नेपालमा बालबालिका, प्रजनन समूहका वयस्क मानिसहरू, औषधि व्यवस्था विभागमा दर्ता नभएका आयुर्वेदिक औषधि सेवन गर्नेहरू, सरसफाइकर्मी र रङरोगनकर्मीहरूको रगतमा लेड (सिसा) को मात्रा पाँच मिलिग्राम प्रतिडेसिलिटरभन्दा बढी पाइएको छ ।
चाहिनेभन्दा बढी लेडको मात्रा भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कात्तिक १२ गते विज्ञप्ति जारी गर्दै चिन्ता जाहेर गरेको छ । मन्त्रालयले नेपालमै गरिएका विभिन्न अनुसन्धानहरूबाट पाँच मिलिग्राम प्रतिडेसिलिटरभन्दा बढी पाइनु खतराको सूचक भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा कात्तिक १२ गते जारी विज्ञप्तिमा उल्लेख छ, ‘नेपालमा भएका अनुसन्धानहरूमा बालबालिका, प्रजनन समूहका वयस्क मानिसहरू, आयुर्वेदिक सेवन गर्ने बिरामीहरू, सरसफाइकर्मीहरू एवम् रङरोगनका काम गर्ने पेन्टरहरूको रगतमा लेड (सिसा) अत्यधिक मात्रा (५ एमएल÷डीएलभन्दा बढी) मा पाइएको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’ मन्त्रालयले सिसाका स्रोतहरूमा रङरोगन (पेन्ट्स), सौन्दर्य प्रशाधनहरू (लिपिस्टिक, काजल), रङीचङ्गी खेलौनाहरू, खानेकुरा (नुडल्स), नेपाल औषधि विभागमा दर्ता नभएको आयुर्वेदिक औषधिलगायत रहेको जनाएको छ ।
प्रवक्ता बुढाथोकीका अनुसार नेपाल सरकार लेडको प्रयोगलाई निरुत्साहित गर्न प्रयासरत रहेको छ । साथै लेडको विषाक्तताबाट जोगिन सबैमा अनुरोध समेत गरिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बच्चा विभागका डा. अरुण सिंहले भने, ‘लेडले ब्रेन, किड्नी, बोनमा प्रत्यक्ष असर गर्ने साथै रक्तचाप, टाउको दुख्ने, स्नायु प्रणालीलाई असर गर्छ । त्यसै कारण शौन्दर्यप्रशाधनका सामग्रीहरूको अधिक प्रयोग नगर्नु भनिएको हो ।’ उनले गाजलमा लेडको मात्रा बढी हुने भएकाले आँखाको माध्यमबाट मस्तिष्कमा जाने र सिधा असर गर्ने बताए । ‘डाक्टरहरूले गाजल नलगाउनु भनेर भन्नुको कारण यही हो, त्यसमा लिडको मात्रा बढी हुन्छ’ उनले फोनसम्पर्कमा भने । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले लेड दीर्घकालसम्म शरीरमा सञ्चित हुने दाबी गरेको छ । जसले गर्दा स्नायु प्रणाली, रक्तकोषिका, श्वासप्रणाली, पाचन प्रणाली, मस्तिष्कघात जस्ता गम्भीर र दीर्घकालीन रोगहरूको खतरा रहने कुरा उल्लेख गरेको छ ।
नेपालमा यसअघि भएका विभिन्न अध्ययन तथा अनुसन्धानमा पनि रगतमा लेडको मात्रा चाहिनेभन्दा बढी रहेको देखिएको थियो । त्यसमा पनि बालबालिकामा सबैभन्दा बढी रहेको अध्ययन तथा निष्कर्षहरूले देखाएको छ । बच्चा विभागका डा. सिंहले भने, ‘बीपी प्रतिष्ठानमा त्यस खालको अनुसन्धान नै भएको मलाई यादमा छैन । तर नहुने भन्ने होइन ।’ सन् २०२१ मै गरेको ‘लेडको विषयबाट बचावटका लागि नवौँ अन्तर्राष्ट्रिय सचेतना सप्ताह’ मा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यशालामा ६५ प्रतिशत बालबालिकाको रगतमा पाँच माइक्रो ग्रामभन्दा बढी लेड पाइएको जनाएको थियो । त्यस्तै युनिसेफले सन् २०१५÷१६ मा गरेको एक अनुसन्धानमा पनि ६५ प्रतिशत बालबालिकाको रगतमा लेडको मात्रा भेटेको थियो । युनाइटेड इन्भाइरोमेन्ट प्रोटेक्सन एजेन्सीले रगतमा लेडको मात्रा २ दशमलव ५ मिलिग्राम प्रतिडेसिलिटरभन्दा माथि हुन नहुने मापदण्ड तोकेको छ । त्यस्तै अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन नामक सरकारी संस्थाले साढे ३ मिलिग्राम प्रतिडेसिलिटर तोकेको छ ।
मन्त्रालयकै विज्ञप्तिअनुसार ५ मिलिग्राम प्रतिडेसिलिटरभन्दा बढी हुनु चिन्ताको विषय रहेको चिकित्सकहरू बताउँछन् । काठमाडौँका केही अस्पतालमा मेघनाथ धिमाल, खेमबहादुर कार्कीसहितको १४ जना अनुसन्धाताले गरेको अध्ययनमा अन्तर्राष्ट्रिय मापदन्डभन्दा बढी रगतमा लेडको मात्रा भेटिएको निष्कर्ष निकालेको छ । उक्त अनुसन्धाताको समूहले त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र सिद्धी मेमोरियल अस्पतालमा भर्ना भएका ६ महिनादेखि तीन वर्षसम्मका तीन सय १२ जना बालबालिकामा अध्ययन गरेको थियो । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड)ले सन् २०२१ मा गरेको अध्ययनको क्रममा नेपाल गुणस्तर चिह्न लगाई ‘नो लेड’ लेखिएका रङमा समेत मापदण्डभन्दा बढी लेड भेटेको थियो । सातै प्रदेशमा गरिएको उक्त अध्ययनले देशका विभिन्न बजारबाट नमूना सङ्कलन गरेको जनाएको छ । रङमा सामान्यतः ९० पीपीएमसम्म अधिकतम लेड प्रयोग गर्न सक्ने मापदण्ड तोकेको छ ।
नेपाल सरकारले २०७१ साल पुस ७ गते राजपत्रमा नेपालमा उत्पादित एवम् आयातित प्रत्येक रङहरूमा लेडको मात्रा र व्यवसायजन्य सुरक्षाका लागि सावधानीमूलक सन्देशसहितको सूचना उल्लेख गर्नुपर्ने व्यवस्थासहितको बाध्यकारी मापदण्ड प्रकाशित गरेको थियो । नेपालमा लेडको अवस्थाबारे थुप्रै अध्ययनहरू भएको पाइएको छ । सन् २०१७ मा पनि सामुदायिक डाइग्लोस्टिक सेन्टरले काठमाडौँ र वीरगञ्जका एक सय बालबालिकालाई सहभागी गराई गरेको एक अध्ययनमा काठमाडौँमा सतप्रतिशत र वीरगञ्जमा ८० प्रतिशत बालबालिकाको रगतमा लेडको मात्रा भेटेको थियो । मन्त्रालयले विशेष गरी महिलाहरूले प्रयोग गर्ने शौन्दर्यप्रशाधनका सामग्रीहरू, नक्कली गहनाहरू, बालबालिकाका खेलौना, नेलपोलिस, फर्निचर, बनिबनाउ झ्यालढोका, रङ, सिन्दुरहरूमा पनि लेडको प्रयोग हुने भएकाले सतर्क भएर प्रयोग गर्न आग्रह गरेको छ ।
एसियामा लेडको प्रयोगको अवस्थाबारे डा. अर्नेस्टो साञ्चेन र जोर्न लर्सेनको सन् २०२३ को सेप्टेम्बर ११ मा प्रकाशित गरेको एक अध्ययन प्रतिवेदनले सात करोड ६५ लाख बालबालिकाको मतिष्कको बौद्धिक क्षमता गुमेको निष्कर्ष निकालेको छ भने सन् २०१९ मा ५५ लाख ४५ हजार बयस्कको हृदय रोगबाट मृत्यु भएको निष्कर्ष निकालेको छ । कोरिया हरित विकास ट्रस्ट र विश्व बैङ्कको प्रदूषण व्यवस्थापन तथा वातावरणीय स्वास्थ्य कार्यक्रमले आर्थिक सहयोगमा गरेका ‘विश्वको स्वास्थ्य लागत र बालबालिका तथा वयस्कमा सिसाको प्रभाव’ शीर्षकमा अध्ययन गरिएको थियो ।