झापाका विभिन्न स्थानीय तहमा हात्तीपीडित किसान हात्तीले नखाने बालीतर्फ आकर्षित भएका छन्। मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, हल्दिबारीलगायतका बस्तीमा जङ्गली हात्तीले अन्नबाली खान थालेपछि विकल्पका रुपमा नगदेबालीतर्फ किसान आकर्षित भएका हुन् ।

नगदेबालीबाट मनग्य आम्दानी हुने र हात्तीले पनि नखाने भएपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन्। हात्तीले नखाने र बजारमा महँगो मूल्यमा बिक्री हुने भएकाले अन्नबालीको साटो सुपारी,मरिच र तेजपत्ता खेती धमाधम विस्तार गरिरहेको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताएका छन् ।

“धान र मकैखेती गर्दा हात्तीले खाएर नष्ट गरिहाल्छ। बाहुनडाँगीका स्थानीयले चार दशकदेखि जङ्गली हात्तीको पिरलो भोगिरहेका छन्” उनले भने , “अब गरिखानै नपाउने अवस्था सिर्जना भएपछि किसानले हात्तीले नखाने र धेरै आम्दानी हुने नगदे बाली रोज्न थालेका हुन्।”

धान र मकैखेती मासेर मेचीनगर नगरपालिका–१, २, ३ र ४ मा सयौँ किसानले चिया, सुपारी, मरिच, तेजपत्ता र कागती गरी कम्तीमा पाँचतले खेती गरिरहेका छन् । एउटा अन्नबाली हुने खेतमा एकैपटकमा पाँचदेखि नौ बालीसम्म फल्ने भएकाले किसानलाई नगदेबालीबाटै बढी लाभ भइरहेको छ।

मेचीनगर वडा नम्बर–४ का युवराज गिरी धान खेत मासेर नगदे बाली लगाउने पुराना कृषक रहेका छन्। उनले विगत १५ वर्षदेखि तीन बिघा खेतमा चिया, सुपारी, मरिच, कागती, बेसार,अदुवा र केरा गरी साततले खेती गरिरहेको बताएका छन् ।

वार्षिकरुपमा चियाबाट३ लाख, सुपारीबाट २ लाख र मरिचबाट २ लाख नियमित आम्दानी भइरहेको जानकारी दिँदै तेजपत्ता, कागती, बेसा, अदुवा र केराखेतीको अलग्गै आम्दानी हुने गरेको गिरीले बताएका छन्। “चिया खेतको बीचबीचमा सुपारी, कागती, तेजपत्ताको बोट हुर्काएको छु”, उनले भने “मलखाद र सिँचाइ प्रयोग गर्न पनि एकैपटकमा हुन्छ। सुपारीका बोटमा मरिच लहरिएर फल्ने गरेको छ ।” 

जङ्गली हात्तीले सबैभन्दा बढी प्रभावित क्षेत्र बाहुनडाँगीमा अगुवा किसान रवि नेपालले १५ बिघामा अन्नबाली मासेर नगदेबाली लगाउने भएका छन्।उनले आफ्नो खेतीबाट उत्पादित नगदेबाली भारतसम्म निकासी गर्दै आएका छन् ।

“धान, मकै, कोदोजस्ता अन्नबाली लगाएर हाम्रा बाबुबाजेले हात्तीलाई खुवाए”, हात्तीले नखाने नगदेबालीको फाइदा बताउँदै उनले भने, “अहिले हाम्रो पुस्ताले पनि त्यही दुःख किन दोहोर्‍या भनेर मैले सुपारी, चिया, मरिच, तेजपत्तालगायतका नयाँ बाली लगाएको हुँ ।”

उनेले अन्नबाली लगाउने खेतमा अहिले बोटबिरुवासमेत गरेर ५० प्रजातिका खेतीपाती गरिरहेको बताएका छन्। नेपालका अनुसार चिया र सुपारी खेतीमा तेजपत्ताको मात्रै दुई हजार पाँच सय बोटले उत्पादन दिइरहेका छन्। बर्सेनि रू पाँच लाखको तेजपत्ता बिक्री हुने गरेको उनले जानकारी दिएका छन् ।

सुपारी, तेजपत्ता, मरिचजस्ता नगदेबालीको बजार र मूल्यमा कुनै समस्या छैन । यी बालीले महँगो मूल्य पाउने गरेका छन् । व्यापारीहरुले घरमै आएर किनेर लैजाने गरेकाले किसान नगदे बालीतिरै आकर्षित भएका हुन् ।

“तेजपत्ता बोटमै टिपेर व्यापारीले प्रति केजी १२, सुकाइएको तेजपत्ता प्रति केजी  ६० र मरिच प्रतिकेजी रू एक हजार दुई सयमा खेतबाटै बिक्री हुँदै आएको छ”, नेपालले भने,“बाहुनडाँगीका हरेक घरमा सुपारी र मरिचका बोट छन् ।” सुपारीका बोटमा आफूले बर्सेनि दुई केजी मरिच फलाउने गरेको उनले बताएका छन् ।

साविक बाहुनडाँगी गाविसका अध्यक्ष नीलकण्ठ तिवारी हात्ती प्रभावित क्षेत्रमा हात्तीले खाने र क्षति पु¥याउने अन्नबालीको साटो वैकल्पिक खेतीतिर किसानलाई प्रोत्साहित गर्ने सरकारी नीतिको खाँचो रहेको बताएका छन्। उनका अनुसार एक दशकदेखि सरकारले सुपारी जोनको अवधारणा ल्याएर व्यावसायिकरुपमा सुपारीखेतीतर्फ लाग्न हात्तीपीडित क्षेत्रका किसानलाई प्रोत्साहित गरिरहेको छ ।