गर्भमा रहेको शिशु स्वस्थ छ कि छैन भनेर जाँच गर्ने चलन पछिल्लो समय बढिरहेको छ।
कतिपय रोगहरु शिशु गर्भमै भएको अवस्थामा पत्ता लगाउन सकिने प्रविधिको विकास भएपछि यो चलन पनि बढेको  हो। जनचेतना बढ्दै गएपछि अभिभावक पनि आफ्ना बच्चा स्वस्थ जन्मिदै छन् कि छैनन् भनेर सचेत हुन थालेका छन्।
हामीले कतिपय अवस्थामा अस्पतालमा बच्चा जन्मनासाथ मृत्यु भएपछि वा नवजात अवस्थामै मृत्यु भएपछि अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा विरोध गरेको देखेका सुनेका छौँ ।
कहिले बच्चाले सास फेरेन, मुटुको चाल थिएन भन्ने जस्ता कुरा पनि हुन्छौँ। जाँच गरेमा गर्भमै थाहा पाउन सकिने समस्या पहिले जाँच नहुँदा पनि यस्ता खालका घटना भइरहेका छन्।
गर्भमा रहेको शिशु कस्तो अवस्थामा छ, उसलाई केही गम्भीर खालका समस्या छ कि छैन, छ भने कसरी रोकथाम गर्ने भन्ने जानकारी लिन र बच्चा जन्मनुपूर्वदेखि नै तयारी गर्न सकिन्छ ।
कहिलेकाहिँ बच्चा अंगभङ्ग जन्मिनेवाला छ  भने शिशु जन्माउने कि नजन्माउने भन्ने खालका निर्णय गर्न अभिभावकलाई सहज हुन्छ। गर्भावस्थामा जाँच गरी जन्मजात मुटु रोग छन् कि छैन भनेर  पनि थाहा पाउन सकिन्छ ।
यो जाँचलाई फेटल इको इकोकार्डियोग्राफी भनिन्छ। गंगालाल हृदय रोग केन्द्रमा विगत ११ वर्षदेखि यो सेवा सञ्चालित छ । बच्चा नजन्मदै बच्चाको मुटुको बनावट ठीक छ कि छैन जाँच गरिन्छ ।
फेटल इकोकार्डियोग्राफी भनेको गर्भावस्थामा गरिने भु्रणको मुटुको परीक्षण हो । यो परीक्षणबाट बच्चा नजन्मदैँ पेटभित्रको बच्चाको मुटुको प्वाल, मुटुको बनावट, मुटुको काम, मुटुको सम्बन्धी रोगहरुको बारे जानकारी पाउन सकिन्छ ।
विश्वमा सन् १९७० बाट भ्रुणको मुटुको परीक्षण सुरु भएको हो। यो निकै अप्ठेरो प्रविधि मानिन्थ्यो । चिकित्सकहरु यसलाई डिस्नरी नभई विदेशी भाषा पढ्दा गरिएको प्रयास भन्थे ।
सन् ९० को दशकपछि यो प्रविधिले ठूलै फड्को मार्रुयो । नेपालमा भने गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सन् २००७ बाट  यो प्रविधि सुरुवात भयो।
सुरुका दिनहरुमा यो जाँच गर्न आउने गर्भवतीको संख्या कम भएपनि हालका वर्षहरुमा जनचेतना बढ्दै गएपछि यो जाँच गराउन आउने गर्भवतीको संख्या उल्लेख्य रुपमा बढ्दै गएको छ ।
अहिले महिनाको एक सय जनासम्म गर्भवतीको  फिटल इकोकार्डियोग्राफी जाँच हुन्छ।
सामान्यतया गर्भ रहेको १८ देखि २२ हप्ताको समयमा फेटल इकोकार्डियोग्राफी गर्न सकिन्छ ।  आवश्यकता अनुसार त्यसपछि पनि गर्न सकिन्छ। बच्चाको निकै गम्भीर समस्या देखिएमा समयमा नै  बच्चा जन्माउने वा नजन्माउने निर्णय लिन सजिलो हुन्छ ।
गम्भीर समस्या भएको बच्चा जन्माउने निर्णय लिएपछि पछि  त्यसै खालको सुविधा भएको बच्चाको आइसियु भएको अस्पतालमा बच्चा जन्माउन तयारी गर्न सकिन्छ।
यसले अस्पतालमा त्यस्तो समस्या भएको बच्चाको मृत्यु भएमा पनि चिकित्सक, अभिभावकलाई पहिले नै जानकारी हुने भएकाले विवाद कम हुने सम्भावना हुन्छ ।
पहिले त फेटल इकोकार्डियोग्राफी गर्ने चलन थिएन । मुटुको रोगमध्ये प्रमुख जन्मजात हुने  मुटुका रोग पनि हो । पहिलेपहिले जन्मेपछि मात्र थाहा हुन्थ्यो । अहिले पहिले नै थाहा हुन्छ । रोग त त्यही नै तर पहिले नै थाहा हुन्छ ।
जस्तो मुटुमा प्वाल हुने, भल्व साँघुरो हुने, मुटुको बनावट उल्टोपाल्टो हुने, मुटु देब्रेबाट दाँहिनेतिर हुने देखि सबै खालका समस्या गर्भमै थाहा पाउन सकिन्छ । पछि उपचार गर्न सजिलो हुन्छ ।
कस्तो अवस्थामा फिटल इकोकार्डियोग्राफी अति आवश्यक हुन्छ  ?
त्यसो त फेटल इको इकोकार्डियोग्राफीसबै गर्भवतीले गराउँदा पनि कुनै हानी हुँदैन  । तर केही अवस्थाहरुमा  भने यो जाँच गराउनु जरुरी हुन्छ ।
जस्तोः
३५ वर्ष उमेर काटिसकेपछि गर्भवती भएमा  आमालाई मुटुको रोग छ,  गर्भवतिले कुनै साइक्याट्रिक औषधि सेवन गरिरहेको अवस्थामा  मधुमेह भएको गर्भवतिले,  थाइराइड भएको गर्भवतिले,  रगत पातलो पार्ने औषधि सेवन गरिहरेको अवस्थामा ,  पहिलो बच्चामा मुटुको समस्या छ भने,  अघिल्लो बच्चाको अचानक मृत्यु भएको छ वा कुनै कारण गर्भ खेर गएको छ भने, सेरोगेसीबाट गर्भवति भएकामा,  कृत्रिम गर्भाधान भएकामा,  भ्रूणमा अन्य गडबडी देखिएमा र  आमालाई अरु खालको गम्भीर खालका रोगहरु छन् भने पनि फेटल इको इकोकार्डियोग्राफी अनिवार्य  गर्नैपर्छ ।
फेटल इकोकार्डियोग्राफी गर्नुका फाइदा
फेटल इकोकार्डियोग्राफी सबै गर्भवतीले गराउनुका केही महत्वर्पूण फाइदा छन् । यस जाँचबाट  गम्भीर प्रकारका मुटुरोग पत्ता लाग्ने हुनाले  त्यस्तो समस्या भएको बच्चा  जन्माउँदा पहिले नै चिकित्सकहरुले  पूर्व तयारीका  साथ बच्च निकाल्न सक्दछन् ।
बच्चाले तुरुन्तै उपचार पाउँछ । जटिल प्रकारका  मुटु रोग (उपचार गर्न गाह्रो हुने) पहिले नै पत्ता लगाएर  गर्भपतनको उपाय पनि अपनाउन सकिन्छ ।  मुटुको चाल गडबड हुने केही समस्याहरुमा औषधि दिएर बच्चाको मुटुको चाल ठीक गराउन पनि सकिन्छ।
बच्चाको मुटुको चाल गडबडी भएका रोगहरुमा गर्भवती आमालाई औषधि खुवाएर निको पार्न सकिन्छ । हामीकहाँ पनि यस्तो २,३ वटा केस छ । बच्चाको मुटुको चाल गडबडी भएको थियो । हामीले आमालाई औषधि दियौँ  । पछि बच्चाको समस्या पनि ठीक भएको छ।
विदेशमा मुटुको भल्व साँघुरो भएको अवस्थामा गर्भावस्थामै  भल्व खोल्ने प्रविधिको विकास भइसकोको छ ।
 यदि बच्चामा गम्भीर प्रकारको मुटुरोग छ भने पहिले नै थाहा भएमा बच्चा जन्मदा केही दुर्घटना भएमा अभिभावक, चिकित्सक  र अस्पतालबीचमा असमझदारी हुने सम्भावना कम रहन्छ। गंगालालमा ११ वर्ष अघि सेवा सुरु गर्दाको सम्झना ११ वर्ष अघि हामीले फेटल इकोकार्डियोग्राफी सेवा सुरु गर्दा यस सम्बन्धमा खासै जनचेतना थिएन ।
म एडल्ट कार्डियोलोजीको पृष्ठभूमिबाट आएकोले कतिपय स्वदेशीविदेशी मित्रहरुले यो अलि जटिल विषय भएको, मूल रुपमा फेटल मेडिसिन, पेडियाट्रिक कार्डियोलोजीको जिम्मेवारी भएको, गल्ती हुन सक्ने सम्भावना  धेरै भएको, गल्ति भएमा ठूलो समस्या हुन सक्ने भएकाले यो काममा हात नहाल्न सल्लाह दिनुभएको थियो।
तर देशमा त्यतिबेला बाल मुटुरोगको विधा खासै विकास भइसकेको थिएन  । बच्चाको मुटुको अपरेसन सुरु भइसकेको अवस्थामा एडल्ट कार्डियोलोजीकै पृष्ठभूमिमै चिकित्सकले बच्चाको मुटुको इको कार्डियोग्राफी गर्ने भएकाले फेटल इको कार्डियोग्राफी गरिदिन  अनुरोध आउने गथ्र्यो ।
कतिपय मानिसहरु भारतमा गएर फेटल इकोकार्डियोग्राफी गराउँथे।
मुटुको सर्जरी समेत नेपालमा सुरु भइसकेको अवस्थामा यो कुराको लागि भारत जानुपर्ने बाध्यता हटाउनु पर्छ भन्ने लाग्यो र मैले यस प्रविधिको लागि तालिममा जाने निर्णय गरें ।
 चीनमा  एकजना बच्चा मात्रै जन्माउन पाउने व्यवस्था हुनाले त्यहाँका आमाबाबुले आफ्नो गर्भमा रहेको बच्चाप्रति सचेत थिए ।  त्यसैले त्यहाँ फेटल मेडिसिनको राम्रो विकास भएको थियो ।  त्यसैकारण म फेटल कार्डियोलोजी को तालिमको लागि चीन गएँ ।  फर्केर आएर सो सेवा सुरु गरेका हौँ।
हाल गंगालाल अस्पतालमा बच्चाको मुटुरोग युनिट स्थापना भइसकेको छ  । र मूलतः बच्चाको मुटुरोग विशेषज्ञहरुले जिम्मेवारी लिइसक्नुभएको छ।
यो अलिकति मेहनत गर्नुपर्ने प्रविधि हो । हामीलाई थाहा छ गर्भावस्थाको भू्रण सानो हुन्छ । उसको मुटु झन् सानो हुन्छ । यसमा अल्ट्रासाउण्ड विधिबाट सानो मुटुको सम्पूर्ण कुरा  केलाउनुपर्छ ।
त्यसैले कहिलेकाहिँ केही मुटुका रोगहरु यो प्रविधिबाट नखुटिने पनि हुनसक्छन् । हरेक प्रविधिका जस्तै यो प्रविधिको पनि सिमितता हुन्छ । यो कुरा बुझ्नु जरुरी हुन्छ।
हामीकहाँ आजकल सबै रुपले मेडिकल त्रुटीलाई लापरवाही र हेल्चेक्र्याइँ भन्ने चलन नै बसिसक्यो । प्रविधिको सिमितता प्रविधिको ज्ञान र अनुभवका सिमितता, मानवीय गल्ती आदिले पनि त्रुटी हुनसक्छन् । यस्ता त्रुटीहरु क्षम्य हुन्छन् । नभए मानिसहरु जोखिम उठाउन मान्दैनन्  । र यसले देश र समाजको विकासलाई पछाडि धकेल्छ।
साभारः स्वास्थ्यखबर