कथंकदाचित कोभिड–१९
को महामारी नहुन्थ्यो भने बूढासुब्बा गोल्डकप २७ औँ वर्षमा प्रवेश गरेको
हुन्थ्यो । तर दुई वर्षको कोरोना महामारीका कारण बूढासुब्बा गोल्डकपको
लयलाई रोकिदियो । दुई वर्ष पछाडि धकेलिएकै कारणले बूढासुब्बा यस वर्ष
मात्रै रजत वर्षमा प्रवेश गरेको छ । रजत वर्षमा बूढासुब्बा केही विशेष
हुनेवाला छ या पुरानै लयमा दगुर्नेछ । यी र यस्तै विषयमा आयोजक धरान फुटबल
क्लबका अध्यक्ष प्रताप तामाङसँग ब्लाष्टका कार्यकारी सम्पादक भोजराज
श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंशः
अन्तर्राष्ट्रिय
आमन्त्रण बूढासुब्बा गोल्डकप २५ औँ वर्ष प्रवेश गरेको छ । अर्थात् रजत वर्ष
मनाउँदै छ । यो वर्ष बूढासुब्बामा फरक चाहिँ के छ ?
–२५ औँ प्रवेश
गरेको अवसरमा टिमको सहभागितामा विशेष ध्यान दिएका छौँ । बेलायतको ब्रिगेडको
गोर्खाको टिम ल्याउन खोजिएको थियो । टेक्निकल कारणले ल्याउन सकेनौँ ।
हामीले भुटानको आरटीसी टिम ल्याउँदै छौँ । यसमा भुटानका राष्ट्रिय
खेलाडीहरू आबद्ध छन् । यो चाहिँ विशेष आकर्षण हुनेछ । त्यसका साथसाथै लिग
लिडर चर्च ब्वाइज, एनआरटी, नेपाल पुलिस क्लब छ । जो चाहिँ लिगको तेस्रो
पोजिसनमा आएको थियो । इन्डियाको युकेएफसी पनि राम्रै छ । स्थानीयहरूलाई पनि
सहभागी गराउनुपर्छ भनेर साथीबाट आएको सुझावअनुसार स्थानीय टिमहरूलाई पनि
सहभागी गराएका छौँ । यसमा इटहरीको राजा क्लब छ । धेरैलाई इटहरीको टिम भन्ने
पनि हुन्छ । गोल्डकपमा आउने टिमहरू सकेसम्म राम्रै बनेर आएको हुन्छ ।
गोल्डकपका लागि भनेर पूर्ण तयारी गरेर आएको हुन्छ । यो पटक टिमको स्तरीयता
कोभन्दा को कम भन्ने किसिमको छ ।
विगतमा बूढासुब्बा गोल्डकप
आर्थिक रूपमा खालि घाटामा गयो भनिँदै आएको थियो तर गत वर्षदेखि नाफामा गएको
र तपाईंहरूले आय–व्यय पनि तत्कालै सार्वजनिक गर्नुभयो । त्यो कारणले गर्दा
पनि उत्साह जागेको हो ?
–यसले हामीलाई ऊर्जा भरेको हो । विगतमा पनि
राम्रै भएको थियो । त्यो बेला विश्वको परिस्थिति, स्थानीय परिस्थितिका
कारणले घाटामा गएको थियो । यही कारणले बूढासुब्बालाई स्थानीय प्रतियोगिताको
रूपमा दाँजेको पनि पाइन्छ । त्यसो होइन । बूढासुब्बामा आउने एउटा टिमका
लागि तीन लाख रुपैयाँ खर्च हुन्छ । त्यहीकारण यसलाई स्थानीयसँग दाँज्न
मिलेन । नाफामा जानुको पहिलो कारण त हामीले मितव्ययिता अपनायौँ । अर्को
मुख्य कुरा, विदेशलाई धेरै नै प्राथमिकतामा राख्यौँ । लामो समय ब्रेक भएको
धरान–हङ्कङ मञ्चसँग पुनः सम्बन्ध कायम गर्न सक्यौँ । यो संस्था हङ्कङको माउ
संस्था हो । उहाँहरूबाट पहिलो पुरस्कार नै सहयोग भयो । युकेसँग त राम्रै
थियो । उहाँहरूलाई हाम्रो आर्थिक अवस्था राम्रो थिएन भन्ने थाहा थियो ।
उहाँहरूले पनि दोस्रो पुरस्कार सहयोग गरिदिनुभयो । यसरी पहिलो र दोस्रो
पुरस्कार बाहिरबाटै सहयोग भयो । त्यो कारणले पनि हामी नाफामा जान सकेका
हाैँ ।
स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले आर्थिक
रूपमा बूढासुब्बालाई त्यति धेरै सहयोग नगरेको भन्ने सुनिन्छ । हजुर अध्यक्ष
हुनुहुन्छ, बाहिर सुनिएको जस्तै हो ?
–यो कुरा वास्तवमा साँचो हो
भन्नुपर्छ । किनभने बूढासुब्बा २७ वर्ष भयो । कोरोनाका कारणले २ वर्ष गर्न
सकेनौँ । यो हिसाबमा हेर्दा एउटा जन्मेको बच्चा पनि २७ वर्ष पुग्छ । यस्तो
अवस्थामा पनि स्थानीय तह, प्रदेश र सङ्घले सोधेको अवस्था छैन । दुःखलाग्दो
कुरा के छ भने स्थानीय तहले ९ लाख रुपैयाँ मात्रै दिएको छ । नौ लाख
रुपैयाँमा उपमेयर कोषबाट १ लाख रुपैयाँ थपेर १० लाख रुपैयाँ पु¥याइएको छ ।
मेयरज्यूलाई भेट्न बाँकी नै छ । उहाँहरूबाट कम्तीमा पुरस्कार रकमसम्म आयो
भने बूढासुब्बालाई राम्रो हुन्थ्यो भन्ने हो । प्रदेशबाट गतवर्ष पाउँदै
पाएनौँ । नेपाल सरकारको प्रोसेस एकदमै झन्झटिलो छ । के के कागज–पत्र
मिलाउनै नसकिने अवस्था छ । खेलकुद त मुख्य कुरा हो । विकास भनेको त
बाटोघाटो मात्रै होइन । मान्छे स्वस्थ भएन भने विकास गर्न सक्दैन नि ।
स्थानीय निकायका प्रतिनिधिहरूले खै बुझ्न सकेको ? सबैले बूढासुब्बा हाम्रो
हो भन्नुहुन्छ तर धेरै वडाले सहयोग गरेका छैनन् । गतवर्ष ८ नम्बर वडाले एक
लाख रुपैयाँ दियो । १८ नम्बर वडाले ५० हजार रुपैयाँ र १७ नम्बर वडाले त
हिजोअस्ति मात्रै ३० हजार रुपैयाँ दियो । धरानलाई चिनाएकै फुटबलले हो ।
खेलकुद पनि अन्य विकास निर्माण जस्तै हो भनेर उहाँहरूले बुझ्नु पर्छ ।
अहिले वडाले पनि कस्तो निर्णय गरेको रहेछ भने खेलकुदको लागि माग्न आयो,
दिक्क लगायो भनेर उहाँहरूले एकद्वार प्रणालीको नाममा सबै जिम्मा नगरलाई
दिएको अवस्था छ । यो त राम्रो कुरा होइन । वडाका क्लबहरूले वडामा गएर नमागे
कहाँ माग्ने त ?
बूढासुब्बाले राम्रा राम्रा काम पनि गरेको छ भनेर भन्नुभयो, त्यो काम चाहिँ के हो नि ?
–बूढासुब्बा
गोल्डकपको मुख्य कुरा के भने बूढासुब्बाले खेलकुदको माहौल सिर्जना गरेको छ
। दुई वर्षसम्म बूढासुब्बा बन्द हुँदा यहाँको खेलकुदको वातावरण नै बनेन ।
फुटबलको माहोल शून्य जस्तै भयो । अन्य कुरा त छँदै छ । बूढासुब्बाले एउटा
माहौल निर्माण गर्दो रहेछ । त्यसले एउटा खालको ‘वेब’ आउँदो रहेछ । माहौल
निर्माण गर्नु एकदमै ठूलो कुरा हो नि त ! खेलाडी उत्पादनको कुरा ।
प्रोफेसनल खेलाडी बनाउने कुरामा पनि बूढासुब्बाले भूमिका खेलेको छ ।
उदाहरणका लागि प्रत्येक शनिबार धरानमा ग्रासरुट कार्यक्रम भइरहेको छ । त्यो
त बूढासुब्बाका कारणले प्रेरित भएर आएको हो नि ! हामीले सानैदेखि खेलकुदमा
लगाउन सक्यौँ भने बालबालिकाहरू शतप्रतिशत सामाजिक विकृतितिर जाँदैनन् ।
सानैमा उनीहरूको मस्तिष्कमा खेलकुद छिर्छ । त्यहाँ पनि स्थानीय सरकारको
भिजन नै छैन । धरान उपमहानगरपालिकाबाट एकजना अर्जुन राईले मात्रै तलब पाउँछ
। अरू सबैले स्वयम्सेवकको रूपमा काम गरेका छन् । यसले कसरी खेलकुदको विकास
होला ?
विगतमा एन्फाले सेड्युलमा राख्दैनथ्यो भन्ने कुरा आउँथ्यो अहिले के छ ? अहिले कसरी काम गरिरहनुभएको छ तपाईंहरूले ?
–बूढासुब्बा
मात्रै हैन, अन्य गोल्डकपलाई पनि अहिले सेड्युल दिइरहनुभएको छ । पहिला
एकदमै समस्या थियो । खेलकुदहरू जुधाउने समस्या व्याप्त थियो । अहिले पनि २६
लाख रुपैयाँ राशिको ‘सभापति कप’ भन्ने आएको छ । त्यहाँ खेल्ने टिमहरू यहाँ
पनि खेल्छन् । जस्तोः नेपाल पुलिस क्लब र चर्च ब्वाइजको उद्घाटन खेल छ
हाम्रोमा । ती टिमहरू फाइनलमा पुगे भने उनीहरू माघ १९ गते कसरी हाम्रोमा
खेल्न सक्छन् । ‘सभापति कप’ को फाइनल माघ १६ (भोलि) छ । उहाँहरू १७ गते
हिँडेर १८ गते आइपुगेपछि यहाँ कसरी खेल्न सक्छन् ? यस्तो कुरामा कम से कम
एन्फाले सेड्युल मिलाइदिँदा राम्रो हुन्थ्यो । नयाँ आउने ‘कप’ हरूलाई
एन्फाले सेड्युल राखिदियो भने राम्रो हुन्थ्यो ।
विशेष गरेर धराने, त्यसमा पनि विश्वभर रहेका धरानेहरूलाई के भन्न चाहनुहुन्छ ?
–धरान
फुटबल क्लबको तर्फबाट धरानवासी तथा विदेशमा बस्ने धरानेहरूलाई धन्यवाद दिन
चाहन्छु । उहाँहरूको साथसहयोगले बूढासुब्बा आजको अवस्थासम्म आइपुगेको छ ।
बूढासुब्बाका लागि भनेर धरान–हङ्कङ मञ्चले अक्षयकोष नै खडा गर्ने घोषणा
गरेको छ । उहाँहरूलाई धन्यवाद नै भन्नुपर्छ र यहाँ तीतो सत्य ओकल्नै पर्ने
हुन्छ । अहिलेसम्म बूढासुब्बा सहयोगकै भरमा चलेको छ । यो कहिलेसम्म चल्छ ?
यसरी चलाएर पनि सम्भव छैन । त्यसकारण आफ्नो आर्थिक स्रोत बनाएर कार्यक्रम
चलाउनुपर्ने अवस्था आएको छ । त्यो गर्नै पनि पर्छ । अझै पनि भन्ने बित्तिकै
पैसा आउँदैन । सधैँभरि आशा गरेर पनि हुँदैन । उहाँहरूलाई सहयोग गरिदिनका
लागि अनुरोध गर्न चाहन्छु । आफ्नो खुट्टामा उभिने बनाउनका लागि सबैको
साथसहयोग रह्यो भने त्यो सम्भव पनि छ ।