विजयपुर । नयाँ वर्षसँगै पूर्वी तराईका आदिवासी समुदायले मनाउँदै आएको सिरुवा र जातिरी पर्वको सुरु भएको छ ।

झापासहित मोरङ र सुनसरीलगायत जिल्लामा बसोबास गर्ने राजवंशी, थारु, ताजपुरिया, धिमाल, माझीलगायत आदिवासी समुदायले नयाँ वर्षको सुरुवातसँगै सिरुवा पर्व विशेष उत्सवका साथ मनाउन थालेका छन् । सिरुवाका अवसरमा ती समुदायको सघन बसोबास रहेको ठाउँमा संस्कृतिमूलक पूजाआजासहित मेला लाग्दै आएको छ । ताजपुरिया समाज कल्याण परिषद्का पूर्वकेन्द्रीय अध्यक्ष नित्यानन्द ताजपुरियाका अनुसार पर्व तीन दिनसम्म मनाइने चलन रहेको छ, जसमा पहिलो दिन पानी, दोस्रो दिन हिलो र तेस्रो दिन रङ खेल्ने परम्परा रहेको छ ।

सिरुवा पर्वलाई आपसी सद्भाव, भाइचारा र प्रकृतिसँगको सम्बन्ध प्रगाढ बनाउने सांस्कृतिक उत्सवका रूपमा लिने गरिन्छ । पानी छ्यापेर पुराना दुःख–कष्ट पखाल्ने, हिलो खेल्दै रोगव्याधिबाट बच्ने कामना गर्ने तथा रङ खेल्दै नयाँ वर्षको खुशीयाली साटासाट गर्ने चलन रहेको उहाँको भनाइ छ ।

यसैबीच, नयाँ वर्ष तथा सिरुवा पर्वको अवसर पारेर झापाको कमल गाउँपालिका–६ लखनपुरको जिम्दार चोकमा लाग्दै आएको सांस्कृतिक मेलालाई यस वर्ष पनि निरन्तरता दिइएको छ । उक्त ठूलो मेला लाग्नुका साथै सामूहिक रूपमा सिरुवा मनाउने गरिएको छ । त्यहाँ वर्षौंदेखि परम्परागत सांस्कृतिक मेला लाग्दै आएको छ । मेला भर्न आदिवासी मात्र नभएर त्यस आसपासका सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

त्यसैगरी वैशाख २ गते गौरादह नगरपालिका–५ को दामुना महाराजथानमा पनि सिरुवा सांस्कृतिक मेला आयोजना गरिएको छ । दामूना महाराजथान समितिका सचिव बिक्रम ताजपुरियाका अनुसार सो मेलामा आदिवासी समुदायका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि आकर्षणका रूपमा रहने छ ।

यसैबीच, धिमाल समुदायमा मनाइने जातिरी पर्व पनि नयाँ वर्षसँगै सुरु हुन्छ । यो पर्व वैशाख महिनादेखि सुरु भई लामो समयसम्म विभिन्न स्थानमा मेला, पूजापाठ र सांस्कृतिक कार्यक्रमका साथ मनाइन्छ । जातिरीलाई समुदायको पहिचानसँग जोडिएको महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ । नयाँ वर्षसँगै सुरु हुने यी पर्वले पूर्वी तराईका बस्तीलाई सांस्कृतिक रूपमा झन् जीवन्त बनाएका छन् ।

विभिन्न स्थानमा मेला लाग्ने, सांस्कृतिक नाच प्रस्तुत गर्ने तथा परम्परागत खानेकुरा खाने÷खुवाउने गरिन्छ । यी पर्वहरूले सामाजिक सद्भाव, सांस्कृतिक पहिचान र सामुदायिक एकताको सन्देश फैलाउँदै उल्लास बढाउने सामाजिक अगुवाको विश्वास छ । नयाँ वर्षको शुभ अवसर पारेर विभिन्न नयाँ योजना, काम र नयाँनयाँ अभ्यासको थालनी गर्ने चलन पनि छ ।

करिब २२/२५ वर्षअघिसम्म नयाँ वर्षलाई विशेष महत्त्व दिँदै शुभकामना कार्डका रूपमा रङ्गीन तस्बिर अङ्कित पोस्टकार्डमा युवायुवती र बालबालिका माया, प्रेम र सद्भाव, शुभेच्छा प्रकट गर्दै साथीलाई बाँड्ने गर्थे । तर, हिजोआज प्रविधिको विकाससँगै परम्परागत चलन विस्तारै हराउँदै गएको कमल–५ स्थित मङ्गलमय माविका नेपाली भाषाका शिक्षक ओम प्रकाश गौतमले बताए ।

उनका अनुसार स्कूल–कलेजमा यो अभ्यास विशेष रूपमा हुने गर्थ्यो । अहिले डिजिटल युग सुरु भएसँगै त्यस्ता शुभकामना सन्देश हात हातमा रहेका मोबाइल, ल्यापटप तथा कम्प्युटरमा नयाँनयाँ डिजाइनमा देख्न सकिन्छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा पोस्ट गर्दै शुभकामना अभिव्यक्त गर्ने अभ्यास हुँदै गएपछि नयाँ वर्षको उत्साहमा फरकपन आएको छ । रासस