धरान । देशकै राम्रो स्वास्थ्य संस्थामा गनिने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले अस्त–व्यस्त अवस्थामा छ । राजनीतिक हस्तक्षेपका कारण धरासायी बनेको प्रतिष्ठान पछिल्लो समय चिकित्सक तथा कर्मचारीको आन्दोलनले अस्त–व्यस्त बनेको छ ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ बासिखोराका ६२ वर्षीय जनकबहादुर राई काम गर्ने क्रममा लडेर हात भाँचिएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आए । प्रतिष्ठानमा सहजै उपचार पाउने आशाले आएका राई र उनका आफन्तले पाइला पाइलामा सास्ती खेप्नुपरेको गुनासो गरे ।
शुक्रबार मध्यान्ह १२ बजेको समयमा प्रतिष्ठानको आकस्मिक कक्ष पुगेका राईले उपचार पाउन धेरैबेर पर्खिनु पर्यो । बल्ल २ बजेतिर उनको भाँचिएको हात प्लाष्टर गरियो । त्यसपछि चिकित्सकले फेरि एक पटक एक्स–रे गरेर रिपोर्ट हेरेपछि डिस्चार्ज दिने भनेर एक्स–रे गर्न पठाए । एक्स–रे गरेर आउँदा अघिका चिकित्सक त्यहाँ थिएनन् । बिरामी राईका आफन्तले एक्स–रेको रिपोर्ट त्यहाँ रहेका अन्य डाक्टरलाई देखाउन खोजे तर, उनीहरू ‘पहिला जसले हेरेको हो, उसैलाई देखाउनू’ भन्दै पन्छिए । ‘पहिला हेर्ने डाक्टरलाई पर्खिंदा पर्खिंदा बेलुकाको सात बज्यो तर, उहाँ आउनु भएन’ बिरामी राईले गुनासो गरे, ‘अरूलाई सोधपुछ गर्दा झर्किने, रिसाउने र सोधेको कुरा राम्रोसँग नभनिदिने रहेछन् । बेक्कारमा उपचार गर्न आएको जस्तो लाग्यो ।’
पाँच–दश मिनेटमा आउने भनेका डाक्टर आउँदै आएनन् । अरूले रिपोर्ट हेरिदिनै मानेनन् । भोजपुरबाट आएका बिरामी राई उपचारपछि बास बस्न मोरङस्थित आफन्तको घर पुग्नुपर्ने थियो । डाक्टर पर्खिंदा पर्खिंदै बेलुकाको सात बजेपछि राईको उपचारका लागि गएका आफन्तहरूले ‘किन यस्तो लापरबाही ?’ भनेर सोधखोज गर्न थाले । लामो समय डाक्टरको प्रतिक्षामा बसिरहेका बिरामी राईलाई चक्कर लाग्यो र उल्टी हुन थाल्यो । झन् समस्या थपियो । त्यसपछि एकजना स्वास्थ्यकर्मी आएर कागजमा औषधि लेखिदिएर ‘भोलि बिहान ९ बजे वार्डमा आउनू’ भनेर पठाए । बिरामी राई रिपोर्ट देखाउनै नपाई निराश भएर फर्किए ।
शुक्रबार बिरामीको फाइल र डिस्चार्जको कागज नपाएपछि बिरामीका आफन्त शनिबार बिहान आकस्मिक कक्षमा पुगेर सोधखोज गरे । त्यहाँका स्वास्थ्यकर्मीले एकले अर्कालाई देखाएर पन्छिएपछि उनीहरूले आकस्मिक कक्षका इञ्चार्ज डा.ज्ञानेन्द्र मल्ललाई भेट्न खोजे तर, उनी एक महिनादेखि बिदामा काठमाडौं गएको जानकारी त्यहाँका स्वास्थ्यकर्मीले दिए । डा.मल्ललाई फोन गर्दा पनि सम्पर्क हुन सकेन ।
शनिबार बिहान ९ बजे प्रतिष्ठानको हाडजोर्नी विभागमा बोलाइएछि बिरामी राई बिहानै त्यहाँ पुगेर डाक्टर पर्खिरहेका थिए । उनले एक जना डाक्टर आएपछि आफ्नो उपचारबारे सोध्न खोजे तर ती डाक्टरले पनि राम्रोसँग बुझाउनुभन्दा उल्टै आफूलाई थाहा नभएको भनेर हप्काएको बिरामी राईका ज्वाइँ विष्णु राईले बताए । बल्ल ११ बजेतिर डाक्टर आइपुगे । शुक्रबारको रिपोर्ट हेरेपछि डाक्टरले ‘एक सातापछि आउनू’ भने । बिरामी राईका आफन्तले आफ्नो घर भोजपुर भएकाले एक सातापछि उतै भोजपुरको अस्पतालमा देखाउन मिल्छ कि ? भनेर अनुरोध गर्दा पनि डाक्टरले झर्किएर धरान नै आउनु पर्छ भनेको बिरामीका आफन्तको भनाइ छ । बिरामीका ज्वाइँ विष्णु राई भन्छन्, ‘नजिकमा आफन्त छैनन्, बस्नको समस्या छ । भोजपुरमै प्लाष्टर खोल्न मिल्छ कि भनेर अनुरोध गरेको थिएँ । डक्टरले झर्किएर गाली गरे । बीपीमा राम्रो उपचार हुन्छ भनेर आएको लापरबाही धेरै हुने रहेछ । काबु भइयो ।’
भोजपुरका जनकबहादुर राईले हात भाँचिएर सामान्य उपचार गर्नका लागि भोग्नुपरेको कष्टले प्रतिष्ठानको उपचार सेवा कति अस्त–व्यस्त बनिरहेको छ भन्ने उदाहरण देखाउँछ । बीपी प्रतिष्ठानमा समयमा उपचार नपाएर सास्ती खेपिरहेका बिरामी र तनाव झेलिरहेका आफन्तहरू विभागैपिच्छे भेटिन्छन् ।
शनिबार बिहान ताप्लेजुङकी सुमित्रा शेर्पा पनि समयमा उपचार नपाउँदा निराश बनेर टोलाइरहेकी थिइन् । उनका ४ वर्षीय छोराको हात भाँचिएपछि रिपोर्ट देखाउन उनी बिहान ८ बजे नै हाडजोर्नी विभाग पुगेकी थिइन् तर, ११ बजेसम्म पनि डाक्टर नआएपछि उनी निराश थिइन् । उनले भनिन्, ‘बच्चालाई लिएर उपचार गर्न आएको, यहाँ त समस्या नै समस्या छ । बिरामी हेरिदिने डाक्टर भेट्नै गाह्रो भयो ।’
धरान–१५ का १४ वर्षीय सङ्गम राई पनि सोही समयमा रिपोर्ट देखाउन आएका थिए । उनले पनि डाक्टर नभेट्दा गाह्रो भएको बताए । कतिपय बिरामी डाक्टर समयमा नआएपछि उपचारै नगरी फर्किरहेका थिए ।
उपचारमा खटिनु पर्ने प्रतिष्ठानका चिकित्सकहरू अहिले आन्दोलनमा छन् । प्रतिष्ठानका १ सय ७७ मध्ये १ सय ४० जनाले आफूहरूको बढुवा नभएको भन्दै गत साता स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत समक्ष राजीनामा बुझाएका थिए । बाँकी सिनियर चिकित्सकहरू पनि बिदामा बसेका कारण प्रतिष्ठान जुनियर चिकित्सकको भरमा रहेको प्रतिष्ठानका एक पूर्व पदाधिकारीले बताए । प्रतिष्ठान प्रशासनको गैरजिम्मेवारीपनका कारण उपचार सेवामा असर परेको र त्यसको मार बिरामीले भोग्नुपरिरहेको उनले बताए । यसबारे बुझ्न खोज्दा प्रतिष्ठानका पदाधिकारीहरूसँग सम्पर्क हुन सकेन ।
प्रतिष्ठान प्रशासनले २०७९ पुस २० मा आन्तरिक बढुवाको प्रक्रिया अघि बढाए पनि विवाद उत्पन्न भएपछि बढुवा प्रक्रिया रोकिएको थियो । स्थगित भएको आन्तरिक बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै प्रतिष्ठानको कर्मचारी कल्याण समाज र शिक्षक कल्याण समाज आन्दोलनमा उत्रिएका थिए । त्यसपछि प्रतिष्ठान प्रशासनसँग रोकिएको बढुवा प्रक्रिया लोकसेवा आयोग र सरोकारवाला निकायसँग सहमति लिएर एक महिनाभित्र अघि बढाउने सहमति भएको थियो । तर, बढुवा प्रक्रिया अघि नबढेपछि चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका थिए ।
नेपालको संविधानको धारा २४३ (४) मा सङ्गठित संस्थाका कर्मचारीको नियुक्ति, बढुवा र विभागीय कारबाही गर्दा लोकसेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था छ । लोकसेवा आयोगले २०७४ सालमा ‘सङ्गठित संस्थाका कर्मचारीको सेवाका शर्तसम्बन्धी कानून, बढुवा र विभागीय कारबाहीसम्बन्धी सामान्य सिद्धान्त २०७४’ जारी गरेर देशका सबै प्रतिष्ठानहरूलाई नयाँ संविधानबमोजिम आ–आफ्ना नियमावली संशोधन गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत् लोकसेवा आयोगबाट पास गराई त्यसलाई सञ्चालक समिति (सिनेट) बाट पारित गराएर मात्र नियुक्ति, बढुवा र अन्य काम कारबाही गर्नुपर्ने व्यवस्था गरेको छ । देशका अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठानले नियमावली संशोधन गरिसके पनि बीपी प्रतिष्ठानले भने समयमा नियमावली संशोधन नगर्दा बढुवामा समस्या भएको हो ।
लोकसेवा आयोगले प्रतिष्ठानलाई पटक–पटक पत्राचार गरेर नियमावली संशोधन गरेर मात्र नियुक्ति तथा बढुवा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । प्रतिष्ठानले ढिलो गरी संशोधन गरेर पठाएको नियमावली स्वास्थ्य मन्त्रालयमा अड्किएको छ । मन्त्रालयबाट पास गराएर सिनेटबाट पारित गराई नियुक्ति तथा बढुवा प्रक्रिया अगाडि बढाउनु पर्नेमा सिधै आन्तरिक बढुवाका लागि प्रक्रिया सुरु गरिएको थियो । आन्तरिक बढुवा प्रक्रिया विरुद्ध अख्तियारमा मुद्दासमेत दायर भएको थियो ।
आन्दोलनरत चिकित्सकहरू भने आफ्ना मागहरू पूरा नभएसम्म काममा नफर्किने अडानमा छन् । चिकित्सक र बीपी प्रतिष्ठान प्रशासनबीच पछिल्लो समय समस्या समाधानका लागि पहल हुन सकेको छैन । चिकित्सकको आन्दोलन र प्रशासनको बेवास्ताका कारण बिरामीले उपचारका लागि सास्ती भोगिरहनुपरेको छ । यसले प्रतिष्ठानको बदनाम मात्र भएको छैन, जनविश्वाससमेत गुम्दै गएको छ ।