केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबाइल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नुपर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आफूले समेत घरमा मोबाइल, टेलिभिजन आदिको जोहो गर्नै प¥यो । अचेल त उनी कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्दा टेलिभिजन र मोबाइलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने मनोरञ्जन र ज्ञानबद्र्धन खुराक आदिको कुरा पनि गर्न पछि पर्दैनन् । उनी पनि चाडपर्वहरूमा मोबाइलबाट आफ्ना साथी, सङ्घ–संस्थाहरू र इष्टमित्रलाई छोटा सन्देश (एसएमएस) पठाउँछन् । उनकोमा पनि त्यस्ता सन्देशहरू आउने गर्दछन् । तर यिनै छोटा सन्देशकै कारणबाट उनी पछिल्ला केही दिनदेखि निकै नै व्याकुल छन् । उनी अर्थात् समाजका एक सामान्य प्रतिष्ठित व्यक्ति रुपकमान । उनलाई लब्धप्रतिष्ठितै चाहिँ त नभने पनि हुन्छ । उनी सामाजिक सेवा गर्छन्, साहित्य, कला र राजनीतिमा पनि अलिकति चासो राख्छन् । त्यसैकारण उनले निकै व्यस्त हुनुपरेको छ । यस व्यस्तताको कारणले नै उनलाई मोबाइल चाहियो । पहिले त उनलाई मोबाइलको आवश्यकता नै नपर्ने अठोट थियो तर केही पछि भने उनलाई यो नभई नहुने अवस्था आइपुग्यो । अनि उनले पनि जोडे एउटा मोबाइल परिवारका अरु सदस्यहरूका साथ । मोबाइल जोडेपछि तनाव पनि जोडिएको अनुभूति भएको छ केही दिनदेखि उनलाई । मोबाइल मात्र होइन, उनले अहिले आफ्नै बुद्धिको कारणले मनभरिको पीडा पनि जोडेका छन्, छट्पटी र तनाव पनि आफूभित्र भिœयाएका छन्, दोधारको भूमरी पनि जोडेका छन्, एउटा तुफान पनि पालेका छन् । कहिलेकाहीँ उनको मोबाइलमा पनि अरुकै जस्तो गरी कुनै अज्ञात नम्बरबाट फोन आउँछ । उनी उठाउँछन् । उताबाट कसै–कसैको आवाज पनि आउँछ, उनका साथ केही नबुझे झैं गरी सोध्छ पनि, उनी केही उत्तर पनि दिन्छन् । अपरिचितका हुन्छन्, केही कलहरू झुक्किएर आएका होलान् भन्ने लाग्छ उनलाई । उनी पनि झुक्किन्छन् । धेरैजसो आफन्तहरूबाट र उनका सामाजिक कार्यकर्ताहरूबाट नै उनलाई फोन आउँछ । यस अर्थमा उनलाई यसबाट फाइदै पनि भएको छ । तर कति कलहरू उनका अपरिचितहरूबाट पनि आएका छन् । यसै क्रममा उनको मोबाइलमा एक दिन एउटा अज्ञात नम्बरबाट फोन आयो । आवाज महिलाको थियो । अलिक छिचरो पाराको थियो । उनले विनयपूर्वक ‘तपाईंले गल्ती नम्बरमा फोन गर्नुभो, सही नम्बरमा फोन गर्नुहोस् न है’ भनेर फोन काटिदिए । फेरि एकैछिनमा त्यही नम्बरबाट अर्कोपटक फोन आयो । त्यसपटक पनि उनले अघिकै कुरामा थपेर भने– ‘तपाईंले अघि पनि यसै नम्बरमा फोन गर्नुभो, गल्ती नम्बरमा फोन गर्नुभो क्यारे, सही नम्बरमा फोन गर्नुहोस् न है बहिनी ।’ ‘मैले खोजेको सही नम्बर नै यही हो । मैले खोजेको मान्छे नै तपाईं हो’ उताबाट महिलाको आवाज आयो । रुपकमानलाई यस भनाइले अलिकति झट्का लाग्यो, अलिकति धक्का पनि लाग्यो । उनले तैपनि संयमित हुँदै भने, ‘के तपाईं मलाई जिस्क्याउन खोज्दै हुनुहुन्छ ?’ ‘आमा हो, कति मीठो बोली, गाली पनि यस्ता मीठा शब्द र बोलीबाट हुने भए त जीवन सफल हुने थियो । आफ्नो त कर्मै खोटो !’ उताबाट महिलाको आवाज अझै अघि पुगेर कुरा गर्न हतारिएको बुझिन्थ्यो । अनि रुपकमानले यो फोनलाई धन्यवाद भन्दै काटे । यो फोन आउने घटना यति नै भएको थियो त्यति बेला । तत्कालका लागि यसभन्दा बढी कुनै घटना भएको थिएन । यसबाट उनलाई ठूलो तनाव केही पनि भएन । आ, आइरहन्छन् नि नकच्चरीहरूका फोनहरू भन्ने उनले सोचेका थिए । तर भोलिपल्ट त्यसै नम्बरबाट निकै पटक ‘मिसकल’ आयो । उनले वास्तै गरेनन् । फोनलाई साइलेन्ट मोडमा राखे । साँझपख नेपालीमै लेखिएको सन्देश उही नम्बरबाट उनको मोबाइलमा आयो, सन्देश निकै लामो थियो— ‘मेरो प्रिय साथी, मीठो पप्पी । यो मेरो पहिलो पप्पी हो मेरो प्रियका लागि । दिउँसो किन फोन नउठाएको ? मैले के त्यस्तो पाप गरेकी छु र फोन नउठाएको ? फोन उठाउँदैमा म तपाईंको सर्वस्व लुटेर लान्न क्यारे । आफूलाई भने कति माया लाग्छ, उसलाई भने कुनै वास्तै छैन । कस्तो निष्ठुरी !’ रुपकमानले हतार–हतार मोबाइलको सन्देश पढे अनि कसैले देख्यो कि भन्दै यताउता हेर्दै उक्त सन्देश मेटिदिए । उनको मनमा त्रास र अज्ञात भएको बादल एकाएक उठ्यो । कतै उनका छोराले थाहा पाएन ? कतै उनकी पत्नीले ता थाहा पाइनन् ? कतै उनकी छोरीले त थाहा पाइन ? उनको मनमा बडो गहिरो सन्देह भयो । छोराछोरी र पत्नीले उनका मोबाइलमा आएको यो एसएमएस पढे भने के भन्लान् ? आफ्नो प्रौढ बाबुको चरित्रलाई लिएर छोराछोरीले के सोच्लान् ? हे भगवान् ! पत्नीको प्रतिक्रिया के होला ? उनको निश्चल मनमा निकै चर्कौ तरङ्ग पैदा भयो । राति कुन बेला हो फेरि एउटा सन्देश आएको थाहा भयो उनलाई । एउटा बहाना पारी उनले सन्देश पढे ‘गुडनाइट राजा !’ लेखिएको रहेछ । यसपछि त उनलाई अलिक छट्पटी पनि भयो । तिर्खा–सिर्खा नलागे पनि अलिकति पानी पिए, थाहा नपाउने गरी सन्देश मेटाए अनि मोबाइलको स्वीच अफ पनि गरेर सुत्ने उपक्रममा लागे । निद्रा आएन निकैबेर । मनभरि सोचाइका लहर चलिरहे । कतिबेला हो निदाएछन् । यस्तो सन्देशको आगमनको क्रम दुई हप्ता जति लगातार हुँदै गयो । शुरुका दिनहरूमा यस्ता कल र सन्देशबाट उनी अलिक आतङ्कित हुने गरेका थिए । तर आजभोलि उनले यसलाई पचाइसकेका छन् । अनि केही मात्रामा त आकर्षित पनि भएका छन् । नयाँ नयाँ प्रविधिबाट मानिस आकर्षित हुन्छ नै । हो, वास्तवमा रुपकमानको मोबाइलमा आउन थालेका यस्ता सन्देशहरूसँगै जोडिएर आउने मायाका लवजहरूबाट रुपकमान पनि केही आकर्षित भइसकेका छन् । अझ भन्नुपर्छ उनी यस्ता कलहरू र सन्देशहरूबाट मोहित पनि भएका छन् । अनि सोच्छन् यस्तो फाइदा रै’छ यसमा अनि केटाकेटीहरूले के छोडून् त मोबाइल ? एकदिन उनैले पनि सधैँ सन्देश पठाउने महिलालाई लेखे । ‘तिमी मलाई बढी दुःख नदेऊ न ।’ उनले पठाएको सन्देश यही थियो जो अनुरोधात्मक र अनूनयात्मक थियो । त्यसपछि उनी पनि लुकीछिपी सन्देश पठाउन र मिसकल गर्नेको यात्रामा प्रवेश गरेका छन् । त्यसबाट बाहिर निस्कने इच्छा भएर पनि उनले निस्कन सकेका छैनन् । उनी आफूले गलत काम गरिरहेको कुराको बोध गर्दागर्दै पनि यस बाटोबाट सफा बाटोमा आउने बाटो पाइरहेका छैनन् । उनी सोच्छन्, यसबाट पार पाउने उपायबारे । कसैलाई भनुँ त आफ्नै इज्जत जाने डर । झन् उनले पनि कल गर्न थालिसके । नभनून् त मनमा त्यस्तो पिर कति बोक्ने तिनले ! उनी आफै सोच्छन्—मैले आफै पनि अलिकति बाटो बिराएकै हुँ । यो कुरा सार्वजनिक भयो भने मैले नै बाटो बिराएर यस्तो भएको कुरा बुझ्छ समाजले पनि । कसैलाई नभनुँ त मनभरि पीडाको भूमरी चलेको छ । के गर्छस् त ए रुपकमान ? हुँदाहुँदा उनी पनि मिसकल र सन्देश नआउँदा खल्लो अनुभव गर्न थालेका रहेछन् । अलिकति व्यग्र पनि हुन थालेका छन् । अलिकति प्रतीक्षा गर्न पनि थालेका छन् । हो न हो, मोबाइलमा केही आयो कि भनेर समय–समयमा हेरिरहन्छन् । एकदिन बिहानदेखि बेलुकैसम्म सन्देश आएन । मिसकल पनि आएन । सधैँ आउने गथ्र्याे मिसकल, सधैँ आउँथ्यो सन्देश, सधैँ आउँथे मीठा–मीठा कुराहरू, मायाका मीठा –मीठा कथनहरू, अनि साना–साना मुक्तक जस्ता मीठा–मीठा कविता वा गजलका टुक्राहरू । के भयो हँ आज ? बिरामी पो परी कि ? वा कुनै घटना दुर्घटनामा पो परी कि ? के भयो हँ त्यसलाई ? उनको मनमा बडो गहिरो शङ्का प¥यो । कतिबेला आउने हो कल, कतिबेला आउने हो सन्देश ? उनी अधीर भएर पर्खन थाले । प्रतीक्षाको घडीलाई थाम्न नसकेर उल्टै उनैले कल गरे । उताको फोन स्वीचअफ थियो । एक मन ता बल्ल–बल्ल त्यसबाट मुक्त हुन लागिएछ भनेर खुसी पनि भए तर उनको अर्को मनले के मानोस् ! उनको अर्को मन अझ अधीर भयो । उनलाई भित्र–भित्रै चौ–चौ भइरहेको थियो । किन होला आज एकपटक पनि सन्देश प्रवाहित भएन, के परेछ कुन्नि ? किन फोन पनि अफ गरेको होला ? उनको मन यही सोचेर उनैलाई समेत चञ्चल पारिरहेको थियो । उनका मनभरि यो बाहेकका अरु कुराहरू पनि खेलिरहेका थिए । मन तरङ्गित थियो । छाती केही भारी पनि भएको थियो । केही ऐठन भएकोजस्तो भान उनलाई भइरहेको थियो । केही पछि उनले तर्कसहित निर्णय गरे— फोनै बन्द गरेपछिलाई अब के कुरा रह्यो र ? के परेर फोन बन्द भएको होला ? बरु सोध्न पाए पनि हुन्थ्यो । केही कुरा गर्नै पाए पनि हुन्थ्यो । आखिरी कुरै त हुन्, के लछारपाटो लाग्ला केही कुराहरू गर्दैमा । बिहे गरेका मान्छेले चैं कुनै आइमाइसँग कुरै गर्न नहुने भन्ने के छ हँ ? उनको मन अलिकति कडा भए झैँ भएर फोनै गर्न तम्सियो । तर कडा भएको त्यो मनको कठिनता पानीको फोका झैं तत्काल फुटेर बिलायो उनको व्यावहारिक स्थितिबोधका अघि । परिवारले यो सबैकुरा थाहा पायो भने उनको के हविगत होला ? यही कुरा सोचेर उनको त्यो मन तरलित भयो । फोन नआए पनि हुने, सन्देशहरू नआए पनि हुने भन्ने भाव मनमा कताकता लुकेर हराएको बेला र अधैर्यताका साथ प्रतीक्षा पनि गरिरहेको बेला जे त पर्ला भन्ने कडा निर्णय गरेर एकपटक फोनै गरे । फेरि पनि फोन बन्द छ । हँ, के भयो त्यसलाई आज ? ए बाबा हो ? फोनै बन्द गर्नुपर्ने कारण के परेछ हँ ? उनले सोचे । अझै सोचे— मजस्तै लुकी–लुकी फोन गर्थी क्यारे । परिवारबाट पक्राउ परी होला ! कति गाली खाई होला बिचरीले ? हो, कुरा यो चैं पक्का हुनुपर्छ, कुन नाठालाई फोन गर्छेस् ए.... भनेर उसले झपार खाएको हुनुपर्छ । सोचाइ यस्तै भए पनि यसै सोचाइका साथ उनले निकै पटक फोन गरे । तर पनि उनले चाहे जसरी फोन गएन । अनि सोचे बढार्नै परेन, हावाले आफै उडाएर लगेछ । एक किसिम राम्रै पो भयो । कता–कता सन्तोषको श्वास फेरे र आफ्नो काममा लागे । राति फोन नबज्ने पारेर सुत्ने बानी भएकाले उनले फोनलाई साइलेन्ट मोडमा राखे । अनि आरामका साथ सुत्ने चेष्टा गरे । तर कता–कता आशाको त्यान्द्रो चुँडिएको थिएन । एक प्रकार प्रतीक्षारत पनि थिए । त्यसरी प्रतीक्षा गरिरहेकै बेला बल्ल एउटा म्यासेज र एउटा मिसकल आयो उनको मोबाइलमा । बल्ल–बल्ल उनको प्रतीक्षाको महाभारत सकियो । अनि उनले कुनै बहाना पारेर सन्देश पढे । सन्देशले दिउँसोभरि नेटवर्क नभएर एक कल गर्न पनि नसकेकोमा क्षमा मागिएको रहेछ । उनलाई अहिले बल्ल ढुक्क भएको छ । बल्ल उनलाई निद्रा लागेको छ । अनि उनका मनमा के गरौं र कसो गरौंको दोधारको जो ओइरो लागेको थियो, त्यो क्रमशः हराएर गएको छ । मनभरि द्वन्द्वको चक्रवात नै आएको थियो, त्यो पनि हटेर गएको छ । हेरौं रुपकमानका मोबाइलको मिसकल र सन्देश यात्राको ‘लाइभ टेलिकास्ट’ को अन्त कसरी हुने हो । उनीहरूको यो क्रम चालु भएकोले अन्त कसरी हुने हो हामीले पनि उनैले जस्तो गरी प्रतीक्षा गर्नै पर्छ ।