लम्जुङको सैलुङ गाउँमा अविवाहित युवायुवती भेट्न एकदमै मुस्किल छ। सानै उमेर विहे भइहाल्ने र धेरै रोजगारीको सिलसिलामा गाउँ छाड्ने भएकाले युवायुवती गाउँमा नभेटिएका हुन् । अधिकांश गुरुङ र केही मगरका गरी ३० घरधुरी रहेको सैलुङमा १६ वर्ष पुगेका अविवाहित युवायुवती भेट्न मुस्किल पर्छ ।
मालिङ गाउँपालिका २ सैलुङका रामबहादुर गुरुङ दुई छोरा र दुई छोरीका बाबु हुन् । उनकी जेठी छोरी सात कक्षामा पढदै गर्दा १४ बर्षकै उमेरमा भागेर विहे गरिन् । गुरुङको छिमेकमा विहे भोज थियो । भोजमा सहभागी हुन छिमेकी गाउँबाट आएको एक युवकले भोजबाटै उनलाई भगाएका थिए ।
गुरुङकी कान्छी छोरीले पनि ९ कक्षामा पढ्दै गर्दा भागेर बिहे गरेकी थिइन् । सैलुङकै ८० वर्षीया उज्याली गुरुङ १० वर्षको उमेरमा मागी बिहे गरेको बताउँछिन् । उनका ४ छोरा र २ छोरी छन् । छोरीमध्ये जेठी मनमायाको १४ वर्षको उमेरमा र कान्छी पुर्णमायाको १६ वर्षको उमेरमा विहे भएको थियो ।
उनी भन्छिन्, ‘उमेर पुगेका युवायुवतीमध्ये विवाह हुनेको भइहाल्छ, नहुनेमध्ये केही रोजगारीको खोजीमा र केही अध्ययनका लागि सहर वा विदेश जाने भएकाले गाउँमा १६ वर्षमाथिका युवायुवती देखिँदैनन् ।’