस्रो पक्ष मानिन्छ । किनकी प्रदेशको राजधानीमा थुप्रै भौतिक संरचनाहरु निर्माण गर्नुपर्दछ । कतिपय संरचनाहरु त अन्तरराष्ट्रिय मापदण्डमा वनाउँनु पर्ने हुन्छ । प्रशासनिक भवन, रङ्गशाला, स्पोर्टस मैदान र पार्क एवं वगैंचाहरुको लागि ठूलो खुल्ला क्षेत्र आवश्यक पर्दछ । राजधानीको लागि उपयुक्त जग्घा व्यवस्थापन तेस्रो पक्ष हो । यसको मतलव उर्वर खेतियोग्य जमीन र वाक्लो वस्ती भएको ठाउँमा नयाँ संरचना वनाउँनु व्यवहारिक हुँदैन । यसको लागि फराकिलो खाली जमीन र रुखोपाखो क्षेत्र छुट्टयाउनुपर्दछ । यद्यपि, राजधानीको लागि सवै आधारहरु मिलेकै हुन्छ भन्ने हुँदैन । कुनै ठाउँमा एउटा पक्ष सवल भए अर्को पक्ष दुर्वल हुनसक्छ । यदपि अधिकतम अनुकुल क्षेत्र छनौट गर्नुपर्दछ । यसको लागि आम सहमती खोज्नु पहिलो विकल्प हो, नभए जनमत सङ्ग्रह मार्फत टुङ्ग्याउनु उचित हुन्छ । संविधानमा प्रदेशसभावाट छिनोफानो गर्ने व्यवस्थाछ । तर यो दलगत वा समुहगत निहीत स्वार्थमा होइन, आम प्रादेशिक जनताको स्वार्थमा केन्द्रीत हुनुपर्दछ ।
हाल दावी गरिएको शहरहरु सवै आधारमा पूर्ण देखिदैन । अर्कोतिर सवैले आआफ्नै ठाउँमा हुनुपर्ने कडा दावी गरिरहेकाछन् । आफ्नो अडानवाट कोही पछि हट्ने देखिदैन । अर्थात धरान, धनकुटा, ईटहरी र विराटनगर मध्य कुनै एउटा स्थान सिफारीसमा पर्दा अर्कोले विरोध गर्नेछ । नयाँ प्रादेशिक राजधानीकिो भौतिक संरचना तयार नभइन्जेलसम्मको लागि केही मन्त्रालय वाँड्फाँड् गरेर राख्न सकिन्छ । यस्तो धरातलमा हामीले राजधानीको सन्दर्भमा वस्तुगत आधारहरु सहित अर्को छुट्टै स्थानको खोजी गर्नु वुद्धीमानी हुन्छ । यस आलेखमा नयाँ प्रस्तावित राजधानीको सन्दर्भमा छलफल गरिएकोछ । हाल प्रस्तावित स्थानहरु विवादीत, उर्वर भुमी र वाक्लो भौतिक संरचना वनीसकेको हुनाले अर्को विकल्पमा जानु उत्तम हुन्छ । यही सिलसिलामा धरान–चतरा क्षेत्रलाई नयाँ राजधानीमा प्रस्ताव गरिएकोछ । यो प्रस्तावित राजधानीलाई पूर्वमा धरान पश्चिममा वराहक्षेत्र र उदयपुरको मैनामैनी, उत्तरमा विष्णुपादुका र दक्षिणमा ईटहरी–झुम्का–इनरुवासम्म विस्तार गर्नुपर्दछ । रणनैतिकरुपमा आसपासको शहर र क्षेत्रहरुलाई यसैमा जोड्नुपर्दछ । चतरा–सप्तकोशी कोरीडोरको सवल पाटाहरुको सन्दर्भमा केही चर्चा गरिएकोछ । पहिलो, सप्तकोशी नदी किनारमा राजधानी वनाउँने कुरा आफैमा सकरात्मक, सृजनशील र वस्तुवादी देखिन्छ । सामान्यतय विश्वका ठूलठूला धेरै शहरहरु नदी किनारमै रहेकोछ । यसकारण यो मुलुककै मौलिक राजधानी हुनेछ । यो प्रदेशको भूगोल ठूलठूला नदीहरुको सञ्जालमा वाँधीएको हुँदा जलमार्ग विकास गरी दूरगम क्षेत्रसँग आवतजावतको छिटो र सहज माध्यम हुन्छ । यसको लागि नेपालकै लगानी, योजना र स्वार्थमा चतरामा सामान्य वाँध वाँध्नुपर्दछ । जलयातयातको लागि आवश्यक्ता अनुसार नदीको माथिल्लो भागमा पनि यसरीनै अरु वाँध वाँध्नु पर्दछ । चतरावाट जलमार्ग मार्फत सोलुखुम्वु, ओखलढुङ्गा, ताप्लेजुङ, संखुवासभा, खोटाङ, पाँचथर, भोजपुर, उदयपुर र धनकुटा लगायतका दूरगम जिल्लाहरु जोड्नुपर्दछ । उता सुनकोशी हुँदै सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक र काभ्रे जिल्ला पनि जोडिनेछ । चतरा–दोलालघाटको दुरी २७० किमी मात्र हुनाले काठमाडौंसम्मको यात्रा छिटो, सहज र किफायती हुन्छ । त्यसैगरी तमोर हँदै ताप्लेजुङ दोभान १३१ किमी. र अरुण–तुम्लिङ्टार हुँदै हेदाङनासम्म १२७ किमी. क्षेत्र आर्थिक जलकोरीडोरकोरुपमा विकास गर्नुपर्दछ । त्यस्तै भोटेकोशी हुँदै तातोपानी, दुधकोशी हुँदै नाम्चेवजार, नुमहुँदै हटियागोला र ताप्लेजुङ दोभान हुँदै वलाङचुङगोलासम्मा पनि दोस्रोस्तरको आर्थिक जलकोरीडोर विकासको प्रवल संभावनाछ । यसैगरि यहाँवाट ४५ किमी दक्षिणमा रहेको भिमनहर र लगभग ३२० किमी. टाढा रहेको गंगा हुँदै वङ्गालको खाडीसम्म पनि पानीजहाज सञ्चालन गर्न सकिन्छ । यसवाट पानीजहाज, फेरी र स्टीमर सञ्चालन गरी हिन्दमहासागर देखि दूरगम जिल्लाहरुसँग द्रुत सम्पर्क वढाउँन सकिन्छ । जलमार्ग सडक सञ्जालको असाध्यै व्यवहारिक र वस्तुवादी विकल्प हुनेछ । वञ्जी जम्प, ¥याफ्टीङ, कायाकिङ, फिशीङ, वोटीङ र स्वीमिङ मार्फत पर्यटन प्रवद्र्धन गरिनेछ । दिर्घकालिन वस्तुवादी गुरुयोजना सहित जलमार्ग लगायतको संरचनाहरु विकास गरे यो नमुना राजधानी शहर हुनेछ । जल, स्थल र हवाई कोरीडोरमा आधारित अर्थतन्त्र मार्फत समृद्ध, शुन्दर र पर्यटकीय राजधानी हुनेछ । दोस्रो, सर्दुखोला, पटनाली, वगुवा, वयरवन, चतरा देखि वराहक्षेत्रसम्मको भूगोल सापेक्षितरुपमा खाली रहेकोछ । यो क्षेत्र त्यति उर्वर भूमि पनि होइन । वस्ती पनि निकै पातलो रहेकोछ । यसमा वगर, पाखा र जङ्गल क्षेत्र वढी पर्दछ । यही खाली क्षेत्रमा राजधानीको लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्दछ । अवको राजधानी शहरको समग्र पूर्वाधार विकास आगामी पाँच सय वर्षको माग, प्रविधि र मनोविज्ञानलाई सम्वोधन गर्ने मापदण्डमा हुनुपर्दछ । दिर्घकालिक शहरी गूरुयोजना वनाउँनुपर्दछ । सडक, भवन, गल्ली, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, ढल, खेलकुद, मनोरञ्जन, विद्युतीय लाइन, टेलिफोन र इन्टरनेट सेवाको लागि अत्याधुनिक प्रविधि अपनाउँनु पर्दछ । एकै ठाउँ एकिकृत सरकारी प्रशासनिक भवनहरु निर्माण गर्नुपर्दछ, जसलाई पूर्वको सिंहदरवार भनेर चिन्न सकियोस । उत्तरपट्टी हरियो जङ्गल सहितको चुरे र महाभारत श्रृङ्खला, दक्षिणमा चारकोशे जङ्गल एवं विशाल फाँट, पूर्वमा धरान–विजयपुरको सुन्दरता अनि पश्चिममा सप्तकोशी नदीको कञ्चन वहावको किनारमा वन्ने राजधानीको रमणीयताले सवै प्रदेशवासी फुरुङ्ग मात्र होइन गौरवान्वीत हुनेमा कुनै शङ्का छैन । तेस्रो, यो प्रशासनिक, आर्थिक तथा जल–स्थल–हवाई पूर्वाधारहरुको त्रिकोणात्मक हव हुनेछ । सप्तकोशी विचमा रहेको खाली जमिनमा हवाई मैदान वनाउँनुपर्दछ । यो नेपालकै पहिलो मनोरम टापु हवाई मैदान हुनेछ । यता उद्योग, कलकारखाना, ढुवानी र व्यापार विकासको केन्द्र वन्नेछ । विकास, वैभव, समृद्धी सहितको आर्थिक राजधानी हुनेछ । कोशीपारी उदयपुरको मैनामैनी र त्रिवेणी क्षेत्र वत्ती मुनीको अँध्यारो जस्तो रहेकोछ । तर राजधानी भएपछि कोशी पारी क्षेत्रको शसक्तीकरणसँगै गाइघाटसँग पनि सामाजिक–आर्थिक सम्वन्ध विस्तार हुनेछ । त्रिवेणी लगायतका पिछडिएको र विकट नदी तटीय क्षेत्रको विकासको ढोका खुल्नेछ । धरान–हेटौडा सडक पनि यही वाटो भएर जान्छ, जसले हाम्रो समृद्धीको महाअभियानलाई सहयोग पु¥याउनेछ । सप्तकोशी नदी, वराहक्षेत्र, कोशीटप्पु, विष्णुपादुका, रामधुनी, वसाहा, दन्तकाली, वुढासुव्वा, पिण्डेश्वर, त्रिवेणी अनि भेडेटार जस्ता पर्यटकीय क्षेत्रहरु यसैको पेरीफेरीमा रहेकोछ । यहाँवाट विष्णुपादुका माथि सुलीकोट, भेडेटार र मैनामैनी डाँडाहरुसम्म केवुलकार निर्माण गर्नुपर्दछ । यहाँ वनेका भ्युटावरवाट सिंगो प्रदेशको रमणीय भूगोलको अवलोकन गर्नसकिनेछ । यस अतिरीक्त मेट्रो रेल, फास्ट ट्रेन र मोनो रेल जस्ता विद्युतीय यातयात सञ्जालहरुवाट धरान, इटहरी, इनरुवा, विराटनगर, गाइघाट र धनकुटालाई जोडि एउटै शहर जस्तो वनाउँनुपर्दछ । यसलाई साँच्चै स्मार्ट सिटीकोरुपमा विकास गर्नुपर्दछ । सप्तकोशी कोरीडोरमा वन्ने यो राजधानी प्रशासनिक, आर्थिक, धार्मिक एवं पर्यटकीय सङ्गमस्थल हुनेछ । यसकारण दिर्घकालिक सोँच सहित चतरामा राजधानी वनाउँनु सवैभन्दा उपयुक्त देखिन्छ । तसर्थ, राजधानीको तानातानलाई छाडौं । दावी गरिएको चारै ठाउँमा तत्काललाई मन्त्रालय वाँड्फाँड् गरिए पनि दिर्घकालिकरुपमा संभव हुँदैन । आखिर राख्ने एकै ठाउँ हो । आम प्रदेशको भूगोललाई केन्द्रमा राखौं । धरान, इटहरी, विराटनगर, धनकुटा वासीहरुले अलि फराकिलो छाती वनाऔं । आत्मकेन्द्रीत स्वार्थ र स्थानीयतावादी मनोविज्ञान त्यागौं । सानो टुक्रा जमिन, व्यापार र व्यवसाय भएकै स्वार्थमा सिंगो प्रदेश वासीको भावना माथि खेलवाड नगरौं । नाम्चे, हटीयागोला र वलाङचुङगोला जस्ता विकट र दूरगम ठाउँहरुलाई मनन् गरौं । सिंगो एक नम्वर प्रदेशवासी भएर सोँचौं । थोरै टाढा नजिकले केही फरक पार्दैन । राजधानी वन्दैमा शदियौं देखिको हाम्रो समस्याहरुको वनीवनाउ हल हुँदैन । सचेत नागरिकको हैसियतले वरु सङ्घीयतामा पाइने अधिकारहरुको वारे वहस गरौं । उत्पीडितहरुको उन्मुक्तीमा चासो राखौं । तर राजधानी जस्तो प्राविधिक सवालमा धेरै खिचतानी नगरौं । पछि परेको धरान–पश्चिम, पटनाली–वगुवा–वयरवन–चतरा–मैनामैनी कोरीडोरलाई माथि उठाऔं । यसलाई जल–स्थल तथा हवाई मार्गको त्रिवेणी वनाउँदै प्रशासनिक, आर्थिक, धार्मिक र पर्यटकीय हवको रुपमा विकास गरौं । यसलाई जलकोरीडोरमा आधारित अर्थतन्त्र विकास गर्दै समृद्ध नमुना स्मार्ट सिटी सहितको राजधानी वनाऔं ।