पथरीशनिश्चरे । घरायसी झगडाको क्रममा श्रीमानले मट्टितेल खन्याएर आगो लगाइएकी झापाकी एक भूटानी शरणार्थी महिला उपचारको अभावमा समस्यामा छिन् ।
कमल गाउँपालिका ५ मा दोस्रो विवाह गरेर गएकी शरणार्थी महिला २८ वर्षीया लीलामाया दर्जीलाई श्रीमान भक्तबहादुर दर्जीले घरायसी विवादमा मट्टितेल खन्याएर आगो लगाएका थिए । उनको तत्काल बिर्तामोडको बिएण्डसी अस्पतालमा निशुल्क उपचार भएपनि त्यहाँबाट थप उपचारका लागि बाहिर अन्यत्रको ठूलो अस्पताल लान बीएण्डसीले उल्लेख गर्यो । त्यसपछि कतै लैजान पैसा नभएर मेची अञ्चल अस्पताल भद्रपुरको आसमा त्यहाँ पुर्याएपनि उपचार गर्न नसक्ने भन्दै फिर्ता पठाइयो । त्यसपछि आम्दा अस्पताल दमकमा ल्याइएपनि त्यहाँपनि उपचार गर्न सम्भवन नभएको विजोकको अवस्थामा उनलाई उद्धार गरिएको थियो ।
बेलडाँगी शिविर सचिव टीकाराम रसाइलीले उद्धारका लागि खवर गरेपछि लायन्स क्लब दमक स्टर्नका अध्यक्ष विमल शर्मा सहितको टोलीले शनिवार राती उद्धार गरी एम्बुलेन्स खर्च व्यहोरेर राती नै धरान पठाएको थियो ।
भदौ १२ गते राती भएको झगडाका क्रममा उनका श्रीमान ४० वर्षीय भक्तवहादुर दर्जीले लीलामायामाथि मट्टितेल खन्याएर आगो लगाएका थिए । अभियुक्त भक्तवहादुरलाई प्रहरीले भोलीपल्ट पक्राउ गरी आगो लगाई ज्यान मार्ने उद्योगमा मुद्धा चलाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दमकको बेलडाँगी १ सेक्टर डी २, छाप्रा नम्वर ११३ मा भूटानी शरणार्थीका रुपमा वस्दै आएकी दर्जीले २ वर्षअघि कमल ५ का भक्तबहादुर दर्जीसंग दोस्रो विवाह गरी ज्याला मजदुरी गर्र्दै आएको उल्लेख छ ।
आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नबिन ढकालले करीब ४० प्रतिशत शरिरको भाग डढेकाले आम्दामा उपचार सम्भव नभएकाले धरानका लाग रेफर गरिएको बताए । धरान लानु अघि उनलाई निशुल्क उपचार हुने आशामा विराटनगरस्थित कोशी अञ्चल अस्पताल पुर्याइयो । त्यहाँ पनि उपचार हुन नसक्ने भनेपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगियो । त्यहाँ पनि विपन्न मानिस भएको बुझेर त्यहाँ उपचार हुन नसक्ने भन्दै पन्छिएको जानकारी आएको सिविर सचिव रसाइलीले उल्लेख गरे । उनलाई हालसम्म प्राथमिक उपचार मात्रै भएको र खास उपचारै हुन नसकेर समस्या भइरहेको उनले गुनासो गरे । ‘उनको प्राथमिक उपचार मात्र भएको छ । पैसाको अभावमा राम्रो उपचारै हुन पाएको छैन । सवैतिर हारगुहार गरिरहेको छु तर कसैले सुनेको छैन ।’– उनले दुखेसो पोखे । उनको घाउ दिनानुदिन वढ्दै गएर पाक्ने क्रम भइरहेको वताए । ‘उनी बोल्न त बोल्छिन् तर दिनदिनै गल्दै गएकी छन् । पैसाकै अभावमा एउटा विपन्न मान्छे मर्ने अवस्थामा पुग्नु ज्यादै ठूलो विडम्वना हो ।’– उनले समस्या सुनाए । धरानबाट काठमाडौं उपचारका लागि लानु भनेको छ तर अन्यत्र लाने रकम नभएपछि समस्या भइरहेको उनले विलौना गरे ।
महिला हिंसाको यसखाले जघन्य घटनामा जिल्ला प्रशासन कार्यालयले समेत खासै चासो नदेखाएको पिडीत पक्षको गुनासो छ ।