साङ्ग्रिला पब्लिकेसनले बजारमा ल्याएको कवि विमला तुम्खेवाको नयाँ कविता सङ्ग्रह ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ का विषयमा देशका विभिन्न ठाउँमा विमर्श भइरहेको छ । लामो समय पूर्वका साहित्यिक गतिविधिमा सक्रिय मोरङकी विमला अहिले काठमाडौंमा रहेर साहित्य सिर्जनामा सक्रिय छिन् । गत साता सङ्ग्रहको विमर्श कार्यक्रमका लागि धरान आएकी विमलासँग ब्लाष्टले गरेको छोटो कुराकानीः
 
नयाँ सङ्ग्रह आएपछि पाठकहरूबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
– सङ्ग्रह आएपछि चैत २४ मा चितवन र चैत ३० मा धरानमा विमर्श कार्यक्रम भए । दुवै कार्यक्रममा राम्रो प्रतिक्रिया पाएकी छु । त्यसबाहेक अरु पाठकले पनि  महिलाका मुद्दा ‘स्ट्रोङ’ तरिकाले उठाएको भनेर प्रतिक्रिया दिएका छन् ।
 
पहिलादेखि नै कवितामा महिलाका मुद्दाहरू उठाइरहनु भएको छ नि ?
– हाम्रोजस्तो समाजमा महिला सामाजिक, धार्मिक, शारीरिक, आर्थिक रूपमा पीडित छन् । तिनका आवाज साहित्यको केन्द्रमा आउनु जरुरी छ । महिलाका थोरैकुराहरू मात्र आइरहेका छन्, साहित्यमा आउन अझै धेरै कुरा बाँकी छन् ।
 
दुई दशकअघि तपाईं पूर्वका साहित्यिक कार्यक्रमतिर सेतो पहिरनमा पुग्नुहुन्थ्यो । त्यो के अभियान थियो र अहिले कहाँ पुग्यो ?
– मैले सेतो सारी दशौं वर्ष लगाएँ । समाजमा महिलामाथि धार्मिक विभेद छ । श्रीमान्को मृत्यूपछि श्रीमती सेतो लुगामा बस्नु पर्छ । तर श्रीमतिको मृत्यु हुँदा श्रीमान् त्यसरी बस्नु पर्दैन । यो धार्मिक विभेदका विरुद्ध मैले सानैदेखि सेतो पहिरन लगाएकी हुँ । अहिले त्यो बेला भन्दा धेरै परिवर्तन भएको छ तर मैले त्यो प्रतीकात्मक ‘मुभमेन्ट’ अझै छाडेकी छैन । 
 
पूर्वको साहित्यमा सक्रिय हुँदाहुँदै अकस्मात काठमाडौं पस्नु भयो, किन ?
– त्यो बेला राम्रो कवि बन्न काठमाडौं जानै पर्ने रहेछ भन्ने लाग्यो । अहिले जस्तो इन्टरनेट, सञ्जालको सुविधा थिएन । हरेक कुरा काठमाडौं केन्द्रित थिए । 
 
त्यो बेलाको साहित्यिक सक्रियतालाई कसरी सम्झिनु हुन्छ ?
– अहिले ‘नोस्टालजिक’ लाग्छ । गोजीमा पैसा हुँदैनथ्यो तर कविता वाचन गर्न भोकै टाढासम्म पुग्थ्यौं । एकपटक बुवा बिरामी भएर सिलिगुडी लगेका थियौं  त्यही बेला भेडेटारमा कवि गोष्ठी हुने भयो । म बिरामी बुबालाई छाडेर कविता भन्न भेडेटार पुगें । 
त्यो बेला धरानको साहित्यिक माहोल एकदम राम्रो थियो । आत्मीयता थियो । भानुचोकमा अर्जुनबाबु माबुहाङ, निरकुमार तिमुर, जगत नवोदित, सकुन्तला जोशी, विमला सालिन, सुमित्रा प्रवृत्ति, रमा घिमिरे, देवान किरातीलगायतका साथीहरूसँग चिया खाँदै साहित्यिक चर्चा हुन्थ्यो । त्यसबेलाका दिन खुब सम्झिन्छु ।
 
अहिलेको धरानको साहित्यिक माहोल कस्तो लाग्यो ?
– धरानका धेरै मान्छे बसाइँ सरेर गए । अहिले पहिला जत्तिको साहित्यिक माहोल देखिनँ । आफूले कविता भन्दै कुदिहिँडेको समय खुब ‘मिस’ गरेँ ।
 
कविताका किताब बिक्री हुन गाह्रो हुन्छ भनिन्छ नि ?
– उपन्यासले पेलिरहेको साहित्यिक बजारमा कविताको किताबमा ‘च्यालेञ्ज’ छ । तर बजारमा आएको सकारात्मक प्रतिक्रियाले नयाँ पुस्ताले मन पराउँछन् भन्नेमा आशावादी छु । 
 
अहिलेको पुस्ताले साहित्य कत्तिको पढ्छन् जस्तो लाग्छ ?
– अहिलेको पुस्ता पढ्छ । त्यसैले त साहित्यको बजार विस्तार भएको छ ।
 
राम्रो कवि बन्ने सपना बोकेर काठमाडौं जानु भएको थियो । अब त्यो सपना पूरा भयो जस्तो लाग्छ ?
– साहित्यमा लाग्दा धेरै दुख गरेँ । तर आफैंले रोजेको क्षेत्र भएकाले दुःखजस्तो लागेन । मेरो सपना अझै पूरा भएको छैन । सपनाकै लागि निरन्तर लागिरहेकी छु । 
 
अबका योजनाहरू के छन् ?
– यही सङ्ग्रहलाई लिएर देशव्यापी कार्यक्रम गर्ने कुरा भएको छ । एक-दुई वर्ष यसैलाई समय दिन्छु ।