प्रसाद खाँदा यतिजना बिरामी, भोज खाँदा उतिजना बिरामी भन्ने समाचार हामीले वर्षमा एक–दुई पल्ट सुन्ने गरेका छौं । झापाको कचनकवलमा पुराणको प्रसाद खाएर १९ जना बिरामी भएको समाचार आएको छ । भगवान्को प्रसाद खान गएका गाउ“लेहरु बिरामी पर्न जानु संयोग हो कि अज्ञानता हो अथवा पकाई बनाई गर्नेको लापरबाही हो भन्ने प्रश्नले तरङ्ग पैदा गर्छ । सबैभन्दा छिटो सङ्क्रमित हुने (फुड पोइजन) खाने कुरा छुट्याउन नसक्दा यस्ता समस्याहरु देखापर्ने गरेका छन् । यी सबै समस्याको कारक भनेको स्वास्थ्य शिक्षा वा चेतनाको अभाव नै हो ।
नेपालको ग्रामीण क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाको अवस्था अझै पनि चिन्ताजनक छ । देशको करिब ७० प्रतिशत जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोबास गर्छन् तर उनीहरुले आवश्यक स्वास्थ्य शिक्षा र भनेको समयमै सेवा पाउन कठिनाइ भइरहेको अवस्था छ । अस्पताल र स्वास्थ्य चौकीहरु टाढा हुनु, चिकित्सकहरुको अभाव हुनु र आवश्यक औषधि तथा उपकरणहरु पनि उपलब्ध नहुनाले ग्रामीण जनताले सामान्य रोगहरुको उपचार पनि पाउन सकिरहेका हुँदैनन् । स्वस्थ जनसङ्ख्याको अभावमा देश विकासको परिकल्पना गर्न असम्भव हुन्छ । नेपाल सरकारले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर विभिन्न योजनाहरु सञ्चालन गरेको छ । तथापि यी योजनाहरु ग्रामीण क्षेत्रसम्म पुग्न सकेका छैनन् । स्वास्थ्य चौकीहरुमा चिकित्सकहरुको अभाव, औषधि र उपकरणहरुको कमी र पूर्वाधारको खराब अवस्थाले ग्रामीण जनताको स्वास्थ्य सुविधामा ठूलो असर पारेको छ । विशेषगरी महिला र बालबालिकाहरुले यसको ठूलो असर महसुस गरिरहेका छन् । प्रसूति सुविधा नपुगेका कारण धेरै महिलाहरुको ज्यान जाने गरेको छ भने बालबालिकाहरुमा कुपोषणको दर पनि उच्च छ ।
यस समस्याको समाधानका लागि सरकारले ग्रामीण क्षेत्रमा
स्वास्थ्य सेवा विस्तार गर्ने, चिकित्सकहरुलाई आकर्षित गर्ने र आवश्यक
सुविधाहरु उपलब्ध गराउने प्रयास गर्नुपर्छ । चिकित्सकहरुलाई ग्रामीण
क्षेत्रमा काम गर्न प्रोत्साहित गर्ने योजनाहरु बनाउनु पर्छ । साथै
स्वास्थ्य चौकीहरुमा आवश्यक औषधि र उपकरणहरु उपलब्ध गराउनु पर्छ । यसका
साथै स्थानीयस्तरमा स्वास्थ्य शिक्षा बढाउने कार्यक्रमहरु सञ्चालन
गर्नुपर्छ । यसले ग्रामीण जनतालाई स्वास्थ्यसम्बन्धी जानकारी दिनेछ र
उनीहरुले आफ्नो स्वास्थ्यको ख्याल राख्न सक्ने थिए । सरकारले निःशुल्क
स्वास्थ्य सेवा उपलब्ध गराउने योजना सुरू गरे तापनि यसको प्रभावकारी
कार्यान्वयन भइसकेको छैन । गरिब र सीमान्तकृत समुदायका व्यक्तिहरुले
स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भए तापनि यो योजना ग्रामीण क्षेत्रमा
पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । यसका लागि सरकारले ग्रामीण
क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई अझ बलियो बनाउनु पर्छ । साथै निजी
क्षेत्रलाई पनि स्वास्थ्य सेवा विस्तारमा संलग्न गराउनु पर्छ ।