फुटबलका महिला हस्ती

alt
  • फाल्गुन २७, २०७६
  • २१३ पटक पढिएको
  • प्रेम आचार्य

विर्तामाेड/ खेलहरूमध्ये सबैभन्दा धेरै दर्शकले अवलोकन गर्ने खेल फुटबल हो । निश्चित समयमा खेल सम्पन्न हुने र जो कोहीले पनि बुझ्ने भएका कारण अन्य खेलमा भन्दा फुटबलमा दर्शकको आकर्षण बढेको हो । फुटबलको क्रेज विश्वका अधिकांश देशमा छ । अन्य खेलले फुटबलले जस्तो दर्शक तान्न सकेको छैन ।

सामान्यतयाः केही समय अघिसम्म फुटबल भन्ने बित्तिकै पुरुष खेलाडीले खेल्ने खेल भन्ने बुझिन्थ्यो । महिलाको उपस्थिति यसमा कम हुने गरेको थियो । लगभग २ दशकयता दर्शकको त्यो बुझाइमा परिवर्तन आएको छ । महिलाले पनि पुरुषसरह फुटबल खेल्छन् भनेर यतिबेला उनीहरूले प्रमाणित गरिसकेका छन् । अहिले पुरुषसरह महिलाका विभिन्न प्रतियोगिता हुँदै आएका छन् । हरेक कुरामा विश्वव्यापी हावाले नेपाललाई नछुने भन्ने प्रश्नै हुँदैन । नेपालमा पनि महिलाले फुटबलमा दर्बिलो उपस्थिति देखाउन थालेका छन् ।

kheladi

उनीहरूले फुटबललाई व्यावसायिक रूप दिनुपर्ने माग पनि गर्न थालेका छन् । फुटबलको विश्वव्यापी संस्था फिफाले नेपालको पुरुष फुटबल टिमलाई १७० औं वरियतामा राखेको छ । सोही संस्थाको ९७ औं वरियतामा नेपाली महिलाको टिम रहेको छ । यहाँ प्रश्न उठ्न सक्छ कि कतिपय देशका महिलाले फुटबल खेल्दैनन् । तर, खेल्नेमध्येको देशका महिलाको सूची सार्वजनिक गर्दा पुरुषको भन्दा धेरै माथि आउन सफल भएको चाहिँ पक्कै हो ।

महिलाहरू आफ्नै बलबुताले फुटबल खेल्छन् । उनीहरूलाई हौसला दिने बलियो समर्थक धेरै छैनन् । सीमित स्रोत र साधनका बीच फुटबल खेलेर पनि महिलाले विश्वकप खेल्न सक्छौं भन्ने सन्देश दिएका छन् । उनीहरूलाई हौसला, सहयोग र साथको जरुरी रहेको अवस्था छ । फुटबलको राष्ट्रिय टिममा एकलौटी हाबीजस्तो भएको प्रदेश १ मा महिला टिममा पनि खेलाडीले बलियो उपस्थिति जनाउन सफल भएका छन् । प्रदेशबाट राष्ट्रिय टिममा अधिकांश खेलाडी पर्ने गरेको पाइएको छ ।

सताक्षी गोल्डकप, इटहरी गोल्डकप, झापा गोल्डकप, बूढासुब्बा गोल्डकप, दुहबी गोल्डकप, भीमनारायण गोल्डकप, माईभ्याली गोल्डकप जस्ता चर्चित फुटबल प्रतियोगिता यस प्रदेशमा हुँदै आएका छन् । वर्षांैदेखि निरन्तर चलेका ती प्रतियोगितामा महिलालाई भने ‘अतिथि सत्कार’ मा मात्र समावेश गराइने गरिएको छ । जुन गलत हो । आधाभन्दा बढी जनसङ्ख्या ओगट्न सफल महिलाको सहभागिता फुटबलमा किन हुन सकेन ? १२ वर्षअघि झापाको अर्जुनधारा नगरपालिका–११ मा महिला टिम निर्माण गरेर प्रशिक्षण दिँदै आएका फुटबलर प्रदीप बस्नेत भन्छन्, ‘महिला फुटबलमा सरकार, अखिल नेपाल फुटबल सङ्घलगायतका सरोकारवालाको चासो नै छैन ।’

महिला फुटबलमा प्रायःको चासो नपरेपछि बस्नेतले पारिजात फुटबल क्लब गठन गरेर नियमित प्रशिक्षण प्रदान गर्दै आएको बताएका छन् । ‘एन्फाले नै महिला फुटबल प्रतियोगितालाई प्राथमिकतामा राख्दैन’ बस्नेत भन्छन्, ‘पुरुषको जिल्ला लिग, प्रदेश लिग र राष्ट्रिय लिग हुने गरेको वर्षाैं भयो, तर महिला फुटबलको खोइ लिग ?’ उनले ग्रास रुटदेखि महिला फुटबलरलाई प्रशिक्षण, लिग र पुरुषको सरह प्रतियोगिता आयोजना गर्ने हो भने नेपाली महिला फुटबल टोलीले निकट भविष्यमा विश्वकप फुटबलमा सहभागिता जनाउने दाबी पनि गरे । नेपालमा महिला फुटबलको रेफ्री नै नभएको भन्दै बस्नेतले हरेक प्रतियोगितामा भारतलाई टक्कर दिने नेपाली टिमका खेलाडीले आफ्नै बलबुताले तयारी गर्ने गरेको बताए ।

‘महिला फुटबलको कोच पनि महिला छैनन्, अर्काको घरमा ज्याला मजदुरी गरेर फुटबल बुट किन्ने खेलाडीहरू हाम्रै क्लबमा धेरै छन्’ बस्नेतले भने, ‘अब यसरी खेलेको प्रतियोगितामा हामी गोल्ड मेडलको अपेक्षा गर्छाैं । कसरी आउँछ मेडल ? हामीले कहिले महिला फुटबलको एकेडेमी बनाएर सञ्चालन गर्नेतर्फ सोच्न सकेका छैनौं ।’ उनी आफ्नो खर्चमा फुटबल, नेट खरिद गर्छन् भने प्रशिक्षणमा आउने खेलाडीले आफ्नो लागि आवश्यक सामग्री ल्याउनुपर्ने बताउँछन् ।

बस्नेत पनि पूर्व फुटबलर हुन् । ‘आमाले जुत्ता किन्नका लागि पैसा दिनुहुन्थ्यो’ अर्जुनधाराकै फुटबलर एलिना नेपालीले भनिन्, ‘बुबा भने सधैँजसो घाउचोट लाग्ने डरले नखेल भन्नुहुन्थ्यो, तर पनि म केटा साथीहरूसँग फुटबल खेल्थेँ ।’ एलिनाका बुबा २ वर्षअघि बिते, त्यसयता उनी फुटबलमा खासै सक्रिय छैनन् । किन नखेलेको ? भन्ने जिज्ञासामा एलिनाले भनिन्, ‘हामी महिला फुटबलरलाई त्यसबाट जीविकोपार्जन हुनसक्ने अवस्था नै छैन । नेशनल टिममा परेका र नपरेका पुरुष खेलाडीले पनि फुटबल खेलेर जीविकोपार्जन गरिरहेका छन् । हामीलाई खान, बस्न भत्ता त परको कुरा गाडीभाडा दिन पनि मान्दैनन् ।’

फुटबल खेल्ने क्रममा घाइते भएको अवस्थामा आफै उपचार गर्नुपर्छ । ६ वर्षअघि हेटौंडामा भएको छनौट प्रतियोगितामा १४ वर्षमुनीको खेलाडीका रूपमा परेको भए पनि एसएससी परीक्षाका कारण टोलीमा सहभागी नभएको उनले बताइन् । ‘मलाई फुटबलमा करियर बन्छ भन्ने लागेको भए क्लोज क्याम्पमा बसेर परीक्षा दिने थिएँ’ नेपालीले भनिन्, ‘तर, नेपालमा फुटबल खेल्नु भनेको आफ्नो खुट्टा दुखाउनु मात्र हो भनेजस्तो भएको छ । अनि म क्लोज क्याम्पमा नगएको हो ।’

उमेर समूहकी लेफ्ट विङ्गर उनले काठमाडौंको सानो गौचरनमा भएको खेलमा विपक्षी पोष्टमा थाई कन्ट्रोल गर्दै वान टचमा गरेको गोल जीवनकै सबैभन्दा आकर्षक फिनिसिङ भएको सम्झिन्छिन् । उनी भन्छिन्, ‘मैले प्रायः गोल देब्रे खुट्टाले गरेकी छु ।’ अधिकांश खेलाडीले दायाँ खुट्टा धेरै चलाउने भएका कारण उनी कोचको रोजाइमा सधैँ पर्ने गरेको बताउँछिन् । ‘मेरा दुईवटै खुट्टा बराबर चल्छन् तर, पावर सट चंै देब्रे खुट्टाले हुन्छ’ –उनले थपिन् ।

२२ वर्षे नेपालीले अधिकांश स्कोर पनि देब्रे खुट्टाले नै गर्ने गरेको बताइन् । महिला खेलाडी सहभागी प्रतियोगितालाई एन्फाले प्राथमिकतामा राख्नुपर्ने उनी बताउँछिन् । सरोकारवालाको बेवास्ताका कारण महिला खेलाडीको मनोबल घटेको उनको भनाइ छ । ‘खेलमा हौसला, सहयोग र प्रेरणा मिलेको भए म यसलाई निरन्तरता दिने थिएँ’ नेपालीले भनिन्, ‘सधैँ खाजा र खानाको भरमा खेल्न सकिन्न नि ।’ उनलाई महिलामा सावित्रा भण्डारी र पुरुष खेलाडीमा विमल घर्तीमगरको फिनिसिङ सबैभन्दा आकर्षक लाग्छ ।

महिला फुटबललाई धेरैले महŒव नदिए पनि झापाको कन्काई नगरपालिकामा रहेको कन्काई खेलकुद प्रतिष्ठानले भने ‘महिला फुटबल एकेडेमी’ सञ्चालन गर्दै आएको छ । ५ वर्षअघि स्थापना भएको प्रतिष्ठानले यस आर्थिक वर्षको साउनदेखि एकेडेमी सञ्चालन गरेको सचिव विनोद रानाले बताए । एकेडेमीले १७ जना खेलाडीलाई आवास, खानासहित अध्ययनको व्यवस्था गरेको उनले बताए ।

झापा जिल्लाभरबाट छनौट भएका खेलाडीलाई क्लोज क्याम्पमा राखेर तालिम प्रदान गर्दै आएको रानाले जानकारी दिए । पुराना फुटबलर सन्त रायमाझी र लिलु गिरीले उनीहरूलाई साउनदेखि प्रशिक्षण प्रदान गर्दै आएको उनले बताए । ‘प्रतिष्ठान स्थापना भएपछि केही नयाँ काम गरौं भनेर महिला फुटबल एकेडेमी बनाएका हौं, महिला खेलाडीलाई क्लोज क्याम्पमा राखेर तालिम दिन मासिक ६० हजार रुपैयाँ खर्च भइरहेको र रकम चाहिँ कन्काई नगरपालिकाले सहयोग गरिरहेको छ’ उनले भने, ‘कन्काई नगरपालिकाले जसरी अन्य स्थानीय तहले पनि सहयोग गरेको खण्डमा यही प्रदेशबाट नेपालको राष्ट्रिय टिम तयार हुने देखिन्छ ।’

‘पहिलो कुरा त महिला खेलाडीलाई घरबाट बाहिर निस्किन सक्ने वातावरण हुनुप¥यो’ रानाले भने, ‘उहाँहरूलाई आत्मनिर्भर हुन सकिन्छ भनेर बुझाउन सकियो भने पनि महिला फुटबलको अवस्था चाँडै नै नम्बर १ बनाउन सकिन्छ ।’ महिला फुटबललाई व्यावसायिक बनाउन आफूहरू सक्दो प्रयासमा रहेको रानाले बताए । साउनमा निर्माण गरेको एकेडेमीका खेलाडीले बिर्तामोडको तमु ल्होसार गोल्डकपको उपाधि हातपारेको थियो । तयसपछि इलाम, मोरङलगायतका स्थानमा भएको प्रतियोगितामा जित हासिल गरेको कन्काई महिला फुटबल एकेडेमीले धनकुटामा सेमिफाइनलबाट बाहिरिनुप¥यो । त्यो खेलमा एकेडेमीका स्टार स्कोररहरूको अनुपस्थिति भएका कारण धनकुटामा हार व्यहोर्नुपरेको उनले बताए ।

महिलाको प्रदेश टिमका प्रशिक्षक सचिन्द्र धिमालले लामो समयदेखि प्रदेश नम्बर १ ले महिला फुटबलमा योगदान दिइरहेको बताए । उनले बितेका वर्षहरूमा भन्दा अहिले महिलाको धेरै प्रतियोगिता भइरहेको दाबी पनि गरे । आगामी वैशाखमा राष्ट्रिय लिग हुन लागेको भन्दै धिमालले त्यसका लागि छनौट भने गरिसकेको जानकारी दिए । धिमालले पुरुष खेलाडीको जस्तै महिला खेलाडीको पनि ग्रास रुटदेखि छनौट गरेर तालिम दिँदै प्रतियोगिता आयोजना गर्नुपर्ने बताए । यस प्रदेशका अधिकांश महिला खेलाडी विभागीय टिममा अनुबन्ध भएर खेलिरहेको समेत उनले बताए । पुरुषको टिममा जस्तै महिलाको टिममा पनि जिल्ला, प्रदेश र राष्ट्रिय लिग आयोजना गर्नुपर्ने उनको भनाइ छ । जानकारहरूका अनुसार महिला फुटबल प्रतियोगितालाई सरोकारवालाको बेवास्ता मात्र होइन, असहयोग नै गर्ने गरिएको छ ।

महिला फुटबलमा प्रायोजकको समस्यासमेत आउने गरेको बताइएको छ । सामान्यतया पुरुष फुटबल प्रतियोगितामा यातायात खर्च, खान, बस्न र खेल बापतको दैनिक भत्तासमेत उपलब्ध गराउने गरेका छन् । महिला फुटबलमा भने त्यस्तो केही सुविधा उपलब्ध नहुने लामो समयदेखि फुटबल क्षेत्रमा सक्रिय रहेकाहरूले बताएका छन् । फागुन २१ गतेदेखि आयोजना भएको सुखानी शहीद स्मृति गोल्डकपले भने खेलाडीलाई यातायात, खान र बस्नको व्यवस्था गरेको छ । पूर्व फुटबलर तथा प्रशिक्षक बस्नेतले भने, ‘महिला फुटबलमा सम्भवतः यो अहिलेसम्मको सबैभन्दा बढी सुविधा दिएको प्रतियोगिता हो ।’ १ लाख २५ हजार रुपैयाँ पुरस्कार राशि रहेको यो प्रतियोगिता प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशि भएको उनले बताए । पुरुष फुटबलमा भने १५ लाख रुपैयाँसम्म प्रथम पुरस्कार भएको गोल्डकप हुँदै आएको छ ।

अहिले प्रदेश नम्बर १ को इलामकी एञ्जिला तुम्बापो, मोरङकी मनमाया लिम्बू र सरु लिम्बू, तेह्रथुमकी अनिता बस्नेत, उदयपुरबाट दीपा राई र हीरा भुजेल, सुनसरीकी रेखा पौडेल नेपाली राष्ट्रिय महिला टिममा रहेर फुटबल खेलिरहेका छन् । प्रदेश नम्बर १ बाट नै धेरै महिलाको सहभागितामा राष्ट्रिय टिम भए पनि यहाँका सरोकारवालाको पर्याप्त चासो पर्न सकेको छैन । पुरुषसरह प्रतियोगिता र लिग हुने हो भने नेपाली महिला टिमले विश्वकप फुटबल खेल्न धेरै समय कुर्नु पर्दैन ।

राष्ट्रिय युवा संघ स ...

धरान । राष्ट्रिय युवा संघ सुनसरी र नेकपा १६ न. वडा कमिट ...

विश्वका यी ६ देशहरूम ...

ब्लाष्टखबर । अमेरिकाको जोन हपकिन्स विश्वविद्यालय कोरोना ...

उच्च मनाेवलका साथ नर ...

  काठमाडाैं / नेपाल नर्सिङ्ग परिषद्ले कोभिड ...

विपन्नको राहतकालागि ...

इनरुवा/कोरोना भाईरसको महामारीका कारण जारी लक डाउनका कार ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved