पन्ध्र वर्षको बीचमा नेपाली महिला फुटबल टिमले १३ वटा फाइनल खेल्ने अवसर पायो । बुधबारको खेल पनि ती अवसरहरुमध्येकै एक हो । तर फेरि पनि नेपाली महिला टोली असफल सावित भएको छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीमात्रै नभई पुरूष फुटबलको पनि स्थिति सुधारोन्मुख मात्रै छ । आशा गर्ने अवस्था छैन । आखिर यस्तो समस्या किन बारम्बार आइरहन्छ ? समस्या कहाँ छ ? किन हाम्रा खेलाडीहरु जहिल्यै असफल हुँदै आएका छन् ? यसको सामान्य हिसाबमा उत्तर सावित्रा भण्डारी ‘साम्बा’ले बिहीबार अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा दिएकी थिइन् । उनले नेपालमा फुटबलका लागि टेक्निकल ज्ञान दिने प्रशिक्षक चाहिएको छ । हाम्रो चुक यहीँनेर त भइरहेको छैन ? यो विषयमा गम्भीर भएर हेर्नुपर्ने अवस्था आएको छ । नेपाली टिमले म्यानमारको टिमसँग २–० गोलले हार बेहोर्दे उपविजेतामा चित्त बुझाउन बाध्य भयो । यसअघिको खेलमा उच्च क्षमता प्रदर्शन गरेको थियो । तर, बुधबारको खेलमा त्यो प्रदर्शन जारी राख्न नसक्दा नेपालको फेरि एक पटक फाइनल जित्ने सपना पूरा भएन ।

नेपाली महिला टिमले अन्तर्राष्ट्रिय पिचमा पाइला राखेको ३९ वर्ष भइसकेको छ । यसबीचमा थुप्रै उपाधि होडमा पुगेर पनि हार बेहोर्दै आइरहेको छ । गतवर्षको फेब्रुअरीमा वाफ महिला च्याम्पियनसिपमा पनि उपविजेतामै सीमित भएको थियो । मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा मात्रै तीनवटा फाइनल प्रतियोगिता खेलिसकेको अवस्था छ । तीनै खेलहरु उपविजेतामा सीमित भएको थियो । नेपाली फुटबलको नियति बारम्बार दोहोरिँदै आएको छ । यसका कारणहरुको खोजी नगरीकनै अगाडि बढ्न सकिँदैन । नेपाली फुटबलमा पुरूष होस् या महिला । यी दुवै फुटबललाई सुधार गर्नका लागि प्राविधिक सुधार आवश्यक छ । नेपाली खेलाडीको कौशलमा प्रश्न उठाउने ठाउँ छैन । उनीहरुले सक्दो प्रयास गरेका छन् । तर, यसका लागि नियमित खेलहरु हुन आवश्यक छ । नियमित खेलले खेलाडीको कौशललाई मात्रै विकास गर्दैन । उनीहरु शारीरिक र मानसिक रुपमा पनि खेलका लागि तयार हुन्छन् । नेपाली फुटबलमा व्यावसायिकताको पनि औधी खाँचो छ । यसो हुन नसकेका कारणले पनि नेपाली फुटबलले सोचेजति प्रगति गर्न सकेको अवस्था छैन । 

नेपाली फुटबलमा व्यापक सुधारको खाँचो छ । यो खाँचोलाई टार्नका लागि सबैले सक्दो सहयोग गर्न आवश्यक छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जे जति काम गर्नुपर्ने हो, त्योअनुसार गर्न सकेको छैन । अहिले एन्फाले गरिरहेका कतिपय कार्यहरु आफैमा विवादित देखिन्छन् । एन्फाले वर्षमा एउटा पनि राम्रो खेलहरु खेलाउन सकेको छैन । अर्कोतिर निजी स्तरमा भइरहेका गोल्डकपहरुलाई पनि सेड्युलअनुसार गरेको छैन । यसले पनि समस्या सिर्जना भइरहेको छ । यो समस्या हुनु राम्रो कुरा होइन । खेलाडीका लागि नियमित खेलको आवश्यकता पर्दछ । नियमित खेल नभएमा उसले भनेजस्तो प्रगति गर्न सक्दैन । फुटबलमा पनि राज्यले तथा निजी स्तरले भरपूर लगानी गर्नुपर्ने अवस्था छ । न राज्यले लगानी गरेको अवस्था छ, न त निजीस्तरबाटै पर्याप्त लगानी भएको अवस्था छ । यी दुवै अवस्था नहुनु नै नेपाली फुटबलका लागि दुःखलाग्दो पक्ष हो ।