कोशीटप्पु (सुनसरी) । असारको पहिलो साता । बाहिर सिमसिम पानी परिरहेको थियो । सुनसरी रामधुनी–१ झुम्काका किरण सुनुवार आफ्नो चार जनाको परिवार लिएर कोशी टप्पु वन्यजन्तु आरक्ष पुगेका थिए । आरक्षको हरियाली र खुला आकाशमुनि चराचुरुङ्गीको चिरबिर आवाजले सुनुवार परिवारलाई बेग्लै आनन्द दिइरहेको थियो ।

किरणकी श्रीमती हरिमाया, छोरीहरू प्रश्ना र प्रेरणा हात्ती, गैंडा र चराहरू आफ्नै आँखाअगाडि देख्न पाउँदा निकै उत्साहित देखिन्थे । चार सय रुपैयाँ प्रवेश शुल्क तिरेर आरक्ष छिरेका उनीहरूले अर्ना र चराहरूलाई नजिकैबाट नियाल्न पाए । “लामो समयदेखि कोशी टप्पु आउने धोको थियो, यहाँ आइपुग्दा निकै रमाइलो लाग्यो” किरणले अनुभव सुनाए, “चराचुरुङ्गी र अर्नाको झुण्ड देख्दा मनै फुरुङ्ग हुने रहेछ ।”

त्यसो त विराटनगर–११ पिचराबाट आएकी मैया खड्काको परिवार पनि असार ९ गते कोशी टप्पुमै रमाइरहेको भेटियो । दिनभर वन्यजन्तु अवलोकन गरेपछि उनीहरू उत्तरतिर रहेको होम–स्टेमा बास बसे । “हात्ती सफारीलाई अझ व्यवस्थित बनाउनसके यहाँ पर्यटकको ताँती लाग्ने थियो” मैयाले भनिन्, “राज्यले यस्तो सुन्दर ठाउँको विकासमा अझै ध्यान दिनुपर्छ ।” कोभिडपछि हात्ती सफारी यहाँ बन्द गरिएको छ । “आन्तरीक र वाह्य पर्यटकहरूको लागि हात्ती सफारी पनि एउटा राम्रो माध्यम हुन सक्दछ । कोशी टप्पु वन्यजन्तु आरक्षले हात्ती सफारी गराउनेतर्फ ध्यान दिनुप¥यो” उनले भनिन्, “पर्यटकका लागि दुःखको कुरा, यहाँ जिप सफारीको सुविधा छैन । जिप सफारी नभएका कारण घुम्नका लागि धेरै गाह्रो छ । जसका कारण पनि पर्यटकको आकर्षण चितवनमा जस्तो कोशी टप्पुमा हुन सकिरहेको छैन ।”

किरण र  मैयाका परिवारजस्तै अहिले कोशी टप्पुमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कुनै समय विदेशी अनुसन्धानकर्ताको मात्र रोजाइमा पर्ने यो आरक्ष अचेल आन्तरिक र  वाह्य पर्यटकहरूको प्रमुख गन्तव्य बन्दैछ ।

कोशी टप्पुमा पर्यटकको बढ्दो ग्राफ

चरा र अर्नाका लागि विश्वकै चर्चित कोशी टप्पुमा पछिल्लो समय पर्यटकको सङ्ख्या लोभलाग्दो गरी बढेको छ । आरक्ष कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल ११ हजार ६ सय ३ पर्यटकले आरक्षको भ्रमण गरेका छन् । तीमध्ये ५ हजार ९ सय २४ महिला र ५ हजार ६ सय ७९ पुरुष छन् ।

तथ्याङ्कलाई केलाउँदा आरक्ष घुम्नेमा ९५ प्रतिशतभन्दा बढी आन्तरिक पर्यटक छन् । ११ हजार २ सय १४ नेपाली पर्यटकले आरक्ष भ्रमण गर्दा सार्क राष्ट्रका ८७ जना र अन्य मुलुकका ३ सय २ विदेशी पर्यटक यहाँ पुगेका छन् । आरक्षका संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार पर्यटकको आगमनबाट आरक्षले २५ लाख १९ हजार १ सय ६६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

विगतका तुलनामा चालु आर्थिक वर्षमा आरक्षमा आन्तरिक तथा वाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको हो । गत साउनदेखि चैत मसान्तसम्म आठ हजार ४ सय १५ जना आन्तरिक, ६६ जना सार्क मुलुक र अन्य विदेशी नागरिक २ सय १० पर्यटकले आरक्षको भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत यादवले जानकारी दिए । हिउँदको सुरुवातदेखि पर्यटकको सङ्ख्या वृद्धि भएको उनले बताए ।

आरक्षमा नेपालमा मात्र पाइने दुर्लभ अर्ना, भर्खरै हुर्कंदै गरेका गैँडा र साइबेरियालगायतका देशबाट आउने पाहुना चरा हेर्न तथा अवलोकन गर्न पर्यटक आउने गरेको आरक्ष प्रशासनले जनाएको छ । “पुस, फागुन र चैत महिनामा पर्यटकको सङ्ख्या सबैभन्दा बढी देखियो” यादव भन्छन्, “पुसमा मात्रै १ हजार ४ सय ५७ जना आएका थिए भने फागुन र चैतमा यो सङ्ख्या १ हजार ६ सय नाघेको थियो ।” हिउँदमा साइबेरियादेखि आउने पाहुना चराहरूले गर्दा पनि यो समयमा पर्यटकको आकर्षण बढी हुने गर्दछ ।

पन्छीको घर कोशी टप्पु
कोशी टप्पु बर्ड वाचिङ (चरा अवलोकन) मा रुचि राख्ने पर्यटकका लागि सबैभन्दा आकर्षक गन्तव्य हो । साइबेरिया, रुस, ताजकिस्तान, तान्जानियालगायत देशबाट हजारौं किलोमिटर पार गरेर जाडो छल्न आउने पन्छीका लागि कोशी टप्पु दोस्रो घर हो । स्थानीयका अनुसार बर्ड वाचिङमा रुचि राख्ने पर्यटक कम हुन्छन् । तर, जो आउँछन्, उनीहरू लामो समय लिएर आएका हुन्छन् । चराको गतिविधि हेरेर घण्टौं बिताउने पर्यटकसमेत यहाँ आउने गर्छन् । यो आरक्ष जैविक विविधताको खानी हो । २० किसिमका वन्यजन्तु पाइने यहाँ हरिण, निलगाई, बँदेल, अजिङ्गर र  गोहीका साथै नदीमा डल्फिनसमेत देख्न पाइन्छ । तर, यसको मुख्य पहिचान भनेकै चरा हो ।

कोशी पक्षी समाजका अध्यक्ष एवम् चराबारे जानकार चक्र तिम्सिनाका अनुसार नेपालमा पाइने ९ सय ३ प्रजातिका चरामध्ये ५ सय ३८ प्रजाति कोशी टप्पुमै भेटिन्छन् । “विश्वमै दुर्लभ मानिने ‘स्वाम्प फ्रान्कोलिन’ र अन्य ५ सय ३८ प्रजातिका चरा हेर्न अन्तर्राष्ट्रियस्तरका चराप्रेमीहरू यहाँ आउँछन्” तिम्सिना भन्छन्, “तर, चरा र सिमसारको संरक्षणमा राज्यको लगानी भने निकै कम छ ।”

चराहरूको गणना वर्षमा एक पटक हुने गर्दछ । तर, सिमसार क्षेत्र सुक्दै जानु र मानवीय हस्तक्षेप बढ्नु संरक्षणका चुनौती हुन् । तिम्सिना भन्छन्, “तीन तहकै सरकार चरा र वन्यजन्तु संरक्षणमा अलि उदासिन देखिएका छन् । चराको संरक्षित क्षेत्र तोक्ने र बासस्थान जोगाउने काममा लगानी बढाउनु पर्छ ।”
कोशी टप्पु मात्र होइन, नजिकै रहेको बर्जु ताल पनि चराको राम्रो सम्भावना बोकेको क्षेत्र हो । यी दुवै क्षेत्रलाई जोडेर पर्यटकीय ‘सर्किट’ बनाउनसके कोशी प्रदेशको कोशी टप्पु र यहाँको पर्यटकीय गन्तव्यको रूपमा आन्तरिक र वाह्य पर्यटक थप ल्याउन सकिने उनले बताए । “त्यसको लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले वन्यजन्तुको बासस्थान जोगाउनको लागि लगानी गर्नुप¥यो”–उनले भने ।

अर्नाको राजधानी कोशी टप्पु 
वि.सं. २०३२ मा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको केही भागमा फैलिएको छ । सप्तकोशी नदीले बनाएको टापु र सिमसार क्षेत्र वन्यजन्तुका लागि स्वर्ग मानिन्छ । नेपालमा रैथाने अर्ना (जङ्गली भैँसी) पाइने यो एकमात्र संरक्षित क्षेत्र हो । त्यसैले कोशी टप्पु ‘अर्नाको राजधानी’ मानिन्छ ।

अर्ना मात्र होइन, यहाँ हुर्कंदै गरेका गैँडाहरू पनि पर्यटकका लागि मुख्य आकर्षण बनेका छन् । तर, जब जङ्गल सफारी सुरु हुन्छ, यहाँ हात्तीका बथानबाट यात्रुले न्यायो स्वागत पाउँछन् । कोशी टप्पुमा घरपालुवा र जङ्गली दुवै प्रकृतिका हात्ती छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष सप्तकोशी नदीले बनाएको टापुमा अवस्थित छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यो आरक्ष स्थापना गर्नुको मुख्य उद्देश्य विश्वमै अति दुर्लभ मानिने अर्ना (जङ्गली भैँसी) संरक्षण गरी सङ्ख्या बढाउनु हो । आरक्षका सिनियर गेमस्काउट बानियाँका अनुसार यहाँ विभिन्न स्थानमा अर्ना अवलोकन गर्न सकिने गरी ‘भ्यु प्वाइन्ट’ बनाइएको छ । कुनै समय आगन्तुकसँग सडकमै पनि अर्नाको जम्काभेट हुन सक्छ ।

अर्ना गणना २०७८ अनुसार यहाँ ४ सय ९८ अर्ना रहेको यकिन भएको छ । जसमा २ सय २१ भाले वयस्क, १ सय ६२ पोथी वयस्क, ४८ अर्धवयस्क, दुई वर्षका बच्चा ३५ र एक वर्षका बच्चा ३२ थिए । उपयुक्त बासस्थान, घाँसे मैदान, पर्याप्त पानीको सुविधा र सिमसार क्षेत्रका कारण कोशी टप्पु अर्नाका लागि वरदान सावित भएको छ ।

विराटनगर डिग्री क्याम्पस प्राणीशास्त्रका उपप्रध्यापक  डा. रामचन्द्र अधिकारीले कोशी प्रदेश वन्यजन्तु पर्यटनको दृष्टिकोणले अत्यन्तै धनी रहेको बताए । ‘‘ यहाँ कुन–कुन क्षेत्रमा कस्ता विशिष्ट विशेषता भएका वन्यजन्तु छन् भन्नेबारे अझै यथेष्ट अध्ययन हुन सकेको छैन । सरकारले पहिला यहाँका दुर्लभ वन्यजन्तुको पहिचान र अनुसन्धानमा लगानी गर्नुपर्छ, जसले गर्दा विश्वभरका पर्यटकलाई आकर्षण गर्न सकिनेछ” उनी भन्छन्, “नेपालमा अन्यत्र कतै नपाइने ‘अर्ना’ कोशी टप्पुमा मात्र पाइन्छ । यी विशिष्ट वन्यजन्तुहरू नै कोशी प्रदेशको पर्यटनका मुख्य आधार हुन् । सरकारले यसतर्फ ध्यान दिनुपर्दछ ।”

भारतीय पर्यटकको सम्भावना
भारतीय पर्यटक सहजीकरणका लागि अहिले प्रदेश सरकारले नेपाल–भारत सीमा क्षेत्र कोशी गाउँपालिका–८ भन्टाबारीबाट प्रवेश सुविधा मिलाएको छ । सोही अनुसार भारतीय पर्यटकका गाडीलाई स्टिकरसमेत दिने गरिन्छ । कोशी प्रदेश सरकारले पछिल्लो समय भारतीय पर्यटकलाई आकर्षित गर्न भण्टाबारी सीमा क्षेत्रमा स्टिकर अभियान सुरु गरेको हो । तर, पूर्वाधार र प्रचारको अभाव अझै खट्किएको छ । पर्यटन व्यवसायी पुण्य भट्टराई कोशी टप्पुलाई ‘वन्यजन्तु पर्यटन’ को हब बनाउन सकिने ठूलो सम्भावना देख्छन् ।
“हाम्रो छिमेकी भारतीय राज्य बिहारमा ठूला जङ्गल र निकुञ्ज छैनन् । त्यसैले बिहारका पर्यटकका लागि कोशी टप्पु सबैभन्दा नजिकको र उत्कृष्ट गन्तव्य हो” भट्टराई भन्छन्, “हामीले चरा र अर्नालाई ब्रान्डिङ गरेर लैजान सक्नुपर्छ । तर, विडम्बना के छ भने हामीले यस्तो दुर्लभ सम्पदाको बजारीकरण गर्नै सकेनौँ ।”

भट्टराईका अनुसार सरकारले पर्यटनका लागि विनियोजन गर्ने बजेट ‘लाजमर्दो’ छ । “बजेटको अङ्क हेर्दा पर्यटन विकासमा सरकारको रुचि शून्य जस्तै देखिन्छ” उनी थप्छन्, “कोशी टप्पुमा अब चरा हेर्ने मात्र होइन, व्यवस्थित जङ्गल सफारी, डुङ्गा सयर र पैदल यात्राका गतिविधि थप्नुपर्छ ।”
कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुलीले भारतीय पर्यटकहरूलाई लक्षित गरी ‘कोशी–बिहार’ र ‘कोशी–बङ्गाल’ जस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको बताए । यसले सीमावर्ती भारतीय क्षेत्रका पर्यटकहरूमा सकारात्मक सन्देश पुगेको उनले बताए । सङ्घीय सरकारसँगको समन्वयमा सूचना केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ । साथै, पर्यटन बोर्डको कार्यालय स्थापनाका लागि पनि पहल भइरहेको र सङ्घीय सरकारबाट प्रतिबद्धता प्राप्त भएको मन्त्री पराजुलीले बताए । 

कसरी पुग्ने कोशी टप्पु ?
विराटनगरबाट करिब ५० कि.मी. उत्तर–पश्चिम र धरानबाट करिब ४० किलोमिटर पश्चिम– दक्षिणमा अवस्थित कोशी टप्पुसम्म पुग्न यातायातका साधन सजिलै पाइन्छ । पूर्व–पश्चिम राजमार्गको लौकही नजिकैको जमुनाहबाट दुई कि.मी. उत्तरतर्फ लागेपछि कोशी टप्पु आरक्षित क्षेत्र पुगिन्छ । कोशी टप्पु पुग्न इटहरी र इनरुवा बीचमा पर्ने झुम्का तथा धरानबाट चतरा भएर पनि जान सकिन्छ ।

यहाँ पुगेपछि आरक्षले नेपालीका लागि प्रतिव्यक्ति १ सय रुपैयाँ, सार्क मुलुकका लागि ७ सय ५० र अन्य विदेशीका लागि १ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क तोकेको छ । सवारी साधन लिएर छिर्न प्रतिदिन ३ सय रुपैयाँ लाग्छ । ठूला सवारी साधनलाई भने आरक्षले प्रवेश दिँदैन । मोटरसाइकल लिएर जाँदा पनि हर्न पूर्णरूपमा निषेध गरिएको छ ।

आरक्षित क्षेत्र पुगेपछि ठाउँ–ठाउँमा राखिएका भ्यूटावरमा चढेर विभिन्न प्रकारका जङ्गली जनावर तथा हरियाली वातावरण, कोशीको सिमसार क्षेत्रलगायत अवलोकन गर्न सकिन्छ । आरक्ष क्षेत्र सुनसरी, सप्तरी र उदयपुरमा गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । यो क्षेत्र सन् १९८७ मा रामसार सूचीमा सूचीकृत भएको हो । यो नेपालकै पहिलो रामसार क्षेत्र पनि हो । यस्तो क्षेत्रमा पर्याप्त पोखरी, तलाउ, ताल, धाप, कुण्डसहित जलाशय हुन्छन् । जसले गर्दा कोशी टप्पु घडियाल तथा मगर गोही, सर्प, कछुवा, गँगटा र विभिन्न प्रजातिका माछाको समेत घर हो ।