पथरी/वर्षको ६ महिना जङ्गलको निगुरो सङ्कलन गरी बेचेर जीविकोपार्जन गर्नेको भिड मोरङको उत्तरी बेल्टको आसपासमा उत्तिकै छ । बिहान बेलुकी हातमुख जोर्न बिहान खाजा बोकेर निगुरो टिप्न जङ्गल निस्कछन् । उनीहरूलाई जङ्गली हात्तीको पनि उत्तिकै डर हुन्छ । तर मोरङको लेटाङ –९ जाँतेमा निगुरो व्यवसायीहरू निगुरो टिप्न छाडेर शङ्खेकिरा टिप्न जाने गरेका छन् । स्थानीय सरकार तथा वडा नं. ९ वडा कार्यालयले शङ्खेकिरा टिपेको प्रति केजी २५ रुपैयाँ तोकिदिए पछि त्यसतर्फ लागेका छन् । जङ्गलमा सङ्कलित निगुरो १० रुपैयाँमा बेच्छन् । हात्तीको पनि डर नहुने, निगुरो भन्दा शङ्खेकिरामा फाइदा देखेपछि केही व्यक्तिहरू त्यसतर्फ लागेका हुन् । जाँतेमा जाइन्ट अफ्रिकन स्नेल अर्थात् ठूलो शङ्खेकिरा जातको सङ्क्रमण दिनानुदिन बढेपछि वडा कार्यालयले नियन्त्रणको उपाय रोजेको हो ।
वडाले साउन १५ गतेबाट शङ्खेकिरा सङ्कलन शुरु गरेको थियो । शुरुमा एकजनाले १ क्विन्टल पनि सङ्कलन गरेको वडासदस्य इन्द्र ढकाल बताउँछन् । अहिले नियमित शङ्खेकिरा सङ्कलन गर्ने १५ देखि २० जनासम्म रहेको ढकालले जनाए । बिहान र साँझमा देखिने यो किरा बालीको लागि धेरै विषालु रहेको विज्ञहरूको बुझाइ छ । कुनै पनि बालीको पत्तालाई मात्र किराको जिब्रोले छोएमा सबै मर्ने गरेको त्यहाँका स्थानीय बताउँछन् । पहाडको फेदी, खेतबारीमा ठूला–ठूला ढुङ्गा ओसिला माटो र जङ्गल नजिक भएको कारण अत्यधिक शङ्खेकिरा उत्पादन भएको वडाध्यक्ष कृष्णप्रसाद लुइँटेल बताउँछन् । शङ्खेकिराको सङ्ख्या बढ्दा भविष्यमा ठूलो क्षति पुर्याउने भएकाले यसलाई समयमै नस्ट गर्नुपर्ने उनले बताए । जेठ, असार, साउन, भदौ र असोजसम्म खुल्ला ठाउँमा हिँड्न सक्ने यो जीव २५० ग्राम भन्दा ठूलो हुने गरेको छ । यसको लम्बाई ८ इञ्च र चौडाइ ३ इञ्चसम्म हुने गरेको छ । जाँतेको करेसाबारी, फूलबारी, खेतबारी जताततै शङ्खेकिरा भेटिन्छ । शङ्खेकिराले किसानले लगाएको बर्खे बाली नष्ट गर्दै आएका छन् । १२ वर्ष अघि धाराको खानेपानी पाइप धरानबाट ल्याउँदा पाइपबाट शङ्खेकिरा जाँतेमा आएको वडाअध्यक्ष कृष्णप्रसाद लुइँटेल बताउँछन् । गर्मीमा ३ पटक फूल पार्ने शङ्खेकिराले एक पटकमा १५० वटासम्म फूल पार्ने गरेकाले यस क्षेत्रमा छोटो समयमै सङ्ख्या बढाएको वडाध्यक्ष लुइँटेल बताउँछन् । ४/५ वर्ष पहिलेसम्म शङ्खेकिरा सामान्य मात्रामा देखिए पनि २ वर्ष अघिदेखि व्यापक रूपमा फैलिएको कृषक खगेन्द्रप्रसाद निरौलाले बताए ।
अहिले जाँतेमा स्थानीयहरूले १८ क्विन्टल शङ्खेकिरा सङ्कलन गरिसकेको छ । सङ्कलित शङ्खेकिरा वडाकार्यालयले खोलाको बगरमा खाल्डो खनी नूनलगाएर पुरिँदै आएको छ । आर्थिक वर्ष ०७५÷७६ मा वडा कार्यालयले शङ्खेकिरा नियन्त्रण गर्न २ लाख बजेट छुट्याएको छ । शुरूमा १ लाख मात्र विनियोजन गरेको बजेटले नपुग्ने भएपछि नियन्त्रणकै लागि फेरि १ लाख खर्च छुट्याउने तयारी रहेको वडा कार्यालयले जनाएको छ । वडा नं. ९ मा ७ वटा टोल विकास संस्था गठन गरेको छ । प्रत्येक टोल विकास संस्थामा २ ठाउँमा सङ्कलन केन्द्र गरी जम्मा १४ स्थानमा सङ्कलन केन्द्र राखेको छ । प्रत्येक सङ्कलन केन्द्रमा शङ्खेकिरा तराजुमा नाप्ने व्यक्ति राखिएको छ । तराजुमा शङ्खेकिरा नापेवापत् ५ रुपैयाँ वडा कार्यालयले दिँदैआएको छ । यसले कृषिमा मात्र नभएर वातावरणीय र स्वास्थमा पनि असर गर्ने विज्ञहरू बताउँछन् । बिहान र रातको समयमा देखिने यो जीव ओसिलो क्षेत्र रुचाउँछन् । धेरै उच्च र धेरै कम तापक्रममा नबाँच्ने भएकाले तराई र मध्यपहाडी क्षेत्रमा शङ्खेकिरा पाउने गरेको हो ।
साविकको जाँते गाविस विशेष गरेर तरकारीका लागि उर्वरभूमि मानिन्छ । यस क्षेत्रमा किसानलाई खेती गर्न मुस्किल पर्न थालेको र यसको प्रकोपबाट जोगाउनका लागि वडाले योजना ल्याएकाले नगरले पनि यसमा साथ सहयोग गर्ने लेटाङ नगरपालिकाको उप–प्रमुख कृष्णकुमारी निरौलाले बताइन् ।