अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया ।
चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरवे नमः ।।
अन्धकारबाट हटाएर ज्ञानरूपी संसार खोलिदिने गुरुहरूप्रति शिरसा नमस्कार छ । म संस्कृत पढ्ने छात्र भए पनि एम. ए. प्रथम वर्ष पढ्दासम्म यो श्लोक सुनेकै थिएन । यसले सरल ढङ्गले गुरुको गरिमा र महŒवलाई वर्णन गरेको छ । २०६४÷०६५ सालतिर हुनुपर्छ चिन्तक, सहज र सरल व्यक्तित्वका धनी स्वर्गीय राजेन्द्र सुवेदी गुरुले सेतो पाटीमा लेखेर गुरु पूर्णिमाका साथै व्यास जयन्ती र गुरु–शिष्य परम्परामाथि लामै व्याख्यान दिनुभएको थियो । गुरु पूर्णिमाभन्दा पनि व्यास जयन्ती, व्यास जयन्ती कसरी गुरु पूर्णिमामा रूपान्तरण भयो भनेर सारगर्भित मन्तव्य दिँदै कक्षा सुरुवात गरेको आँखैअगाडि झल्किन्छ । सुवेदी सरको कक्षा अरूका तुलनामा बेग्लै आकर्षणले भरिएको हुन्थ्यो । उहाँप्रति श्रद्धासुमनपूर्वक यस आलेखलाई सुरुवात गर्दै छु ।
गुरु पूर्णिमालाई व्यास जयन्तीका रूपमा पनि मनाउने प्रचलन छ । खासमा व्यास जयन्ती नै गुरु पूर्णिमाका रूपमा कालान्तरमा स्थापित भएको हुनसक्छ । कतिपय लौकिक परम्परालाई यही हो र यसरी नै सुरु भएको हो भनेर किटान गर्न सकिँदैन । गुरु पूर्णिमा विशुद्ध हिन्दु सभ्यतासँग नजिक देखिन्छ । यहाँ मेरो नितान्त निजी विचार राख्दै छु । ‘हिन्दु’ शब्द म सभ्यता विशेषसँग नजिक रहेको मान्छु । प्राचीन संस्कृत वाङ्मयमा ‘हिन्दु’ शब्दको प्रयोग भेटिँदैन । सिन्धु नदीबाट सुरुवात भएको सभ्यता नै कालान्तरमा ‘हिन्दु’ बन्न गएको हो र यो कहिलेदेखि धर्मविशेषको पर्याय भयो मेरो अध्ययनभन्दा बाहिरको विषय रह्यो । हिन्दु सभ्यताभित्र अनेक विचारधाराहरू देख्न पाइन्छन् ।
त्यस्तै विचारधारामध्ये वेद निशृत विचारधारा वैदिक सनातन संस्कृति पनि हिन्दु सभ्यताभित्रै पर्न गयो । वेद व्यक्ति विशेषको लेखनी हो अथवा अपौरुषेय हो । यस विषयमा प्रशस्त मतभिन्नताहरू रहेको पाइन्छ । यो लेख्नुको कारण व्यास जयन्ती वेदको विभाजनसँग सम्बन्धित छ । मूल वेद एकै रहेकामा प्रत्येक चतुर्युगमा हुने व्यासले वेद विभाजन गरेको मानिन्छ । वेद विभाजन प्रतिपाद्य विषय र भाषाशैलीका आधारमा गरिएको प्रमाण अधिक पाइन्छ । वेद विभाजक व्यास मानिन्छन् । यद्यपि पौराणिक साहित्यमा व्यास व्यक्तिविशेष नभएको र प्रत्येक मन्वन्तरमा फरक फरक व्यास हुने तथ्य विष्णुपुराणमा वर्णित छ ।
विष्णुपुराण अठार पुराणमध्ये प्रमुख हो । पुराणको परिचय यस प्रकार पाइन्छ ः
सर्गश्च प्रतिसर्गश्च वंशो मन्वन्तराणि च ।
वंशानुचरितं चेति पुराणं पञ्चलक्षणम् ।
अर्थात्
ब्रह्माण्ड र सृष्टि प्रक्रिया, प्रतिसर्ग महाप्रलय र पुनः सृष्टि सुरुवात, वंश, महान् ऋषि र देवताहरूको वंश वर्णन, मन्वन्तर चौध मनुहरूको वर्णन, वंशानुचरित विशेषगरी चौध सूर्य र चन्द्रवंशको वर्णन यी पाँच विशेषतायुक्त कृति विशेष पुराण हुन् । पुराण अठार र यतिकै सङ्ख्यामा उपपुराणहरू रहेका छन् । पुराण र उपपुराणको विभाजक रेखा त्यति सबल पाइँदैन । प्रतिपाद्य विषयवस्तुका आधारमा यिनलाई वर्गीकरण गरेको पाइन्छ । अब व्यास पदवी हो भन्ने विषयवस्तुमा केही प्रमाण उपस्थापित गर्ने जमर्को गर्दै छु । विष्णुपुराणको तृतीयांशको तेस्रो अध्यायमा अनेक शाखा भएको वैदिक वाङ्मयको विभाजन गर्न फरक फरक व्यक्ति प्रत्येक द्वापर युगमा व्यास बन्ने विषयलाई वर्णन गरिएको पाइन्छ ।
वैदिक सनातन संस्कृतिमा सत्य, त्रेता, द्वापर र कलियुग गरी चार युगको वर्णन पाइनुका साथै कलियुगपछि महाप्रलय हुने र पुनः सत्ययुगको सुरुवात हुन्छ भनिन्छ । यसरी पुनः सत्य, त्रेता र द्वापरयुग आएपछि व्यास बन्ने परम्परा रहन्छ । यस समयका व्यासलाई कृष्णद्वैपायन भनिन्छ । उनी सत्यवती र पराशरका पुत्र हुन् । अब आउने युगमा गुरु द्रोणका छोरा अश्वत्थामा द्रोणिव्र्यासो भविष्यति अर्थात् द्रोणपुत्र अश्वत्थामा व्यास बन्ने छन् भनेको भेटिन्छ । सत्यवती राजा शान्तनुकी श्रीमती हुनुका साथै महाभारतमा वर्णित भीष्मकी सैतेली आमा हुन् । शान्तनुसँग विवाह पूर्व नै सत्यवती र ऋषि पराशरबाट कृष्ण द्वैपायन व्यासको जन्म भएको कथा पाइन्छ ।
सत्यवती गुण, रूपले सम्पन्न कुनै गन्धर्वकी छोरी भए पनि नदीमा नाउ खियाएर जीवन निर्वाह गर्ने दासराजको घरमा हुर्किएकी थिइन् । पिता नभएका समयमा नाउ खियाएर यात्रीलाई नदी तार्ने काम सत्यवतीले पनि गर्थिन् । यस्तो कार्य लौकिक जीवनमा पनि देख्न सकिन्छ । परम्परित ज्ञान, सीप र प्रविधि पुस्तान्तर स्वभाविक रूपमा हुने गर्दछ । यसका लागि विशेष सिकाइको आवश्यकता पर्दैन । सत्यवतीले नाउ खियाएर तार्ने कला र सीप पिताबाट सहजरूपमा सिकेको हुनुपर्छ । कुनै एक दिन पराशर ऋषिलाई गङ्गा नदी पार गराउँदै गर्दा सत्यवतीको सुन्दरताले आकर्षित भएर हुनसक्छ तर महाभारतमा उल्लेख भएको प्रसङ्गअनुसार त्यो समय दिव्य ज्योतिषीय योगको थियो । त्यो समयमा जन्मेको सन्तान दिव्यगुणले सम्पन्न मनीषी बन्ने निश्चित हुन्छ भन्ने प्रसङ्ग आउँछ । यस्तै कारणले गर्दा पराशर ऋषि र सत्यवतीको समागमबाट कृष्ण द्वैपायन व्यासको जन्म हुन्छ । द्वीपमा जन्मेकाले द्वैपायन र हल्का कालो वर्णका भएकाले कृष्ण नाम रहन गएको मानिन्छ ।
अन्य यस विषयको सत्य खोज, अनुसन्धानको विषय हो । अब सत्यवती र पराशरबीचको सम्बन्ध शारीरिक थियो अथवा अरू नै यस विषयमा स्पष्टसँग भन्न सकिने अवस्था छैन । महाभारतमा यसलाई नियोग विधि भनेर उल्लेख गरेको भेटिन्छ । यस्ता विषय संवेदनशील हुन्छन् र अझ धर्मसँग जोडिएका विषयमा लेख्दा सावधानी र सचेतता आवश्यक हुन्छ । धर्मले सकारात्मक चिन्तनतर्फ अग्रसर गराउनु पर्नेमा वर्तमानमा यो अतिवादको विषय बन्दै गएको छ । जातीय र धार्मिक द्वन्द्वले विश्वका कतिपय देशलाई अन्तहीन द्वन्द्वको भूमरीमा पारेको पाइन्छ । त्यसैले सत्यवती र पराशरको सम्बन्धमा धेरै उल्लेख नगरी अगाडि बढ्न चाहेँ । पराशर ऋषिले सत्यवतीलाई अक्षतयोनि रहने आशीर्वाद दिँदै आफ्नो गन्तव्यतिर लाग्छन् । अक्षतयोनिको तात्पर्य कुमारीत्व नगुमाएकै रूपमा रहने आशीर्वादका रूपमा बुझ्नुपर्छ । तत्काल व्यासको जन्म हुन्छ र उनी दिव्य पुरुष भएकाले जन्मनासाथ तपश्चर्याका लागि जान्छन् । यिनै सत्यवतीलाई पछि शान्तनुले विवाह गर्छन् । सत्यवतीबाट व्यासको जन्म भएको विषय सायद शान्तनुलाई थाहा थिएन । अथवा अतिशय सुन्दरताका कारण शान्तनु मोहित थिए र यस विषयमा ध्यान नदिएका पनि हुनसक्छन् । व्यासले हिँड्ने बेलामा आमालाई तपाईंले स्मरण गरेका समयमा उपस्थित हुनेछु भनेर वचनबद्धता प्रकट गरेका छन् ।
व्यास तपश्चर्या र ज्ञानमीमांसाको साधनामा लाग्छन् । उनी सबै खालका विद्यामा पारङ्गत हुन्छन् । अनेक ऋषिमहर्षिहरूलाई ज्ञान प्रदान गर्छन् । यस्ता ऋषिमा सूतजी महाराज पनि एक थिए । वेदव्यासबाट ज्ञान प्राप्तिपछि नैमिषारण्य क्षेत्रमा अठासी हजार ऋषिहरूका साथ दिनहुँ ज्ञानका अनेक विधामा सूतजीले प्रकल्प चलाउँछन् । जहाँ ज्ञानयज्ञ हुन्छ, त्यसलाई विश्वविद्यालय मान्नु पर्दछ । नैमिषारण्य क्षेत्र त्यस समयको एक विशाल विश्वविद्यालय थियो । यद्यपि पुराणहरूमा सूत, शौनक संवादका रूपमा ज्ञानमन्थन भएको पाइए पनि विश्वविद्यालयको नाम नै चाहिँ उल्लेख पाइँदैन । सूतजीलाई कुलपति पनि भन्ने गरिन्थ्यो । अठासी हजारको खानपान र बासको प्रबन्ध गर्न सक्ने मानिस कुलपति हुँदो रहेछ । यहीँबाट विश्वविद्यालयका प्रमुखलाई कुलपति भन्ने परम्परा चलेको हो सायद । भारतीय विश्वविद्यालयमा कुलपति नै विश्वविद्यालयको कार्यकारी हुन्छ ।
‘गुरु’ शब्दको निर्माण यसरी भएको देखिन्छः
गरति सिञ्चति ज्ञानम् अर्थात् ज्ञान दिन्छन् भन्ने अर्थमा गुरु शब्दको निर्माण हुन्छ । धर्मादिको उपदेशक, देव–मनुष्य आदिबाट स्तुति गरिने अनेक अर्थका रूपमा ‘गुरु’ शब्दको प्रयोग भएको पाइन्छ । गुरुलाई अद्वयतारक उपनिषद्ले यसरी बुझाएको छः
गुशब्दस्त्वन्धकारः स्यात् रुशब्दतन्निरोधकः ।
अन्धकारनिरोनित्वात् गुरुरित्यभिधीयते ।।
गुरुरेव परम् ब्रह्म गुरुरेव परा गति ः
गुरुरेव परा निद्या गुरुरेव परायणम् ।।
अर्थात् गुरुमा निःस्वार्थ भाव हुन्छ । उनीहरूले वास्तविक ज्ञान प्रदान गर्छन् । आज जति पनि शिक्षणमा संलग्न छन् । तीमध्ये बहुसख्ङ्यक ‘गुरु’ होइनन् । यसलाई पेसाका रूपमा अगाडि बढाइएको र आय आर्जनको माध्यम बनाइएकाले ‘गुरु’ शब्द मेरा दृष्टिमा उपयुक्त होइन । मैले भन्दै गर्दा पनि देखावटी नै किन नहोस् शिक्षण संस्थाहरू यसलाई ‘टिचर डे’ का रूपमा मनाउँछन् । केही नहुनुभन्दा त यति हुनुलाई नै हामीले महान् मान्नुपर्ने अवस्था छ । तर वर्तमानमा शिक्षणमा ज्ञानविज्ञानको चर्चा नभएर केवल सूचनाको मात्र विषय बनिरहेको छ । सूचना प्रदान गरेर नै हामी गुरु बनिरहेका छौँ । गुरुले त यस लोक र परलोक दुवैको गन्तव्य देखाउन सक्नुपर्छ । तर त्यस्तो भइरहेको छैन ।
गन्तव्यहीन यात्रा भए पनि त्यसतर्फ नै हामी धकेलिइरहेका छौँ र आफैमा गुरु भएको भावले प्रफुल्लित छौँ । स्वस्थ, सिर्जनशील र मानवतावादमा आधारित समाज बनाउने हो भने शिक्षकको भन्दा गुरुको भाव धेरै आउनु पर्छ । पौरस्त्य दर्शनबाट विमुख हुँदै गएको हाम्रो शिक्षाप्रणाली गुरु र ज्ञानको खोजभन्दा धेरै टाढा पुगिसकेको छ । त्यसैले त शिक्षकद्वारा आफ्नै विद्यार्थीमाथि अनेक हिंसाका घटना र साथै विद्यार्थीद्वारा शिक्षकमाथि भौतिक आक्रमण दुवै देख्न र सुन्न पाउँछौँ । आफ्नै यथार्थ धरातललाई बिर्सेर बनाइएको पाठ्यक्रम र मानवताविहीन शिक्षण प्रशिक्षणले गुरु परम्परालाई धुलिसात् बनाएको हो । पौरस्त्य शिक्षण प्रशिक्षणमा चौध विद्या र चौसठ्ठीकलाको व्यापक परिचर्चा छ ।
कला लौकिक जीवनलाई सीपयुक्त बनाई गुणस्तरीय जीवन जिउन सिकाउने माध्यम थियो भने चौध विद्या पारलौकिक जीवनको तयारी थियो । यसलाई परा र अपरा विद्याका रूपमा वर्णन गरेको पाइन्छ । निष्कर्षमा हामी गुरु–शिष्य परम्पराबाट पूर्ण विमुख बन्दै नाममात्रको आधुनिकतामा प्रवेश गरेका छौँ । अनि हामी यसबाट निःस्वार्थ भाव र मानवता, आपसी सहयोग जस्ता गुणहरू खोजी गर्छौं ।
हामी न आधुनिक बन्यौँ, न त आफ्नै विशिष्ट मूल्य प्रणालीलाई व्यवहारमा उतार्न सक्ने भयौँ । यी दुवैबाट बञ्चित भए पनि गुरुपूर्णिमा मनाउने भयौँ । आज मातापिताबाहेक अरूलाई गुरुका स्थानमा राख्न अपवादबाहेक सकिँदैन । यस युगमा पनि शाश्वत सत्यबोध गराउने गुरु नभएकै चाहिँ पक्कै होइन तर हामी गुरु नजिक पुग्न सकिरहेका छैनौँ । तमाम ज्ञात अज्ञात गुरुप्रति करबद्ध प्रणाम अर्पण गर्दै शाश्वत् सत्यको बोधका लागि यस व्यास जयन्ती र गुरुपूर्णिमा सहयोगी बनोस् । विज्ञेषु किमधिकम् ।