काठमाडौं । दुई वर्षअघि नाकाबन्दीमा इन्धन नपाएर आक्रान्त नागरिकलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले घर-घरमा पाइपबाट ग्यास पुर्‍याउने बताउँदा निकै आलोचना भयो । अब तिनै ओली पुनः सत्तारोहणका लागि तयारी गर्दै गर्दा घर-घरमा ग्यास पाइप लैजान कति सम्भव भन्ने परीक्षण हुने भएको छ ।

यो परीक्षणलगत्तै घर-घरमा ग्यास भने पुग्ने छैन । तर, त्यसको सम्भाव्यता पत्ता ठम्याइने छ र थप अध्ययन-अनुसन्धानका लागि बाटो खुल्नेछ ।

काठमाडौं टेकुस्थित प्राकृतिक ग्यास स्टेसनमा अब केही दिनमै जमिनमुनिको ग्यासको वास्तविक अवस्था र त्यसको व्यावसायिक उत्पादन र वितरणबारे प्राविधिक परीक्षण गर्ने तयारी भइरहेको छ ।

यदि ग्यासको फ्लो-अप राम्रो भेटिए र आर्थिक तथा प्राविधिक रुपमा उत्पादनयोग्य देखिए ओलीको योजना थप अगाडि बढ्नेछ भनेे नदेखिए योजना स्थगित हुनेछ ।

करिब २१ वर्ष बन्द रहेको यो ‘ग्यास स्टेसन’मा अब ओलीले सुनाएका योजनाको सम्भाव्यता जाँच गरिने खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्रप्रसाद खनालले अनलाइनखबरलाई बताए ।

यदि टेकुको प्राकृतिक ग्यास स्टेसनले ‘गि्रन सिग्नल’ दिए उपत्यकाका अन्य १२ वटा स्टेसनमा पनि त्यसको सम्भाव्यता जाँच अघि बढ्नेछ । ती सबै स्टेसन अहिले अलपत्र अवस्थामा छन् । इमाडोलमा गरिएको परीक्षणले भने त्यहाँ व्यावसायिक उत्पादन गर्न नसकिने अवस्था दर्शाइसकेको छ ।

सबै स्थानमा डि्रल गरेर उत्पादनको सम्भाव्यता बुझ्न नै सरकारले प्रतिकुवा ६० लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्नेछ । त्यसबाट ग्यास उत्पादन सम्भव देखिए घर-घरमा वितरण गर्ने प्रणाली विस्तार गर्न करोडौं खर्चिन सरकार तयार हुनुपर्ने विभागका प्राकृतिक ग्यास महाशाखा प्रमुख पृथ्वीलाल श्रेष्ठ बताउँछन् ।

ओली सरकारका पालामा बनेको प्राकृतिक ग्यास उत्खनन्को योजना अहिलेसम्म अध्ययनमै अल्झिरहेकाे छ ।

पुरानो अध्ययनका आधारमा काम थाल्दा असफल हुने जोखिम उच्च भएकाले खानी तथा भूगर्भ विभाग अहिलेको अवस्था बुझ्न भन्दै थप अनुसन्धानमा लागेको छ ।

तर, पर्याप्त बजेट, विज्ञ, दक्ष जनशक्ति र आधुनिक प्रविधि अभावका कारण अध्ययन अनुसन्धानको गति सुस्त हुँदा प्राकृतिक ग्यास उत्पादन गर्ने योजना पनि बहुवषर्ीय बनेको छ । जसले फेरि पनि पुरानै नियति दोहोरिने अवस्था आउन सक्ने विभागका अधिकारी बताउँछन् ।

टेकुमा अन्तिम तयारी

३५ वर्षअघि टेकुमा जापानी सहयोग नियोग (जाइका)ले जमिनभित्रको प्राकृतिक ग्यास निकाल्न डि्रल गरेको थियो । तर, लामो समयसम्म त्यसलाई मर्मत सम्भार र रेखदेख नगरेपछि डि्रलिङ गरिएको ग्यास कुवामा माटो र बालुवा भरियो ।

सोही कारण पुरानो डि्रलिङ प्वाइन्टबाट ग्यास निकाल्न नसकिएपछि विभागले अर्को ठाउँमा डि्रल गरेको महानिर्देशक खनालले जानकारी दिए । अहिले यो कुवाको ग्यास निकालेर प्राविधिक सम्भाव्यता अध्ययन गर्न प्राविधिकहरु अन्तिम तयारीमा जुटेका छन् ।

अब हुने परीक्षण उत्पादनबाट ओलीले भनेजस्तो घर-घरमा ग्यासको पाइप पुर्‍याउने गरी बाटो खुल्ने/नखुल्ने प्रतीक्षाको विषय हो ।

२२ वर्ष अघिसम्म उक्त कुवाबाट ग्यास निकालेर टेकु क्षेत्रका सरकारी कार्यालय, अस्पताललगायतमा वितरण हुन्थ्यो ।

२०४१ देखि ०५३ सालसम्म यहाँबाट उत्पादन भएको ग्यास पाइपमार्फत् शुक्रराज ट्रपिकल अस्पताल, भेटेरेनरी अस्पताल, सेनाको मेस, सुन्धाराको टेलिग्राफ र कारागारलगायत सरकारी कार्यालयमा वितरण हुने गरेको थियो ।

त्यतिबेला टेकुकै फोहोर संकलन केन्द्र नजिकै र त्रिपुरेश्वरमा खनिएका अन्य दुई कुवाको ग्यास पनि टेकुको यही प्रणालीमा जोडिएको थियो । अब पनि अर्को एउटा कुवाको ग्यास यही प्रणालीमा जोड्ने योजना बनाइएको छ ।

जाइकाको सहयोगमा ०४० सालतिरै खनिएका हुन्, यी कुवा । काठमाडौंका यस्ता ग्यास कुवाहरु राज्यको बेवास्ताको शिकार भएका थिए । जाइकाले ठूलो लगानी गरेर बनाइदिएको प्रणालीलाई पनि राज्यले सदुपयोग गरेन । ०४६ सालको परिवर्तनपछि यस्ता ग्यास स्टेसन चरम हेलामा परे ।

यहाँ प्रयोग भएका सबै सामग्री जापान सरकारले नै दिएको हो र जडान पनि उसैले गरेको हो ।

त्यसलाई फेरि ब्युँताउन खानी विभागले नयाँ प्रविधि र उपकरणहरु जोड्दैछ । ०५३ सालसम्म यो कुवाबाट पानीसहित ग्यास निस्किन्थ्यो । फिल्टरेसन मेसिनमा राखेर पानी र ग्यासलाई छुट्याइन्थ्यो र प्रशोधन मेसिन हुँदै बुलेटसहितको स्टोरमा हालिन्थ्यो ।

प्राकृतिक ग्यास तरल नभई हावाकै रुपमा हुने भएकाले सिलिन्डरमा भर्न सकिँदैन । यसलाई पाइपमार्फत् मात्रै वितरण गर्न सकिन्छ ।

सोहीअनुरुप ओलीले पनि ‘घर-घरमा पाइप पुर्‍याएर चाहिए जति प्रयोग गर्ने र टुकी बन्द हुने व्यवस्था गरिने’ बताएका थिए ।

नाकाबन्दीले सिकाएको पाठ

भारतले ०४५ सालमा नाकाबन्दी लगाएका बेला त्यसलाई पछ्याउँदै तत्कालीन पञ्चायती सरकारले काठमाडौंको अन्य ११ ठाउँमा पनि त्यस्तै कुवा खन्यो र ग्यासका बुलेटहरु राख्यो ।

काठमाडौंको ह्युमत टोल र ललितपुरको इमाडोलमा २/२ तथा भृकुटीमण्डप, शंखमुल, कोटेश्वर, जडिबुटी, तीनकुने, टीकाथली र टेकुमा १/१ कुवा खनिएको थियो ।

२०४७ सालतिर ती कुवालाई वितरण प्रणालीमा जोड्ने र घर-घरमा पाइपलाइनमार्फत् ग्यास पुर्‍याउने योजना रोकियो । र, टेकुको ग्यास स्टेसन बन्द भयो ।

सबै भारतबाट आउने सिलिन्डर ग्यासतर्फ आकषिर्त भए । सोही कारण स्वदेशमै उपलब्ध प्राकृतिक सम्पदाको सदुपयोग त भएन नै, देश इन्धनमा पूर्ण परनिर्भर बन्न पुग्यो ।

३/३ वर्षमा सफा गर्नुपर्ने ग्यास कुवा वर्षौंसम्म सफा गरिएन । तर, २० वर्षपछि भारतले फेरि लगाएको नाकाबन्दीले काठमाडौंमा ग्यासको हाहाकार भएपछि ओली नेतृत्वको सरकारका आँखा ती कुवामा परेको थियो ।

त्यसपछि टेकुमा प्राकृतिक ग्यासको स्टोरलाई छोपेर बसेको झाडी फाँडियो, खिया लागेको मेसिन निकालेर नयाँ डि्रल गरियो ।

जाइकाले गरेको अध्ययनबाट काठमाडौंको भूगर्भमा ४० वर्षलाई पुग्ने प्राकृतिक ग्यास रहेको देखिएको थियो । तर, विभागले अहिले गरिरहेको अध्ययनमा जाइकाले कुनै सहयोग गरेको छैन । उसलाई सहयोगका लागि आग्रह गरे पनि चासो देखाएको छैन ।

प्राकृतिक ग्यास महाशाखा प्रमुख श्रेष्ठ जाइकाले गरेको अध्ध्यनअनुसार नै अब काठमाडौंको भूगर्भमा ग्यास नभेटिने बताउँछन् । पछिल्लो समयमा काठमाडौंमा ‘डिप बोरिङ’ गर्ने क्रम अनियन्त्रित तवरले भइरहेकाले त्यसबाट ग्यासका कुवाहरुलाई प्रभावित गरेको हुन सक्ने उनको आकलन छ ।

‘प्राकृतिक ग्यास पानीसँग घुलेर आउँछ । तर, काठमाडौंमा पानीको सतह पहिलाकै अवस्थमा छैन । डिप बोरिङहरुबाट पनि ग्यास बाहिरिएको हुन सक्छ,’ श्रेष्ठ भन्छन्, ‘अब कति सम्भाव्य छ भनेर टेकुकै कुवाले देखाउनेछ । अन्य ठाउँमा पनि ड्रिल गर्नुपर्छ ।’

विभागले यस वर्ष टेकुमै अर्को स्थानमा पनि ग्यास परीक्षणका लागि ड्रिल गर्ने तयारी गरेको छ । यदि दुवै स्थानबाट राम्रोसँग ग्यास आए व्यावसायिक रुपमै एउटै प्रणाली बनाएर उत्पादन र वितरण गर्ने विभागको योजना छ ।

‘पुराना कुवा काम लाग्ने अवस्थामा छैनन्, नयाँ खन्नुपर्छ । त्यसका लागि एउटै कुवामा लाखौं खर्च हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘अझ फिल्टर, स्टोर र वितरण गर्ने पूर्वाधारका लागि कति खर्च लाग्छ भनेर स्टिमेट भएको छैन । त्यसमा पनि ठूलो लगानी लाग्छ ।’