तेह्रथुम/ म्याङलुङ नगरपालिका–१० तम्फुलाका युवाहरूले माटोको प्रयोगबिना नै तरकारी खेती गर्न थालेका छन् । सुन्दै अचम्म लाग्दो यो प्रविधिको तरकारी खेती गर्न यहाँका युवाहरूले शुरु गरेका छन् ।
माटो बिना उनीहरूले तरकारी फलाउन समेत थालिसकेका छन् । १० जना युवा मिलेर युनिक युवा कृषक समूह गठन गरी व्यवसायिक रूपमा तरकारी खेती गर्न थालेको समूहका सचिव अनिल नेपालले बताए ।
समूहलाई राष्ट्रिय युवा स्वरोजगार कोषले बिना धितो पाँच लाख रुपैयाँ ऋण दिएपछि सोही रकम सामूहिक रूपमा लगानी गरी माटो बिनाको तरकारी खेती लगाएको सचिव नेपालले बताए ।
उनी वडा सदस्यमा समेत निर्वाचित भएर समाजसेवामा क्रियाशील छन् । कृषि पेशामै उल्लेख्य सम्भावना भएको भन्दै गाउँमा युवा समूह खोलेर आधुनिक प्रविधिको उपयोग गरेर कृषि पेशामा लाग्नुपर्ने भन्दै माटो बिना नै तरकारी फलाउने अभियान थालेको बताउँछन् ।
सिंचाइका लागि पर्याप्त पानी नहुँदा किनेर तरकारी पकाउने यो गाउँका युवाहरूले माटो बिना नै तरकारी फलाएर गाउँलाई चकित पारेका छन् । सुख्खाग्रस्त गाउँमा सिंचाइका लागि पानी नहुँदा तरकारीलगायत सिंचाइ आवश्यक पर्ने खेती तम्फुलामा हुने गरेको छैन ।
‘माटो त हाम्रोमा जत्ति छ, तर सिंचाइ छैन,’ युवा किसान नेपाल भन्छन्, ‘पानी नभएका ठाउँमा तरकारी नफल्ने, त्यसैले हामीले माटो बिनाको तरकारी खेती थालेका हौँ ।’
युनिक युवा कृषक समूहले माटो बिना नै खेती गर्न सकिने हाइड्रोपोनिक प्रविधि अपनाएर तरकारी खेती थालेको हो । शुरुवातमा इमेल, इन्टरनेट र कृषि प्राविधिकहरूको सल्लाहबाट परीक्षणका लागि सामूहिक रूपमा खेती लगाइएको र पछि सम्भावना हेरेर लगानी गर्ने तयारी किसानको छ ।
यो प्रविधिको खेतीमा नरिवलको जट्टा पेलेर बनाइएको ढुटो गमलामा राखिन्छ । र त्यसैमा बिरुवा रोपिन्छ । यो तरिकाले खेती गर्दा श्रम शक्ति थोरै लाग्ने, पानी पनि धेरै नलाग्ने उनीहरू बताउँछन् ।
‘पहिले त मलाई पनि अचम्म लाग्यो,’ नेपाल भन्छन्, ‘पछि अलि बुझ्दै गएपछि त्यही प्रविधि अपनाएर सुख्खाग्रस्त हाम्रो जस्तो गाउँमा खेती गर्न सकिने सम्भावना देखेर गाउँमा साथीहरूसँग सल्लाह गरेर खेती थालियो ।’
समूहले अहिले परीक्षणका लागि थालेको खेतीबाट उत्पादन भएको तरकारी र फलफूल म्याङलुङ बजारमा समेत बेच्न थालेका छन् ।
जहाँ माटो कम छ, जहाँ पानीको कम छ, त्यहाँ यो प्रविधिको खेती गर्न सकिने नेपालले बताए । पहिलो चरणमा टमाटर, रायो साग, धनियाँ, काँक्रालगायत तरकारी लगाएको र ती तरकारी तथा फलफूल आफूहरूले प्रयोगमा समेत ल्याएको समूहका सदस्य बसन्त आछामेले बताए ।
टनेल हाउसबाट उत्पादन गरिएको मसलाबालीको बजारमा मागसमेत अत्यधिक रहेको कृषक नेपालले बताएका छन् ।
म्याङलुङ नगरपालिकाको १० नम्बर वडामा खानेपानीको अभावले तरकारी खेतिको कल्पनासमेत गर्न नसकिए पनि पछिल्लो समय आएको प्रविधीले यहाँका युवाहरू स्वारोजगार बन्दै गएका छन् ।
तरकारी खेतीबाट अहिले मासिक १० हजार आम्दानी गर्ने गरेको उनले बताएका छन् ।
प्राविधिक परामर्शमा ग्रीन हास निर्माण गरेका अनिलले टनेल भित्र दुई सय बढी गमला राखेका छन् । गमलामा अहिले पनि लोभ लाग्ने गरी गोलभेंडा र च्याउ उत्पादन भएको छ ।
शुरुमा काठमाडौंबाट कच्चा पदार्थ ल्याएका अनिलको व्यवसाय हेर्न अहिले दैनिक कृषकहरू आउने गरका छन् । शुरुमा माटो बिनाको तरकारी खेती हेर्नका लागि दैनिक यहाँ घुइँचो हुने गरेको थियो ।
जिल्लामै पहिलो पटक अभ्यासमा आएको यो खेती प्रविधि नेपालका थोरै ठाउँमा मात्रै हुने गरेको कृषि प्राविधिकहरू बताउँछन् । ‘परम्परागत खेती नै गर्नुपर्छ भन्ने छैन, नयाँ पुस्ताले नयाँ प्रविधि अपनाएर कृषि क्षेत्रका काम गर्न सकिन्छ भन्ने देखाउन पनि यो प्रविधि रोजेका हौँ,’ समूहका सचिव नेपालले भने ।
उनीहरूले सिंचाइका लागि ५ सय लिटरको ड्रममा पानी जम्मा गरेर राखेका छन् । त्यही पानी दिनमा दुई दिन चरणमा थोपा सिंचाईमार्फत् सिंचाइ गर्ने गरिएको छ । ‘यसमा सिंचाइ गर्न धेरै पानी चाहिँदैन, यसकारण पनि यो सजिलो छ,’ उनले भने ।
समूहले बकेटमा कोकोपिट राखेर विभिन्न तरकारी बालीका बेर्ना समेत उत्पादन गरेको छ ।
यसमा एक पटक लगानी गरेपछि लामो समयसम्म लगानी नपर्ने भएकाले पनि यो प्रविधि किफायती हुने युवाहरूको तर्क छ । युवाहरूले खेती थाल्दै गर्दा गाउँमा धेरैले माटो बिनाको तरकारी खेती सम्भव नहुने बताएका थिए ।
तर अहिले फलेको तरकारी भान्सामा पकाएर उपभोग गर्न पाउन थालेपछि स्थानीयसमेत दङ्ग छन् ।