काठमाडौं । १२ वर्षकी बालिकाको बलात्कारपछि हत्याकाे मुद्दा १३ महिनापिछ मात्रै फैसला भएकाे छ । जिल्ला अदालत काठमाडौंले घटना भएकाे १३ मिहनापछि विश्वराम रनपहेँलीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हाे ।
अदालतले फैसला त सुनायाे तर १३ महिनादेखि शिक्षण अस्पतालमा रहेको छोरीको शव उठाएर अन्तिम संस्कार गर्न बालिकाकी आमा सन्तोषी नेपालीसँग पैसा छैन । अस्पतालमा तिर्नुपर्ने रकम जुटाउन सके छोरीको अन्त्येष्टि गर्ने उनको योजना छ ।
स्वयम्भूमा डेरा गरी बस्ने सन्तोषीकी छोरी अमृताको ०७३ जेठ ५ गते बलात्कारपछि हत्या भएको थियो । काठमाडौं जिल्ला अदालतले सोमबार मोरङ, बाहुनीका विश्वराम रनपहेँलीलाई बलात्कार र हत्या दुबैमा दोषी ठहर गरेको हो । न्यायाधीश राजेन्द्र नेपालको इजलासले जबरजस्ती करणी र हत्यामा दोषी ठहर गरी सर्वस्वसहित जन्मकैदको सजायँ सुनाएको हो । त्यस्तै पीडित परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।
पीडितको पक्षबाट अधिवक्ताद्वय टिकाप्रसाद शर्मा कँडेल र स्वागत नेपालले बहस गरेका थिए । सन्तोषी ज्याला मजदुरी गर्छिन् । ५ जेठ, ०७३ मा उनी अरु दिन जस्तै छोरा र छोरीलाई कोठामा छाडेर उनी काममा गएकी थिइन् । त्यो दिन स्कुलमा अतिरिक्त क्रियाकलापका लागि चाहिने ड्रेस नभएका कारण अमृता स्कुल गएकी थिइनन् । भाइ स्कुलबाट फर्किदा अमृतालाई कोठामा अचेत अवस्थामा देखेपछि आमालाई बोलाउन पुगेका थिए । सन्तोषीका अनुसार उनी कोठामा आउँदा छोरीलाई हातखुट्टा खुम्चिएको र झ्यालमा सलको पासो अड्किएको अवस्थामा भेटेकी थिइन् ।
प्रहरी आएर मुचुल्का र पोर्टमार्टम गर्ने क्रममा बालिकाको यौनांगमा चोट र घाँटीमा समेत चिथोरिएको देखियो । उनले विगतदेखि नै शंकास्पद गतिविधि गरेका छिमेकी विश्वरामविरुद्ध किटानी जाहेरी दिएकी थिइन् तर, सुरुमा प्रहरीले जाहेरी नै लिन मानेन ।
त्यसपछि सन्तोषीले छोरीको हत्यारालाई सजाय नदिलाएसम्म छोरीको शव नै नउठाउने अठोट लिइन् । सोमबार अदालतले विश्वरामलाई दोषी ठहर गर्दै सजाय सुनाएपछि सन्तोषीले न्याय पाएको प्रतिक्रिया दिइन् । तर, अस्पतालमा तिर्नुपर्ने रकमको अभावमा छोरीको अन्त्येष्टि कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । ‘न्याय त पाएँ । तर, हस्पिटलले महिनाको १५ हजार लाग्ने भनेको थियो । त्यसो चाहिँ कसरी ल्याउने चिन्ताले सताउन थालेको छ’ उनले भनिन् ।
‘भोलि हस्पिटल त जान्छु । कति तिर्नुपर्छ भन्छ । त्यसरी अनुसार केही गर्नु पर्ला’, उनले अघि भनिन् ।