विराटनगर । मोरङको कटहरीका ग्रामीण बस्तीहरूमा नेवारी धुन सुन्न कुनै विशेष जात्रा कुर्नुपर्ने अवस्था थियो । तर, अचेल परिदृश्य फेरिएको छ । झ्याम्टाको झन्झनाहट र धिमेको ‘ढ्याङ–ढ्याङ’ सँगै जब लाखेको मुकुण्डो लगाएर तन्नेरीहरू नाच्न थाल्छन्, कटहरीका ग्रामीण सडकहरूमा रौनक बेग्लै हुन्छ ।
यो रौनक फर्काउने सारथि हुन्, १४ वर्षीया आशिका श्रेष्ठदेखि २५ वर्षका आशिष श्रेष्ठसम्मका तन्नेरीहरू । पश्चिमा संस्कृतिको बढ्दो प्रभावका कारण आफ्नो मौलिक पहिचान हराउँदै गएको चिन्ताले यी युवाहरूलाई अचेल कापी र कलमभन्दा बढी धिमेको ताल र लाखेको चालमा सक्रिय बनाएको छ ।
स्कुलको समयबाहेक आशिका अचेल काँधमा धिमे बाजा भिरेर नेवारी लयमा रम्न थालेकी छन् । “पहिले नेवार भएर पनि आफ्नो समुदायको बाजा बजाउन नआउँदा मन खिन्न हुन्थ्यो” उनी भन्छिन्, “अहिले प्रशिक्षण लिएपछि आफैले बजाउन पाउँदा छुट्टै आनन्द आउँछ । टेलिभिजनमा मात्र देखेको लाखे नाच र धिमे बाजा अहिले हाम्रो आफ्नै दैनिकी बनेको छ ।”
तन्नेरीको काँधमा पुर्खाको विरासत
आशिका मात्र होइन, कटहरीको यो टोलीमा १९ वर्षीया रितु श्रेष्ठ, २५ वर्षका आशिष श्रेष्ठ र २० वर्षका एन्जल तुलाधरको सक्रियता लोभलाग्दो छ । उनीहरूले ‘नेवा देय देबु’ कटहरी गठन गरेर नेवारी भाषा र संस्कृतिको संरक्षणमा आफूलाई होमेका छन् ।
विशेषगरी नेवार समुदायमा शोकबाहेकका सबै शुभकार्यमा धिमे बजाइन्छ । तर, उपत्यकाबाहिर यो कला विस्तारै लोप हुने अवस्थामा पुगेको थियो । “हामीले चासो नदेखाएको भए हाम्रो पहिचान नै मेटिने खतरा थियो” समितिका अध्यक्ष लक्ष्मी राजभण्डारी भन्छन्, “त्यसैले अहिले २० भन्दा बढी युवाहरूलाई प्रशिक्षण दिएर तयार पारेका छौँ । अब कतै पनि सांस्कृतिक कार्यक्रम हुनेबित्तिकै हाम्रो धिमे र लाखेको टोली पुगिहाल्छ ।”
यो अभियानको अर्को सुन्दर पाटो भनेको लैङ्गिक विभेदको अन्त्य पनि हो । कुनै समय पुरुषले मात्र बजाउनुपर्छ भन्ने मान्यता रहेको धिमे अचेल आशिका र रितु जस्ता युवतीहरूले गर्वका साथ काँधमा भिर्ने गरेका छन् । आशिष श्रेष्ठ भन्छन्, “आफ्नो समुदायको पौराणिक बाजा बजाउन सिक्दा निकै गर्व लाग्छ ।”
पालिकाको अभिभावकत्व
स्थानीय युवाहरूको यो हुट्हुटीलाई कटहरी गाउँपालिकाले पनि साथ दिएको छ । गाउँपालिकाले हालै नेवा देय देबुलाई झ्याम्टा, लाखेको पोसाक, मादल र अन्य सांस्कृतिक सामग्रीहरू प्रदान गरेको छ ।
गाउँपालिका अध्यक्ष देवराज चौधरी पालिकाभित्रका हरेक समुदायको पहिचान जोगाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँछन् । “संस्कृति जोगिए मात्र हाम्रो मौलिक पहिचान कायम रहन्छ” उनले भने, “हामीले नेवार समुदायका लागि आवश्यक सामग्री सहयोग गरेका छौँ, यसले उनीहरूको हौसला अझ बढाएको छ ।”
कटहरी गाउँपालिका–१ का वडाध्यक्ष हरिनारायण राजवंशीका अनुसार पुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुनु मोरङको ग्रामीणक्षेत्रका लागि एउटा उदाहरणीय सांस्कृतिक कडी हो । “अचेल कटहरीका तन्नेरीहरू धिमेको तालमा मात्र झुमेका छैनन्, उनीहरूले एउटा सिङ्गो इतिहासलाई पनि आफ्नो काँधमा बोकेर हिँडेका छन्”–उनले भने ।